पूर्वाधार विज्ञ आचार्यको प्रश्न, ‘जान्ने विद्यार्थीले डाक्टर–इन्जिनियर नै बन्नुपर्ने हो र ?’
सारांश
- डा. सूर्यराज आचार्यले नेपालमा विज्ञान तथा प्रविधि विषय रोज्नुपर्ने सामाजिक मनोविज्ञानमाथि प्रश्न उठाए।
- उनले राम्रो ग्रेड ल्याउने विद्यार्थी डाक्टर वा इन्जिनियर बन्नुपर्ने सोच गलत भएको बताए।
- आचार्यका अनुसार विकसित देशहरूमा मेधावी विद्यार्थीले विषयभन्दा विश्वविद्यालय र रुचि अनुसारको विषय छनोट गर्छन्।
काठमाडौँ । नेपाल विश्वविद्यालयका रजिष्ट्रार तथा पूर्वाधार विज्ञ डा.सूर्यराज आचार्यले नेपालमा पढाइमा अब्बल विद्यार्थीले विज्ञान तथा प्रविधि विषय नै रोज्नुपर्ने बाध्यात्मक सामाजिक मनोविज्ञानमाथि प्रश्न उठाएका छन् । उनले राम्रो ग्रेड ल्याउने विद्यार्थी डाक्टर वा इन्जिनियर नै बन्नुपर्ने भन्ने परम्परागत सोच गलत भएको टिप्पणी गरेका हुन् ।
आचार्यले सोमबार सामाजिक सञ्जालमा आफ्नो अनुभव साट्दै स्कुले जीवनमा प्रथम हुँदा शिक्षकहरूले नै ‘पाइलट बन्ने बुद्धि’ भएको भन्दै विज्ञान विषय पढ्न प्रेरित गरेको स्मरण गरेका छन् । एसएलसीसम्म राम्रो अङ्क ल्याएपछि आफू पनि त्यही सामाजिक दबाब र मनोविज्ञान अनुसार ‘प्लान’ पढ्न गएको र भारतबाट इन्जिनियर बनेको उनले उल्लेख गरेका छन् । तर, उच्च शिक्षाका लागि विदेश जाँदा विकसित मुलुकमा राम्रो ग्रेड ल्याउने विद्यार्थीको रोजाइ विज्ञान मात्र नभई कानुन, अर्थशास्त्र र व्यवस्थापनजस्ता विषय पनि हुने गरेको उनले बताएका छन् ।
विकसित देशहरूमा मेधावी विद्यार्थीले विषयभन्दा पनि कुन विश्वविद्यालय उत्कृष्ट भन्ने कुरालाई प्राथमिकता दिने र स्नातकको पछिल्लो चरणमा मात्रै रुचि अनुसारको विषय छनोट गर्ने अभ्यास रहेको उनले प्रष्ट पारेका छन् । नेपालमा भने अझै पनि केही सीमित विद्यालयबाहेक अन्यत्र राम्रो श्रेणी ल्याउने विद्यार्थीले डाक्टरी वा इन्जिनियरिङ नै पढ्नुपर्छ भन्ने मानसिकता बलियो रहेको उनको भनाइ छ ।
उनले कानुन र अर्थशास्त्रजस्ता अत्यन्तै सान्दर्भिक र महत्त्वपूर्ण विषयमा राम्रो ग्रेड ल्याउने विद्यार्थी किन आकर्षित हुँदैनन् भन्दै आश्चर्य प्रकट गरेका छन् । विद्यार्थी, अभिभावक र शिक्षकहरूमा यस्ता विषयको महत्त्वबारे पर्याप्त जानकारी नहुँदा समस्या देखिएको आचार्यको निष्कर्ष छ । विज्ञान–प्रविधि मात्र नभई समाज विज्ञान, मानविकी तथा कला–साहित्यलगायत हरेक विधामा उत्तिकै सम्भावना रहेको उनले औँल्याएका छन् । यो विषय शिक्षा नीति र सार्वजनिक बहसमा गम्भीर रूपमा नउठाइएको भन्दै उनले अब यसमा बहस गर्नुपर्ने समय आएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण