शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हाम्रो कदम कुनै बार्गेनिङका निम्ति होइन : स्वतन्त्र उम्मेदवार दाहाल

शनिबार, १० माघ २०८२, ०९ : १६
शनिबार, १० माघ २०८२

सारांश

  • सिन्धुली २ बाट स्वतन्त्र उम्मेदवारी दिएका महेश्वर दाहालले बार्गेनिङका लागि कदम नचालेको बताए।
  • उनले कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाउँदै विद्रोहको घोषणा गरेका छन्।
  • दाहालले कम्युनिस्ट आदर्श र राजनीतिबाट विचलित नहुने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ । सिन्धुली २ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कम्युनिस्ट पार्टीका नेता ​महेश्वर दाहालले आफ्नो कदम कुनै बार्गेनिङका निम्ति नभएको बताएका छन् । 

एक प्रेस नोट जारी गर्दै उनले भनेका छन्– 'हाम्रो यो अहिलेको कदम कुनै बार्गेनिङका निम्ति, केही पद हत्याउनका निम्ति अथवा कुर्सीमा जानका लागि चालिएको कदम बिल्कुल होइन। यो त पद्धतिविहीन बनेको, पथभ्रष्ट भएको, राजनीतिक चरित्रबाट तल गिरेको नेतृत्वको विरूद्धको बगावत हो।'

उनले थप भनेका छन्– ​'हामी आफ्नो ठाउँबाट यो दावा गर्दैनौँ कि सिंगो देशलाई हाम्रो कदमले नेतृत्व गर्नेछ तर सिंगो देशमा कम्युनिस्ट आन्दोलनको मूल्यविहीनता, मुद्दा विहीनता र जुन प्रकारको पतनको दिशातिर आज कम्युनिस्ट आन्दोलन गएको छ त्यसलाई विराम दिने एउटा प्रयत्न सिन्धुलीले सुरू गरेको हो। यसका परिणामहरूबारे हामी अनविज्ञ छैनौँ। हामीलाई कार्वाही गरिनेछ। गद्दार भनिनेछ। पार्टीबाट मिल्काइनेछ। तर, हामी यो मुद्दा कम्युनिस्ट आदर्श, कम्युनिस्ट राजनीतिबाट विचलित हुने छैनौँ।'

हामीले कम्युनिस्ट आन्दोलनलाई एउटा सिद्धान्तनिष्ठ मजदुर, किसान, उत्पीडित जनसमुदायप्रति प्रतिबद्ध मूलबाटोमा डोर्‍याउन खोजेका हौँ भन्ने कुरा इतिहासमा प्रमाणित हुने दाहालले उल्लेख गरेका छन् । जिल्ला कमिटीले उम्मेदवारमा सिफारिस गरे पनि नेतृत्वले अन्यलाई उम्मेदवार बनाएपछि दाहालले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

यस्तो छ दाहालको प्रेस नोट

​फरक फरक प्राकृतिक दृश्य बोकेको चुरेका खोँचहरूदेखि महाभारतका अग्ला डाँडाहरू, गढी पर्वत शृङ्खला र नेपालकै ठूला नदीमध्ये एक सुनकोशी आफूमा समाहित भएको सिन्धुली देख्नमा जति सुन्दर छ, यसको वैभव र सम्पदा पनि त्यत्तिकै गौरव गर्न लायक छ। मरिण, कमला र चदाहाको किनारमा बस्ने किसानहरूदेखि लिएर महाभारतका कुनाकाप्चा तथा गडतिरमा बस्ने पौरखी सबै जनताको बीचमा त्यो गौरवको इतिहास छ।

​प्रजातान्त्रिक आन्दोलनको प्रारम्भमा नै बर्माबाट मार्क्सवादमा दीक्षित भएर आएका योद्धा एसबी राईले वासुदेव श्रेष्ठ लगायतका पुराना पिढीसँग मिलेर कम्युनिस्ट आन्दोलन सुरू गरेको ठाउँ हो यो। जुन बेला कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी दिशामा खुम्चिरहेको थियो त्यो बेलामा यहाँ दावानल सुरू गर्न ३० को दशकमा ऋषि देवकोटा आजाद, दुर्गा सुवेदी, दलबहादुर रजन मगर, सीपी गजुरेल, हरिबोल गजुरेल, ईश्वरी दाहाल, रामप्रसाद राई लगायत थुप्रै अग्रजहरूले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने प्रयास गर्नुभयो। त्यसपछि ४० को दशकमा राम कार्की लगायतले पनि यो माटोमा वामपन्थी आन्दोलनलाई मलजल गर्ने महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ।

​४० को दशकको अन्तिमतिर त्यतिबेलाका नवयुवाहरू महेन्द्र श्रेष्ठ, शेरमान कुँवर, मोहनचन्द्र गौतम, कमल देवकोटा र उहाँहरूलाई अभिभावकत्व दिने चित्रनारायण श्रेष्ठ, खड्ग देवकोटा, दीर्घराज श्रेष्ठ जस्ता थुप्रै नेताहरूले सिन्धुलीलाई जनयुद्धको ब्याडको रूपमा विकसित गर्नुभयो। त्यही परम्परालाई पछ्याएर हामी अगाडि बढेका छौँ। 

 

हाम्रो यो अहिलेको कदम कुनै बार्गेनिङका निम्ति, केही पद हत्याउनका निम्ति अथवा कुर्सीमा जानका लागि चालिएको कदम बिल्कुल होइन। यो त पद्धतिविहीन बनेको, पथभ्रष्ट भएको, राजनीतिक चरित्रबाट तल गिरेको नेतृत्वको विरूद्धको बगावत हो।

​हामी आफ्नो ठाउँबाट यो दावा गर्दैनौँ कि सिंगो देशलाई हाम्रो कदमले नेतृत्व गर्नेछ तर सिंगो देशमा कम्युनिस्ट आन्दोलनको मूल्यविहीनता, मुद्दा विहीनता र जुन प्रकारको पतनको दिशातिर आज कम्युनिस्ट आन्दोलन गएको छ त्यसलाई विराम दिने एउटा प्रयत्न सिन्धुलीले सुरू गरेको हो। यसका परिणामहरूबारे हामी अनविज्ञ छैनौँ। हामीलाई कार्वाही गरिनेछ। गद्दार भनिनेछ। पार्टीबाट मिल्काइनेछ। तर, हामी यो मुद्दा कम्युनिस्ट आदर्श, कम्युनिस्ट राजनीतिबाट विचलित हुने छैनौँ। र, जनसमुदायका अगाडि हामी यो प्रमाणित गरि छाड्नेछौँ, वास्तवमा हामीले नै कम्युनिस्ट आन्दोलनलाई एउटा सिद्धान्तनिष्ठ मजदुर, किसान, उत्पीडित जनसमुदायप्रति प्रतिबद्ध मूलबाटोमा डोर्‍याउन खोजेका हौँ भन्ने कुरा इतिहासमा प्रमाणित हुनेछ।

​महेश्वर दाहाल

स्वतन्त्र उम्मेदवार

सिन्धुली २

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप