कोशी प्रदेश: राष्ट्रियसभाको निर्वाचनको सम्पूर्ण तयारी पूरा
सारांश
- कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।
- दलित र महिला सदस्यका लागि चार जना उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ।
- मतदान आइतबार बिहान १०:०० देखि ३:०० बजेसम्म हुनेछ।
मोरङ । कोशी प्रदेशमा राष्ट्रियसभाका दुई सदस्यको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेशमा राष्ट्रियसभाका लागि दलित र महिला सदस्य पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा छन् । राष्ट्रियसभा सदस्यको मतदान प्रदेश निर्वाचन कार्यालय विराटनगरमा आइतबार बिहान १०ः०० देखि ३ः०० बजेसम्म हुने कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए ।
प्रदेशमा खुल्ला तर्फको एक सदस्य पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । नेपाली कांग्रेस–नेकपा कम्युनिस्ट पार्टी (एमाले) गठबन्धनबाट खुल्ला तर्फका कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी गठबन्धनबाट महिलामा रोशनी मेचे र दलितमा सोम पोर्तेल उम्मेदवार छन् भने नेकपाबाट महिलामा नमिता न्यौपाने र दलितमा खेम सुन्दासले उम्मेदवारी दिएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशको मतभार १० हजार १३५ रहेको छ । निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख हुन्छन् ।
प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको १९ रहेको छ । कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये नेपाली कांग्रेसका ११३, एमालेका १०८, नेपाली कम्युनिस्ट पार्टीका ३६, जसपा नेपाल र राप्रपाका चार–चार र स्वतन्त्र दुई जना रहेका छन् । प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७, राप्रपाका पाँच र जसपा एक सांसद छन् ।
यसैबिच, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका राप्रपाका प्रदेशसभा सदस्य भक्ति सिटौला, नेकपाका सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिका अध्यक्ष असिम राई, उदयपुरको लिम्बचुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राई, इलामको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईको नाम मतदाता सूचिबाट हटाइएको छ ।
प्रतिनिधिसभाको सदस्य पदमा उम्मेदवार भएकाले एमालेका तर्फबाट रङ्गेली नगरपालिका प्रमुख दिलीप बगडिया, ओखलढुङ्गाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा, श्रम संस्कृति पार्टीका सुनसरी धरानका प्रमुख हर्क साम्पाङ र भ्रष्टाचार मुद्दामा निलम्बित नेपाली कांग्रेसका झापा गाउँपालिका अध्यक्ष जयनारायण साहको नाम मतदाता सूचिबाट हटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण