बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी सरगर्मी

पर्वत: पदम र अर्जुनलाई अन्तर्घातको डर, मनहरि र सागरलाई मतदाताको भर

शनिबार, १० माघ २०८२, ०७ : २२
शनिबार, १० माघ २०८२

सारांश

  • पर्वतबाट तीन पटक सांसद जितेका अर्जुन जोशीलाई एमालेका पदम गिरीले हराएका छन्।
  • अर्जुन जोशी र पदम गिरीबीचको प्रतिस्पर्धामा फागुन २१ गते तेस्रो पटक भेट हुँदैछ।
  • पर्वतमा १७ जनाले मनोनयन दर्ता गराएका छन्, जसमा नेकपा र रास्वपाका उम्मेदवार पनि छन्।

पोखरा । पुराना र पाका नेता अर्जुन जोशी पर्वतबाट तीन पटक सांसद भइसकेका छन् । २०५६ सालदेखिको संसदीय निर्वाचन उनको कब्जामा थियो । नेपाली कांग्रेसका नेता जोशी पार्टीभित्र क्याम्प फेरिरहने नेतामा पर्छन् । ३ पटकसम्म एकछत्र राज गरेका जोशीको अपराजित यात्रामा त्यतिबेला ब्रेक लाग्यो, जतिबेला एमालेका पदम गिरी उम्मेदवार बनेर प्रस्तुत भए । 

जोशीले २०५६, २०६४ र २०७० को निर्वाचन आफ्नो पोल्टामा पारे । २०७४ र २०७९ को निर्वाचनमा पदमले उनै अर्जुनलाई हराएर  जित निकालिसकेका छन् । विद्यार्थी राजनीतिबाट उदाएर छोटो समयमै संसदीय राजनीतिमा प्रभाव जमाएका व्यक्ति हुन् पदम ।

पर्वतको राजनीतिमा अर्जुन जोशी र पदम गिरी अब चिर परिचित प्रतिस्पर्धी भइसकेका छन् । फागुन २१ गते हुने निर्वाचनमा उनीहरूको तेस्रो भेट निश्चित भैसकेको छ । दुवै नेता आ–आफ्नो पार्टीमा बलियो पकड भएका व्यक्ति हुन् । जोशीले लामो समय पार्टीको केन्द्रीय तहमा र गिरीले जिल्ला अध्यक्ष हुँदै केन्द्रीय तहमा प्रभाव जमाएका छन् । रोचक के छ भने अर्जुन दोस्रो पटक सांसदमा निर्वाचित हुँदा पदम पिएन क्याम्पसमा विद्यार्थी राजनीतिमै थिए । उनी २०६२ मा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति हुन् । जोशी २०६४ को निर्वाचनमा दोस्रो पटक सांसद निर्वाचित भए ।

जोशी आफ्ना बुबा अमृत जोशीको विरासतलाई पछ्याउँदै राजनीतिमा आएका हुन् । उनी ‘लिगेसी’ राजनीतिबाट स्थापित भएका हुन् । पदम सामान्य परिवारमा जन्मे हुर्केर विद्यार्थी कमान्ड सम्हाल्दै आएका ‘सेल्फ मेड’ नेता हुन् । तर अहिले पर्वतमा दुवैजना टेष्टेड भैसकेका छन् । 

पार्टीभित्र जति पकड जमाउँछन् उति विरोधी पनि कमाएका छन् । उनीहरूकै कारण गुटको राजनीति झाँगिएको छ । आफैले हुर्काएको गुट अहिले उनीहरूमाथि नै भारी परिरहेका छन् । पटक पटक अवसर दिइएको भन्दै दुवैजनाविरुद्ध आलोचना चर्को हुन थालेको छ । जे होस्, कांग्रेस र एमालेकै प्रभाव क्षेत्र पर्वतमा उनीहरूबिचमै बढी प्रतिस्पर्धा हुने निश्चित छ । 

त्यसो त, आगामी निर्वाचनमा पर्वतबाट १७ जनाले मनोनयन दर्ता गराएका छन् । नेपाली कम्युनिस्ट पार्टीले लामो समय पत्रकारिता गरेर राजनीतिमा छिरेका मनहरि तिमिल्सिनालाई उम्मेदवार बनाएको छ भने वैकल्पिक राजनीतिको बलमा रास्वपाले पनि उम्मेदवार खडा गरेको छ । सागर भुसाल रास्वपाका उम्मेदवार हुन् । 

नेकपाका मनहरि जनयुद्धमा होमिएर राजनीतिमा खारिए । २०५७ देखि माओवादीको पूर्णकालीन कार्यकर्ता बनेका उनी जनयुद्धकालमा स्क्वायड दलको सहायक कमान्डर र गाउँ जनसरकार सदस्य भएर काम गरे । २०५८ देखि २०५९ सम्म नेपाली सेनाको हिरासतमा रही यातना भोगेका उनी २०७२ देखि ७३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस संयोजक थिए । 

रास्वपाका सागर पार्टीको जिल्ला सचिव हुन् । उनी लामो समयको वैदेशिक रोजगारीपछि नेपाल फर्केर वैकल्पिक राजनीतिमा होमिएका छन् ।

पर्वतमा चुनावको ट्रयाक रेकर्ड

पछिल्ला दुईवटै निर्वाचनमा पदम निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी उनै अर्जुन हुन् । तर, पदमको पूरानो मत भने घट्दो क्रममा छ । २०७४ मा १२ हजार ४ सय ५६ मतान्तरले हराएका पदमको २०७९ को चुनावको मतान्तर घटेर २ हजार २ सय ६३ मा खुम्चियो । २०७४ मा पदमले ३९ हजार २ सय ७५ मत ल्याउँदा अर्जुनले २६ हजार ८ सय १९ मत पाएका थिए । 

पछिल्लो चुनावमा पदमको २९ हजार ८ सय ७२ मत आउँदा अर्जुनको २७ हजार ६ सय ९ मत थियो । २०७४ मा एमाले र माओवादीको एकता थियो भने २०७९ मा कांग्रेस र माओवादीको गठबन्धन थियो । अहिले साबिकको माओवादी एकीकृत समाजवादी सहित डेढ दर्जन घटक मिसिएको नेकपा बनेर हिँडेको छ । उसको आफ्नै उम्मेदवार छन्, मनहरि । नयाँ र अवसर नपाएका कारण उनीप्रति सहानुभूति रहन्छ । 

रास्वपाका सागर पनि पुराना दलले केही गर्न नसकेका भन्दै नयाँ दलका लागि मत माग्दै आफ्नो प्रचारमा छन् । तसर्थ, प्रतिस्पर्धामा कसले बाजी मार्छ भन्न सकिने अवस्था छैन । यद्यपि, यहाँ परम्परागत कांग्रेस र एमालेबिचमै बढी प्रतिस्पर्धा हुने आम आकलन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप