सप्तरी-१ : लगातार जित्दै आएको जसपा नेपाललाई नयाँ-पुराना दलको चुनौती
काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)लाई आफ्नो शक्ति जोगाउन हम्मे-हम्मे देखिएको छ । २०६४ को संविधानसभादेखि २०७९ सालको आम निर्वाचनसम्मका चारवटा चुनावमा आफ्नो पकड बनाएको यो क्षेत्रमा जसपा नेपाललाई यसपटक भने निकै चुनौती देखिएको छ ।
एक लाख नौ हजार मतदाता रहेको सप्तरी-१ मा १४ जना प्रत्यक्ष र सात जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् । एमालेबाट सुमन प्याकुरेल, कांग्रेसबाट रामदेव साह (तेली), जनमत पार्टीबाट डा. जयकान्त राउत, राप्रपाबाट सत्यजीत कुमार झा र नेपाल जनता पार्टीबाट दीपेन्द्रप्रसाद यादवले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, जसपा नेपालबाट श्यामसुन्दर सरदार, रास्वपाबाट पुष्पाकुमारी चौधरी, आम जनता पार्टी नेपालबाट कौशल साह, नेकपाबाट रागरकुमार चौधरी, नेपाल जनता संरक्षण पार्टीबाट खेमराज जैसी, राष्ट्रिय एकता दलबाट शम्भुप्रसाद देव, स्वाभिमान पार्टीबाट सुमित कुमार, उज्यालो नेपाल पार्टीबाट हर्कनारायण चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट टीकालक्ष्मी नारायण चौधरी उम्मेदवार बनेका छन् । स्वतन्त्रबाट जगदेव सदा, रिजवान खातुन, मोहम्मद अमिन, उम्दादेवी सदा, रामकुमारी खङ, सञ्जयकुमार शर्मा, लेखनाथ कुमार ठाकुरले उम्मेदवारी दिएका छन् ।
२०६४ को पहिलो संविधानसभा चुनावमा उक्त क्षेत्रमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल (हाल जसपा नेपाल)बाट जेपी गुप्ता निर्वाचित भएका थिए । २०७४ मा जसपा नेपालबाटै डा. सूर्यनारायण यादव र २०७९ मा नवलकिशोर साह (सुडी)ले चुनाव जितेका थिए । यी तीनै जना नेता हाल जसपा नेपालमा आवद्ध छैननन् ।
जेपी गुप्ता भ्रष्टाचार मुद्दामा मुछिएपछि हाल राजनीतिक रूपमा निष्क्रिय छन् । डा. सूर्यनारायण यादव पनि निष्क्रिय छन् भने नवलकिशोर साह जसपा नेपाल फुटेर बनेको जसपामा गएका थिए । अहिले त्यो पार्टी छाडेर उनी स्वभिमान पार्टीमा सक्रिय छन् । यो पार्टीबाट सप्तरी-१ मा नवलकिशोरका छोरा सुमित कुमार उम्मेदवार बनेका छन् ।
सप्तरी–१ मा २०७० को दोस्रो संविधानसभा चुनाव तत्कालीन माओवादी केन्द्रले जिते बाहेक सबै चुनाव जसपा नेपालले जित्दै आएको छ । यसपटक भने नयाँ दलको लहर र पुराना दलका पनि बलिया उम्मेदवार देखिँदा जसपा नेपाललाई सकस पर्ने देखिएको स्थानीय नेता कार्यकर्ताको विश्लेषण छ ।
‘हरेक पटक जसपा नेपाल (फोरम)ले जित्दै आएको क्षेत्र हो यो । तर पार्टीले यसपटक उम्मेदवार चयनमा नै ध्यान नदिएकाले जित्ने कुरा यसै भन्न सकिने अवस्था छैन,’ एक स्थानीय नेताले भने ।
अहिले सप्तरी-१ मा कांग्रेस, जनमत र रास्वपाको बढी चर्चा छ । यसअघिको चुनावमा कांग्रेसका रामदेव साह १४ हजार हाराहारीमा मत ल्याएर तेस्रो भएका थिए । कांग्रेसको सप्तरी जिल्ला सभापति रहेका साह गगन थापा पक्षका हुन् । यसपटक उक्त क्षेत्रमा कांग्रेसको पनि राम्रै लहर देखिएको स्थानीयहरू बताउँछन् ।
गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा पर्ने पाँचवटा पालिकामध्ये कांग्रेसले तीनवटा जितेको थियो भने एउटामा जनमत र अर्को एउटामा एमाले विजयी भएका थिए । जसपा नेपाल नौवटा वडा र एउटा उपप्रमुखमा मात्र सीमित भएको थियो । यस क्षेत्रमा कांग्रेसले सबैभन्दा बढी वडा जितेको थियो ।
सांगठनिक रुपमा कांग्रेस यति बलियो हुँदाहुँदै गत चुनावमा जसपा नेपालबाट नवलकिशोर साह किन विजयी भए त ? ती स्थानीय नेता भन्छन्, ‘त्यतिबेला एमाले जस्तो ठुलो पार्टीले जसपा नेपाललाई साथ दिएको थियो, त्यही भएर जित्न सजिलो भयो ।’ यसपटक सबै दल एक्लाएक्लै चुनावमा होमिएकाले असली शक्ति परीक्षण हुने उनी बताउँछन् ।
गत निर्वाचनमा जनमत पार्टीका उपाध्यक्ष डा. जयकान्त राउतले दोस्रो स्थान हासिल गरेका थिए । उनले झण्डै २० हजार मत ल्याएका थिए । जयकान्त जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका दाइ हुन् ।
यसपटक देशव्यापी रूपमा रास्वपाको लहर चलेजस्तै अघिल्लो चुनावमा मधेसमा जनमत पार्टीको लहर थियो । गत चुनावमा जनमत पार्टीमा रहेर सप्तरी-१ मा काम गरेका ई. सूर्यनारायण यादव भन्छन्, ‘सो क्षेत्रमा संगठन कांग्रेसको राम्रो भएपनि जनमत पार्टीमाथि विश्वास गरेर जनताले मत दिएको थियो, तर यसपटक त्यो विश्वास देखिएको छैन ।’
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)का कारण मधेसमा ‘घण्टी’को लहर आएको देखिन्छ । सप्तरी-१ मा रास्वपाले ३६ वर्षीया पुष्पा चौधरीलाई उम्मेदवार बनाएको छ । त्यसैले उनी पनि बलियो उम्मेदवारको रूपमा देखिएकी छन् ।
गत चुनावमा साढे २३ हजार भन्दा बढी मत ल्याएका नवकिशोर साहले यसपटक आफ्नो छोरा सुमित कुमारलाई स्वाभिमान पार्टीबाट उम्मेदवार बनाएका छन् । २०७४ को स्थानीय तहको चुनावमा जसपा नेपालबाट हनुमाननगर कंकालिनी नगरपालिकामा नवलकिशोरका छोरा शैलेश साह निर्वाचित भएका थिए । २०७४ नवलकिशोर आफैं प्रदेशसभामा जितेर पटक-पटक मन्त्री बने । यो क्षेत्रमा प्रभाव राख्ने नवलकिशोर अहिले जसपा नेपालका लागि ठुलै चुनौती बन्न सक्ने देखिन्छ ।
जसपा नेपालका नेता राजकुमार यादव भने यो कुराले खासै फरक नपर्ने जिकिर गर्छन् । ‘जसपा नेपालमा हुँदा पो नवलकिशोर पटक-पटक चुनाव जितेर मन्त्री हुनुभयो । छोरालाई स्थानीय तहमा जिताउनुभयो,’ उनी भन्छन्, ‘अब उहाँ जसपा नेपालमा हुनुहुन्न भने कसरी चुनाव जित्नुहुन्छ संगठन भनेको संगठन हो । मान्छे जहाँ जान्छन् त्यही संगठन जाँदैन ।’
सप्तरी-१ मा एमालेबाट सुमन प्याकुरेल उम्मेदवार बनेका छन् । गत चुनावमा जसपा नेपाललाई सघाएको एमाले यसपटक एक्लै चुनाव लडेको छ । विगतको चुनावमा पनि खासै शक्ति नदेखाएको एमालेले यसपटक चुनाव जित्नेमा आशावादी रहेको सो क्षेत्रका प्रदेशसभा सदस्य राजकुमार लेखी दाबी गर्छन् । ‘विगतमा गठबन्धनको आधारमा चुनाव हुन्थ्यो, कहिले कसलाई त कहिले कसलाई समर्थन हुन्थ्यो । यसपटक एक्लै चुनाव लडेका कारण एमाले आउने निश्चित छ,’ उनी दाबी गर्छन् ।
अघिल्ला केही चुनावमा एमालेले आफ्नो शक्ति परीक्षण गर्न नै नपाएको भन्दै लेखी अन्य दलको तुलनामा एमालेको संगठन यो क्षेत्रमा राम्रो रहेको दाबी गर्छन् ।
जातिगत रूपमा हिसाब गर्दा सप्तरी-१ मा सबभन्दा बढी दलित समुदाय छन् । त्यसपछि यादव र थारूको संख्या छ । यसपटकको चुनावमा यादवको मत निर्णायक हुने देखिन्छ । यादव थरबाट कोही पनि उम्मेदवार नभएकाले उनीहरूको मत कता जान्छ भन्ने कुराले ठुलो अर्थ राख्ने नेताहरू बताउँछन् ।
कहाँ जान्छ त्यसको हिसाब किताब क्षेत्रका नेताहरुले गरिरहेका छन् । जसपा नेपालले यसपटक दलित समुदायका श्यामसुन्दर सरदारलाई उम्मेदवार बनाएको छ । तर यसअघि जसपा नेपालकै नेता रहेका दलित अधिकारकर्मी भोला पासवान स्वाभिमान पार्टीमा आवद्ध छन् । थारू समुदायको मत तान्न रास्वपाले पुष्पा चौधरीलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा पहाडी समुदायको १० हजार भन्दा बढी मत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण