बाबुरामको विरासतमाथि त्रिपक्षीय दाबी : कसले मार्ला बाजी ?
सारांश
- बाबुराम भट्टराईले गोरखा-२ बाट उम्मेदवारी फिर्ता लिएका छन्, जसले राजनीतिक वृत्तमा चासो बढाएको छ।
- भट्टराईले विभिन्न दल र प्रतिस्पर्धी उम्मेदवारहरूको आग्रहमा उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
- विभिन्न दलका नेताहरूले भट्टराईको समर्थन पाउने दाबी गरेका छन्, भने यसले निर्वाचनमा प्रतिस्पर्धा रोचक बनाएको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साबिक माओवादी केन्द्र) को गढ रहेको गोरखा–२ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि राजनीतिक नाफा–घाटाको विश्लेषण हुन थालेको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले भट्टराईलाई उम्मेदवार बनाएको थियो । तर विभिन्न राजनीतिक दल र प्रतिस्पर्धी उम्मेदवारलगायतको आग्रहमा आफूले उम्मेदवारी फिर्ता लिएको भट्टराईले बताएका छन् । आन्तरिक तथा प्रतिस्पर्धी दलका नेताहरूसँगको छलफलपश्चात् शुक्रबार दिउँसो उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे ।
‘एउटा संसदीय निर्वाचनमा सहभागी भएर सांसद मात्रै रहेर बस्नुभन्दा सबै साथीहरूको आग्रह र चाहना बमोजिम मैले बाहिर रहेर नै दलहरूलाई सघाउने र भोलि आवश्यक पर्दा देशकै अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ भन्ने ठानेर मैले जुन मनोनयन पत्र दर्ता गरेको थिएँ, त्यसलाई फिर्ता लिने निर्णय गरेको छु,’ उनले भने ।
माओवादी जनयुद्धका प्रमुख नेता रहेका भट्टराई सोही क्षेत्रबाट २०६४, २०७० र २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छाडेर उनले उदारता देखाएका थिए । शान्ति प्रक्रियाको बाँकी काम टुङ्गो लगाउने, गणतन्त्र, सङ्घीयता र संविधानको रक्षाका लागि प्रचण्डको आवश्यकता रहेको निष्कर्ष निकाल्दै उनले आम मतदाताको भावनाविपरीत त्याग गरेका थिए । त्यतिबेला चुनावी तालमेलदेखि पार्टी एकताको आधारसमेत तयार गरिएको थियो । गोरखा–२ को गाउँगाउँ पुगेर प्रचण्डलाई अत्यधिक मतले विजयी गराउन भट्टराईले भूमिका खेले । तर निर्वाचनपछि प्रचण्ड–भट्टराईबिच तिक्तता बढ्दै जाँदा उनको पार्टीसमेत विभाजन भयो ।
भदौमा भएको ‘जेनजी विद्रोह’ का कारण देशको राजनीति नै उथलपुथल भएपछि भट्टराईले नेपाल समाजवादी पार्टीको नेतृत्व परित्याग गरे । मङ्सिर ७ गते माओवादी केन्द्रबाट अलग भएका जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएका सन्तोष परियारबिच एकता गरी ‘प्रलोपा’ गठन गरेका थिए । प्रलोपाका संयोजक रहेका उनलाई गोरखा–२ बाट निर्वाचन लड्न दबाब थियो । पार्टी, निर्वाचन क्षेत्रका समर्थक र शुभचिन्तकहरूको दबाबमा उम्मेदवारी दिएका भट्टराईले प्रतिस्पर्धी कसैलाई पनि समर्थन गरेका छैनन् । यद्यपि चुनावी मैदानमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले भट्टराईको समर्थन आफूले पाउने दाबी गरेका छन् ।
पहिलो पटक चुनावी मैदानमा उत्रिएका नेकपाका उम्मेदवार लेखनाथ न्यौपानेले भट्टराईको समर्थन आफूले पाउने विश्वास व्यक्त गरेका छन् ।
‘बाबुराम दाइले उम्मेदवारी फिर्ता लिए पनि कसलाई समर्थन गर्ने भनेर घोषणा गर्नुभएको छैन । मलाई विश्वास छ, उम्मेदवारी दिनुअघि उहाँसँग सल्लाह गरेर नै म अगाडि बढेको हुँ । माओवादी जनयुद्धका एक प्रमुख नेता भएको र म उहाँकै चेला भएको हुनाले समर्थन मलाई हुन्छ भन्ने विश्वास गर्छु,’ उनले भने ।

भट्टराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व भएको कारण पनि उनको उम्मेदवारी फिर्ता सामान्य नभएको न्यौपानेले बताए । भट्टराईकै स्कुलिङबाट आएको व्यक्ति भएको हुनाले आफ्ना पथप्रदर्शकलाई पछ्याएर अगाडि बढ्ने उनले स्पष्ट पारे । प्रखर वक्ता, बौद्धिक व्यक्तित्व, वैचारिक तथा सैद्धान्तिक नेताका रूपमा चर्चित न्यौपाने अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन् । पार्टीभित्र ठुला नेताको हानाथापका कारण उनी संसद् प्रवेश गर्ने अवसरबाट वञ्चित हुँदै आएका थिए । अघिल्लो पटक सोही क्षेत्रबाट निर्वाचित भएका नेकपाका संयोजक प्रचण्ड यसपटक रुकुम पूर्व गएपछि न्यौपानेलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको थियो । न्यौपाने उम्मेदवार बन्नुअघि भट्टराईसँग छलफल गरेका थिए । उनले नै अगाडि बढ्न आग्रह गरेपछि आफू मैदानमा उत्रिएको न्यौपानेले जिकिर गरे ।
‘बाबुराम दाइसँग सल्लाह गरेर नै मैले उम्मेदवारी दिएको हो । म उठ्दिनँ, तपाईंको सम्भावना छ, अगाडि बढ्नुस् मेरो सद्भाव रहनेछ भनेपछि अगाडि बढेको हुँ,’ उनले भने ।
भट्टराईले उम्मेदवारी फिर्ता लिनुअघि प्रचण्डसँग शुक्रबार बिहान छलफल गरेका थिए । दुई नेताबीच सहमतिमै भट्टराईले उम्मेदवारी फिर्ता लिएको प्रचण्डको सचिवालयले दाबी गरेको छ ।
दोस्रोपटक चुनावी मैदानमा उत्रिएका कवीन्द्र बुर्लाकोटीले पनि भट्टराईको समर्थन आफूलाई हुने विश्वास व्यक्त गरेका छन् । नयाँ र वैकल्पिक राजनीतिको नेतृत्व रास्वपाले गरेको उनको जिकिर छ । सभापति रवि लामिछानेले पनि उम्मेदवारी फिर्ता लिएर अभिभावकको भूमिका खेलिदिन गरेको आग्रह बमोजिम उनले उम्मेदवारी फिर्ता लिएको बुर्लाकोटीले बताए ।

‘बाबुराम वैकल्पिक राजनीतिको पक्षमा सुरुदेखि नै लागेको व्यक्ति भएको हुनाले उहाँको समर्थन हामीलाई हुनेमा विश्वास गर्छु । हामीले उहाँलाई अभिभावक मानेका छौँ । सभापति रवि लामिछानेले उम्मेदवारी फिर्ता लिन आग्रह गरे अनुसार नै उहाँ निर्णयमा पुग्नुभएको हो,’ उनले भने, ‘उपसभापति डा. स्वर्णिम वाग्लेले पनि उम्मेदवारी फिर्ता लिएर समर्थन गरिदिन विज्ञप्ति नै जारी गर्नुभएको छ । नयाँ र वैकल्पिक शक्ति अगाडि आउनुपर्छ भनेर सुरुदेखि नै लागेको व्यक्ति भएको हुनाले उहाँको साथ र सहयोग हामीलाई हुनेछ ।’
यता कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले २०७४ सालमा भट्टराई संकटमा पर्दा आफूहरूले नै जिताएर पठाएको हुनाले उनको समर्थन आफूहरूले पाउने विश्वास व्यक्त गरे । अघिल्लो निर्वाचनमा समेत प्रदेश सभा सदस्यमा भट्टराईकै उम्मेदवारलाई जिताएर गुन लगाएको न्यौपानेले जिकिर गरे ।

‘बाबुरामलाई हामीले २०७४ सालमा जिताएर नै पठाएको हो । २०७९ कै निर्वाचनमा प्रदेश सभामा फणीन्द्र देवकोटालाई जिताएर पठायौँ । उम्मेदवारी फिर्ता लिएसँगै उहाँले हामीलाई समर्थन गर्नुहुन्छ भन्ने विश्वास छ । समर्थन गर्नुभएन भने पनि हामी आफ्नै संगठनको बलमा प्रतिस्पर्धा गर्छौँ,’ उनले भने, ‘यस निर्वाचन क्षेत्रमा हाम्रो संगठन कमजोर छैन । प्रदेश सरकारको नेतृत्व गर्दा हामीले राम्रै काम गरेका छौँ । त्यसको आधारमा हामीले जित्छौँ भन्ने विश्वास छ ।’
तर विश्लेषक तथा पूर्वपत्रकार यादव देवकोटाले बाबुराम माओवादी स्कुलिङबाट आएका नेता भएकाले उम्मेदवारी फिर्ता लिएपछि स्वाभाविक रूपमा जनमत लेखनाथ न्यौपानेतर्फ जान सक्ने आकलन गर्छन् ।
यद्यपि भट्टराईले आधिकारिक रूपमा कसैलाई पनि समर्थन नगरेकाले अहिले नै भन्न सक्ने अवस्था नभएको उनी बताउँछन् । यसपटक नेकपा,नेपाली कांग्रेस र रास्वपाबिच त्रिपक्षीय भिडन्त हुन सक्ने सम्भावना रहेको देवकोटाको विश्लेषण छ ।
‘कसलाई समर्थन गर्ने भनेर उहाँले बोल्नु भएको छैन । तर उहाँ आफै माओवादी स्कुलिङबाट आएको हुनाले उम्मेदवारी फिर्ता लिएसँगै मत ट्रान्सफर लेखनाथजीलाई नै जानसक्ने सम्भावना देखिन्छ । लामो समय पार्टी नेतृत्वबाट पेलानमा परेका इमानदार नेता हुन् । सबैको सद्भाव हुँदा हुँदै पनि गलत समयमा उम्मेदवार भए भन्ने सुनिन्छ । लोकप्रियतावादको हावा फैलिएको बेला मतदाता प्रभावित हुन पनि सक्छन्’, उनले भने ।
गोरखा–२ मा यसपटक नेकपाका न्याैपाने, कांग्रेसका प्रकाशचन्द्र दवाडी,एमालेका मिलन गुरुङ र रास्वपाका कविन्द्र बुर्लाकाेटीसहित १४ जना चुनावी मैदानमा उत्रिएकोमा भट्टराईले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेस, एमाले, रास्वपा र नेकपाका उम्मेदवारसँग प्रतिस्पर्धा हुने देखिन्छ ।
२०७९ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार प्रचण्ड २६ हजार १०९ मत ल्याएर विजयी भएका थिए । त्यतिबेला प्रचण्डलाई कांग्रेसले समर्थन गरेको थियो । रास्वपाका उम्मेदवार रहेका महामन्त्री कवीन्द्र बुर्लाकोटीले अप्रत्याशित १२ हजार ६३९ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार अब्दुस सलाम मियाले ७ हजार ३९५ मत प्राप्त गरेका थिए ।
गोरखा–२ मा समानुपातिकतर्फ साबिक माओवादी निकै बलियो देखिन्छ । अघिल्लो निर्वाचनमा माओवादीले १९ हजार मत प्राप्त गरेको थियो । दोस्रो स्थानमा रहेको कांग्रेसले ११ हजार ८८२ मत प्राप्त गरेको थियो । रास्वपाले ८ हजार ९९९ मत प्राप्त गर्दा एमालेले ६ हजार १८५ मत प्राप्त गरेको थियो । प्रत्यक्ष र समानुपातिक मत विश्लेषण गर्दा अघिल्लो निर्वाचनमा कांग्रेसको मत रास्वपातिर गएको देखिन्छ । एमालेको मत त्यतिधेरै प्रभावित भएको देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण