सदाबहार उम्मेदवार : जो आठौँ पटक चुनावी मैदानमा होमिएका छन्
सारांश
- आगामी निर्वाचनमा केपी शर्मा ओली, विजयकुमार गच्छदार, कमल थापा र पृथ्वी सुब्बा गुरुङ आठौँ पटक चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछन्।
- ओली झापा-५, गुरुङ लमजुङ, गच्छदार सुनसरी-३ र थापा काठमाडौँ-५ बाट उम्मेदवार छन्, र उनीहरूको अघिल्लो निर्वाचनको नतिजा फरक रहेको छ।
- कमल थापाले निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौंमा उम्मेदवारी दिएका छन् भने गच्छदार र गुरुङ पनि आफ्नो क्षेत्रबाटै प्रतिस्पर्धा गर्दैछन्।
काठमाडौँ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा ४ नेता आठौँ पटक चुनावी मैदानमा होमिएका छन् । यससूचीमा निर्वाचनमा प्रतिस्पर्धा गर्नेमा नेकपा (एमाले) का २, नेपाली कांग्रेसका १ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ उम्मेदवार छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ, कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदार तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापा ८ औँ पटक चुनावी मैदानमा होमिएका हुन् ।
ओली झापा–५, गुरुङ लमजुङ, गच्छदार सुनसरी–३ र थापा काठमाडौँ–५ बाट उम्मेदवार बनेका छन् । २०४६ सालको जनआन्दोलन सफल भएपछि सम्पन्न ७ निर्वाचनमध्ये ओलीले ६ निर्वाचन जितेका छन् भने एउटा निर्वाचनमा पराजय बेहोरेका छन् । गुरुङले यसअघिका ७ निर्वाचनमध्ये ६ पटक प्रतिनिधिसभा र एकपटक प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गरे । उनले ४ पटक पराजय बेहोरे भने ३ पटक मात्रै विजय हासिल गरे ।
गच्छदारले ७ निर्वाचनमध्ये ६ पटक विजयी हुँदा १ पटक पराजय बेहोरेका छन् । थापाले भने ७ निर्वाचनमा प्रतिस्पर्धा गर्दा एकपटक मात्रै जितेका छन्, अरू सबै निर्वाचनमा पराजय बेहोरेका छन् । उनले अहिले पराजयबाट उन्मुक्ति पाउन निर्वाचन क्षेत्र मात्रै होइन, जिल्ला नै परिवर्तन गरेका छन् ।
- केपी शर्मा ओली (झापा)
एमाले अध्यक्ष ओलीले २०४८ सालदेखि यहाँसम्म आइपुग्दा झापा जिल्ला परिवर्तन गरेका छैनन् तर निर्वाचन क्षेत्र भने परिवर्तन गरेका छन् ।
ओली २०४८ सालको आम निर्वाचनमा झापा–६ बाट उम्मेदवार हुँदै निर्वाचित भए । त्यसपछि २०५१ मा भएको मध्यावधि निर्वाचनमा त्यही क्षेत्रबाट प्रतिस्पर्धा गरेका ओलीले नेपाली कांग्रेसका उम्मेदवार केशवकुमार बुढाथोकीलाई पराजित गरे ।
२०५६ सालको आम निर्वाचनमा दुई क्षेत्रमा प्रतिस्पर्धा गरे । क्षेत्र नम्बर २ र ६ मा प्रतिस्पर्धा गरेका ओली दुवै स्थानबाट विजयी भए । क्षेत्र नम्बर २ मा ओलीले कांग्रेसका उम्मेदवार गिरिराजकुमारी प्रसाईँलाई पराजित गरे भने ६ मा कांग्रेसकै कासीलाल ताजपुरियालाई पराजित गरे ।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा ओली क्षेत्र फेरेर झापा–७ मा पुगे । त्यो निर्वाचनमा भने ओली १० वर्षे सशस्त्र द्वन्द्वपछि पहिलो पटक संसदीय निर्वाचनमा होमिएको नेकपा (माओवादी) का उम्मेदवार विश्वदीप लिङ्देन लिम्बूसँग पराजित हुन पुगे । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा ओलीले पुनरागमन गर्दै कांग्रेस उम्मेदवार सुरेशकुमार योङ्यालाई पराजित गरे ।
संविधानसभामार्फत संविधान जारी भएपछि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा ओली क्षेत्र फेर्दै ५ मा पुगे । त्यो निर्वाचनमा ओलीले कांग्रेस उम्मेदवार डा. खगेन्द्र अधिकारीलाई पराजित गरे ।
२०७९ सालमा पनि ओली त्यही क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गरे । त्यो प्रतिस्पर्धामा ओलीले कांग्रेसका उनै उम्मेदवार अधिकारीलाई पराजित गरे ।
अहिले पनि ओली त्यही क्षेत्रबाट उम्मेदवार छन् । ओलीसँग भिड्न काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह झापा–५ मा पुगेका छन् । कांग्रेसले उम्मेदवार परिवर्तन गर्दै मन्धरा चिमरियालाई उम्मेदवार बनाएको छ । नेकपाले भने युवा नेता रञ्जित तामाङलाई त्यो क्षेत्रमा मैदानमा उतारेको छ ।
- कमल थापा (मकवानपुर/काठमाडौँ)
पञ्चायत, प्रजातन्त्र र गणतन्त्रका सदाबहार खेलाडी कमल थापा पनि प्रजातन्त्रपछिको आठौँ निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । उनी यसअघिका ७ निर्वाचनमध्ये ६ निर्वाचनमा प्रत्यक्षतर्फ र एउटा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ प्रतिस्पर्धामा थिए ।
प्रत्यक्ष लडेका ६ निर्वाचनमा एक पटकमात्रै जितेका थापा अहिले दोस्रो जितको खोजीमा छन् । त्यसका लागि उनले निर्वाचन क्षेत्र मात्रै होइन, जिल्ला नै परिवर्तन गरेर मकवानपुरबाट काठमाडौँ आइपुगेका छन् ।
थापा २०४८ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मकवानपुर–१ मा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भए । त्यसको ३ वर्षपछि भएको मध्यावधि निर्वाचनमा थापा मकवानपुरका २ क्षेत्रबाट प्रतिस्पर्धा गर्दा एक ठाउँमा जिते, अर्को ठाउँमा हारे । त्यो निर्वाचनमा थापाले मकवानपुर–१ मा एमाले उम्मेदवार दाहालसँग २०४८ सालको हारको बदला लिए । मकवानपुर–२ मा भने एमालेकै उम्मेदवार विरोध खतिवडासँग पराजित भए ।

२०५६ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–१ र ३ मा उम्मेदवार भएका थापा दुवै ठाउँमा एमाले उम्मेदवारसँग पराजित भए । १ मा दाहालले थापासँग बदला लिए भने ३ मा वीरबहादुर लामाले हराए ।
२०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर–३ मा उम्मेदवार भएका थापालाई नेकपा (माओवादी) का उम्मेदवार प्रल्हाद लामिछानेले पराजित गरे ।
२०७० मा भने थापा समानुपातिक सूचीको पहिलो नम्बरमा बसे र दोस्रो संविधानसभामा प्रवेश गरे ।
२०७२ मा संविधानसभाबाट संविधान जारी भएपछि २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा थापा नेपाली कांग्रेससँग सहकार्य गर्दै मकवानपुर–१ बाट उम्मेदवार बने पनि जित्न सकेनन् । एमालेका उनका सदाबहार प्रतिस्पर्धी दाहालले पराजित गरे ।
२०७९ को निर्वाचनमा त्यही क्षेत्रबाट एमालेकै चुनाव चिह्न सूर्य लिएर प्रतिस्पर्धामा उत्रिएका थापालाई उनकै पुरानो पार्टी राप्रपाका उम्मेदवार दीपक सिंहले पराजित गरे ।
अहिले फागुन २१ गते निर्वाचन हुने निश्चित भएपछि पुरानो पार्टीमा समाहित भएका थापा निर्वाचन लड्नका लागि निर्वाचन क्षेत्र मात्रै होइन, मकवानपुर जिल्ला छोडेर काठमाडौँ आइपुगेका छन् । उनले काठमाडौँ–५ मा उम्मेदवारी दर्ता गरेका छन् । त्यहाँ उनका प्रतिस्पर्धी एमालेका ईश्वर पोखरेल, कांग्रेसका महामन्त्री प्रदीप पौडेलसहित छन् ।
- विजयकुमार गच्छदार (सुनसरी)
२०४८ सालदेखि अहिलेसम्मका अर्का सदाबहार उम्मेदवार हुन् नेपाली कांग्रेसका पूर्वउपसभापति गच्छदार । उनी २०४८ देखि अहिलेसम्म भएका निर्वाचनमा उम्मेदवार बन्दै आएका छन् । ०४८ मा सुनसरी–२ बाट गच्छदारले एमालेकी उम्मेदवार लीला श्रेष्ठ सुब्बालाई पराजित गरे ।
०५१ मा त्यो क्षेत्रका एमालेले उम्मेदवार परिवर्तन गरे पनि गच्छदारलाई जित्न सकेनन् । एमाले उम्मेदवार कुलदीप पेशकर गच्छदारसँग पराजित भए ।

०५६ को प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेको गच्छदारविरुद्ध उम्मेदवार फेर्ने रणनीति सफल भएन । तत्कालीन इटहरी नगरपालिकाको उपमेयरबाट राजीनामा गराएर गच्छदारविरुद्ध प्रतिस्पर्धा गराइएका एमाले उम्मेदवार रेवतीरमण भण्डारीले जित हासिल गर्न सकेनन् ।
०६४ को पहिलो संविधानसभा निर्वाचनअघि गच्छदार पार्टी परिवर्तन गरेर उपेन्द्र यादव नेतृत्वमा बनेको मधेशी जनाधिकार फोरममा प्रवेश गरे । त्यो बेला गच्छदार फोरमको मसाल चिह्नबाट सुनसरी–३ र मोरङ–७ गरी दुई ठाउँबाट प्रतिस्पर्धामा होमिए र विजय प्राप्त गरे । उनले दुवै क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई पराजित गरे । उनले सुनसरी–३ मा कांग्रेसका अगमलाल चौधरी र मोरङ–७ मा कांग्रेसकै डा. शेखर कोइरालालाई पराजित गरे ।
२०६६ सालमा गच्छदारले पार्टी फुटाएर आफ्नै नेतृत्वमा फोरम लोकतान्त्रिक पार्टी बनाए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा गच्छदारले त्यही पार्टीको नमस्कार चिह्नबाट सुनसरी–३ मा एमाले उम्मेदवार भगवती चौधरीलाई पराजित गरे ।
संविधानसभाबाट संविधान जारी भएपछि ०७४ सालमा गच्छदार कांग्रेसमा फर्किए । कांग्रेसको चुनाव चिह्न रूखबाट प्रतिस्पर्धा गरेका गच्छदारले एमालेकी उम्मेदवार उनै भगवती चौधरीलाई दोस्रो पटक पराजित गरे ।
०७९ को निर्वाचनमा भने एमाले उम्मेदवार भगवती चौधरीले तेस्रो पटकमा गच्छदारलाई पराजित गरिन् र ०४८ सालदेखिको गच्छदारको संसद् यात्रामा रोक लगाउन सफल भइन् ।
अहिले गच्छदार पुनः त्यही क्षेत्रमा उम्मेदवार भएका छन् । त्यहाँ उनले एमाले उम्मेदवार भगवतीसँग चौथो प्रतिस्पर्धा गर्दैछन् । त्यसको साथमा नेकपाबाट दुर्गेशकुमार चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अशोककुमार चौधरी उनका प्रतिस्पर्धीका रूपमा आएका छन् ।
- पृथ्वी सुब्बा गुरुङ (लमजुङ)
०४८ देखि अहिलेसम्म भएका सबै निर्वाचनमा प्रतिस्पर्धा गर्ने अर्का उम्मेदवार हुन् एमाले उपाध्यक्ष गुरुङ । यसअघि ०४८ सालदेखि भएका सबै निर्वाचनमा प्रतिस्पर्धा गरेका गुरुङ ४ पटक पराजित भएका छन् भने ३ पटक मात्रै जितेका छन् । यी जितमध्ये २ पटक प्रतिनिधिसभामा र एकपटक प्रदेशसभामा छ ।
अहिलेसम्म लमजुङबाट प्रतिस्पर्धा गरेका गुरुङ २०४८ सालमा नेपाली कांग्रेसका उम्मेदवार रामबहादुर गुरुङसँग पराजित भए । २०५१ मा भएको मध्यावधि निर्वाचनमा पनि गुरुङले कांग्रेसका पुरानै प्रतिस्पर्धी रामबहादुरसँग बदला लिन सकेनन् ।

२०५६ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले उम्मेदवार परिवर्तन गरी हरिभक्त अधिकारीलाई टिकट दियो । तर पनि गुरुङले आफूलाई हारको ह्याट्रिकबाट जोगाउन सकेनन् ।
गुरुङले २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा चौथो प्रयासमा मात्रै संसद्सम्म पुग्नका लागि बाटो तय गरे । त्यो निर्वाचनमा गुरुङले कांग्रेस उम्मेदवार दिलबहादुर घर्तीलाई पराजित गरे ।
फेरि ०७० सालमा गुरुङ कांग्रेसकै उम्मेदवार चन्द्रबहादुर कुँवरसँग पराजित हुन पुगे । २०७२ सालमा संविधानसभामार्फत नयाँ संविधान जारी भएपछि मुलुक संघीयतामा गयो । गुरुङ पनि प्रतिनिधिसभाबाट प्रदेशसभामा झरे । गण्डकी प्रदेशसभा सदस्यमा कांग्रेस उम्मेदवार कृष्णप्रसाद कोइरालालाई पराजित गर्दै निर्वाचित भए ।
२०७९ को निर्वाचनमा माओवादी महासचिव देवप्रसाद गुरुङलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।
गुरुङ अहिले पनि लमजुङबाटै प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । उनका प्रतिस्पर्धीमा कांग्रेसका गमप्रसाद गुरुङ, नेकपाका हरिजंग तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट धर्मराज केसी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण