शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जेनजी अभियन्ता अजय सोडारी ६ दिनदेखि आमरण अनशनमा

शनिबार, १० माघ २०८२, २१ : ०२
शनिबार, १० माघ २०८२

काठमाडौँ ।  ६ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेनजी अभियन्ता अजय सोडारीको स्वास्थ्य अवस्था प्रतिकूल बन्दै जान थालेको छ । 

जेनजी युनाइटेडका प्रवक्ता सुजन पौडेलका अनुसार अनसनको छैटौँ दिनसम्म पनि सरकारका तर्फबाट कुनै ठोस पहल भएको छैन । गृह मन्त्रालयको सचिवालयबाट केही प्रतिनिधि आए पनि ‘यो विषय सचिवालयले गर्न सक्दैन’ भन्दै फर्किएको उनले बताए । आन्दोलनरत पक्षले गृह मन्त्री वा प्रधानमन्त्री तहबाटै माग सम्बोधन हुनुपर्ने माग राखेका छन् । 

चुनावी माहोल तातिएको कारण सञ्चारमाध्यमको ध्यान अन्यत्र केन्द्रित हुँदा अनशनको विषय ओझेलमा परेको भन्दै जेनजी युनाइटेडले चिन्ता व्यक्त गरेको छ । अनशनकारीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकाले यस विषयलाई प्राथमिकताका साथ उठाइदिन प्रवक्ता पौडेलले सञ्चारमाध्यमसँग आग्रह गरेका छन् ।

आन्दोलनरत पक्षले माग पूरा गर्न राज्यलाई दबाब दिइरहेका छन् । जेनजी अभियन्ता सोडारीले देशलाई जबर्जस्ती चुनावमा धकेल्नु जेनजी आन्दोलनका बलिदान र मूल्य–मान्यता मेटाउने षड्यन्त्र भएको दाबी गरेका छन् । घाइते र सहिदको त्यागलाई कुल्चेर चुनावमा जानेहरू कायर र धोखा हुने भन्दै उनले यस्तो कार्यलाई इतिहासले माफी नदिने बताएका छन् ।

सोडारीले ६ बुँदे माग अघि सारेका छन् । उनका मागहरूमा निर्वाचन गतिविधि तत्काल रद्द गरी सर्वपक्षीय सरकार गठन गर्नुपर्ने, जेनजी बन्दीको रिहाइ तथा दोषीमाथि कारबाही, भ्रष्टाचार छानबिन र कारबाही, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, संविधान संशोधन वा पुनर्लेखनमार्फत राज्य पुनर्संरचना र विदेशबाट मताधिकारको व्यवस्था रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप