बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्मचारी कुट्नेबारे अभिव्यक्ति दिने व्यक्ति पक्राउ

आइतबार, ११ माघ २०८२, २२ : ५३
आइतबार, ११ माघ २०८२

काठमाडौँ । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा भड्काउने अभिव्यक्ति दिने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा ‘नागरिक बचाउ महाअभियान’अन्तर्गत ऋणी एशोसिएशनका केन्द्रीय संयोजक देवीप्रसाद सङ्ग्रौलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

झापाको अर्जुनधारा नगरपालिका–११ घर भएका ४४ वर्षीय सङ्ग्रौलाले युट्युब च्यानललगायतका माध्यमबाट बैंकका कर्मचारीलाई कुटपिट गर्नुपर्ने र ‘भण्डारखाल’ जस्तो काण्ड मच्चाउनुपर्ने भन्दै अभिव्यक्ति दिएका थिए ।

सार्वजनिक शिष्टाचार र नैतिकता विपरीत हिंसा दुरुत्साहन गर्ने अभिव्यक्ति दिएपछि ब्यूरोले उनलाई कार्यालयमै झिकाएर सोधपुछ गरेको व्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिए ।

प्रहरीसमक्ष बयान दिने क्रममा सङ्गौलाले कानुनी राज्यको उल्लङ्घन गर्दै बैंक विरुद्ध बोल्नु आफ्नो गल्ती भएको स्वीकार गरेको प्रवक्ता अवस्थीले बताए । पक्राउ सङ्गौलाले आगामी दिनमा कानुनलाई शिरमा राखेर बोल्ने र समाज तथा राज्यलाई असर गर्ने अभिव्यक्ति नदिने प्रतिबद्धता जनाउँदै नेपाल सरकारसँग लिखित रूपमा माफी मागेको ब्यूरोले जनाएको छ ।

प्रहरीले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा कानुनविपरीतका अभिव्यक्ति दिने र श्रव्यदृश्य सामग्री प्रसारण गर्नेमाथि निगरानी बढाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप