‘वामपन्थी मतदाता विकर्षित छन्, भोट चलायमान छ’ (भिडिओ )
काठमाडौँ । झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गरेर काठमाडौँ फर्किएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन गर्ने अभिव्यक्ति दिए ।
ओलीको अभिव्यक्ति 'पराजयको भय' मान्नेहरू पनि छन् । त्यसको भोलिपल्ट दलहरूले भावी प्रधानमन्त्रीका उम्मेदवारबिच सार्वजनिक बहसको विषय आयो ।
माघ १० गते च्यासलमा कार्यकर्तामाझ घेरिएर हिँड्दै गरेको अवस्थामा पत्रकारहरूसँगको कुराकानीमा ओलीले आफू सार्वजनिक बहसका लागि तयार भएको बताएका थिए । यद्यपि ओलीकै फेसबुक पेज बालेनले कमेन्टमार्फत कडा प्रतिक्रिया जनाइदिए । ओली किन सार्वजनिक बहसका लागि तयार भए ? यसमा अनेक अड्कलबाजी चलिरहेको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ यी दुई एकअर्काविरुद्ध मैदानमा छन् ।
यो निर्वाचनबाट कुन दल पहिलो होला ? सबैभन्दा घाटा कुन दलले बेहोर्ला ? यो आमचासो बनेको छ । अर्को पेचिलो र मुख्य विषय; निर्वाचनपछि राजनीतिले सही बाटो समात्ला ? यस्तै विषयमा रहेर रातोपाटीको ‘वारपार’मा राजनीतिक विश्लेषक मुमाराम खनालसँग कुराकानी गरिएको छ । (विस्तृत भिडियोमा हेर्न सकिन्छ) :
- निर्वाचन हुनेमा अब आशंका छ ?
छैन । मैले त डे वानदेखि नै भन्या थिएँ, कुनै आशंका गर्नै पर्दैन । किनकि यो निर्वाचन भएन भने मुलुक कहाँ लैजाने त ? अझ अराजकतामा, अझ अस्थिरतामा कहाँ लाने ? त्यसकारण निर्वाचन नहुने त के कारण छ र ?
- उम्मेदवारी दर्ता गरेर झापाबाट फर्किएपछि एमाले अध्यक्षको अब आन्दोलन हो कि चुनाव ? भन्ने अभिव्यक्तिका कारण यो प्रश्न सोधेको ।
ओलीजी यो टोटल प्रक्रियाको एक प्रकारले रचयिता जस्तो हुनुभयो । उहाँकै प्रधानमन्त्रीकालमा यी सब घटनाहरू भए र यी सब घटनाहरूले नेपालको राजनीतिलाई कस्तो प्रकारको इम्प्याक्ट पारेको छ भन्ने कुरा अझै यसका असरहरू धेरै गहिरा छन् के । उहाँका ३–४ दिनका अभिव्यक्तिहरू यति धेरै अन्तर्विरोधी छन्, कहिले मलाई अपमान भयो एयरपोर्टमा भन्नुहुन्छ । कहिले झापाचाहिँ जनकपुरभन्दा सफा–सुग्घरको कुरा गर्नुहुन्छ । कहिले के कुरा गर्नुहुन्छ । उहाँको चाहिँ एकदमै मानसिक स्वास्थ्यमै गम्भीर समस्या छ भन्ने देखिन्छ । उहाँका अभिव्यक्तिहरू यति धेरै डिस्ट्रक्टिभ हुन्छन् कि; जनताले उहाँका कुराहरू सुन्नै चाहेको छैन के । बरु कम बोल्दा हुन्छ ।
_nzfmRZ357p.jpg)
- निर्वाचनको परिणामबारे केही आकलन गरेर यस्तो अभिव्यक्ति दिनुभएको हो कि ?
त्यो पनि हुन सक्छ, नहुने कुरा होइन । पहिला पनि त हार्नुभएको हो नि सामान्य मान्छेसँग । राजनीतिमा फेरि सान्दर्भिक भएर प्रधानमन्त्री भएर आफ्नो पार्टीको नेता भएर आउनुभयो नि । उहाँ ईश्वर हो, कम्युनिस्ट तानाशाह हो भने कम्युनिस्ट तानाशाही व्यवस्था ल्याउनका लागि सङ्घर्ष गर्नुस् । चुनावमा भागै नलिनुस् । लोकतान्त्रिक संविधान र लोकतान्त्रिक प्रक्रियामा आउनुहुन्छ भने तपाईं एकचोटि हारेर के हुन्छ र ?
- विमानस्थलमै अपमान भयो पनि भन्नुभयो ।
कुनै पनि मान्छेको खानतलासी लिनु भन्ने कुरा ठुलो होइन । कहिलेकाहीँ राज्यले अपमान पनि गर्छ, नगर्ने होइन । राज्य त्यसै कारणले नै हुन्छ । कैयौँ प्रधानमन्त्रीहरू जेल जान्छन् त । अनि जेलमा उनीहरूलाई मानैमान मात्रै हुन्छ त ?
- आफू पक्ष इतरकालाई टिकट किन दिइएन भन्ने कुरा पनि प्रस्ट पार्नुभयो । त्यो अभिव्यक्तिप्रति तपाईंको टिप्पणी केही छ ?
उहाँ धेरै पूर्वाग्रही र बदलाको भाव र ईर्ष्या भाव राख्ने मान्छे हो । उहाँका समकक्षी नेताहरू, उहाँसँग सँगै जेल बसेका, उहाँसँग सँगै सबै काम गरेका व्यक्तिहरूसँग कुरा गर्दा जे भन्नुहुन्छ त्यो ओलीजीमा देखिन्छ । टिकट दिने, नदिने कुरामा पनि एउटा मानक, एउटा मापदण्डका आधारमा होइन, उनको व्यक्तिगत सनकका आधारमा भइराख्या छ ।
- अहङ्कारी, अलोकतान्त्रिक भनिए पनि केन्द्रीय कमिटीमा दुई तिहाइभन्दा बढी समर्थन हुँदाहुँदै महाधिवेशनको आफैंले माग गर्नुभयो । अत्यधिक कार्यकर्ताबाट अनुमोदन पनि हुनुभयो । योभन्दा लोकतान्त्रिक के हुन्छ त ?
केको लोकतान्त्रिक हुनु, उहाँहरूको पार्टीको चरित्र नै लोकतान्त्रिक छैन । कांग्रेसमा हिजोका महाधिवेशन प्रतिनिधिहरूले कसरी गतिशील तरिकाले तलैबाट उठेर नेतृत्व परिवर्तन गरे । तर कम्युनिस्टहरूमा त तलका कार्यकर्ताहरू पनि कस्तो छ भन्नुहुन्छ भने एउटा नेताले अर्को नेताबारे त्यसप्रतिको दृष्टिकोण जुन हाल्दिन्छ नि, त्यही सर्लक्कै तलसम्म । योचाहिँ विरोधी हो यसलाई हराउनुपर्छ भन्ने तल सदस्यसम्म पनि एउटा यस्तो जकडिएको एउटा त्यो व्यक्तिवादी अहँकारी जुन चरित्र नेताको छ, त्यस्तै कार्यकर्ताहरूको पनि छ । त्यस कारणले गर्दा त्यहाँ परिवर्तन गर्न सम्भव छैन ।
- एमालेलाई अलोकतान्त्रिक पार्टी नै भन्न मिल्ला र ?
लोकतान्त्रिक संरचना भएको पार्टी हुन्थ्यो भने घनश्याम भुसालजस्तो मान्छे जो अत्यन्तै पपुलर थिए । आठौँ महाधिवेशनमा धेरै पपुलर थिए उनी । नवौँ महाधिवेशनसम्म आउँदा त उनले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको दस्तावेज नै एमालेले पारित गर्या छ । तर त्यसको नेता को भयो ओली ? भन्दाखेरि नीति केही पनि होइन, नेता प्रमुख हो । त्यो कम्युनिस्ट अधिनायकवादी चिन्तन नै हो त्यो । प्रचण्डको के कुरा गर्ने ? उनी ४० वर्षदेखि छन् । त्यही भएर कम्युनिस्ट पार्टीमा परिवर्तन हुन्न बरु नेता चाहिँ पार्टी छोडेर जान्छ ।
- कांग्रेसले परिवर्तन गर्न सक्यो एमालेले किन सकेन नेतृत्व परिवर्तन गर्न ?
ओलीजीले जस्तो देख्नुभएको छ नि माथि, सेल कमिटीसम्म अर्को ओलीको अर्को रिप्लिका हुन्छ । पहिलेदेखि नै इकाई समितिको विरोधीलाई पनि उसले सिध्याइसकेको हुन्छ । विरोधी सिध्याउँदै–सिध्याउँदै आउने व्यवस्था हो के त्यो । तपाईँले त्यहाँ कुनै परिवर्तन गर्न खोज्नुहुन्छ भने त्यहाँ फुट मात्रै हुन्छ, परिवर्तन चाहिँ हुन्न ।
- तपाईंको कुरा सुन्दा त ईश्वर पोखरेल, योगेश भट्टराईहरूले जे गरे अस्तिको महाधिवेशनमा, त्यो पनि धेरै गरेका पो रहेछन् त ?
महाधिवेशनका हकमा त्यति नै हो । प्रचण्डजीले त त्यति पनि हुन दिएनन् ।
- भनेपछि ओलीजी रहुन्जेल दिएको खाएर ईतर पक्ष चुप लागेर बसे हुने रहेछ होइन ?
विधान महाधिवेशन त के भन्नु त्यो ओलीको उमेर बढाउने महाधिवेशनले ओलीलाई अमर बनाएर घोषणा गरेको होईन त ? ओलीलाई अजर, अमर घोषणा गरेर माला लगाइदिए सबैले अनि महाधिवेशन सिद्धियो । तर त्यसको अर्को दिन के भो ? खाली पार्टीमा अजर अमर बनाएर के हुँदो रहेछ त ? यत्रो तामझाम गरेर इलेक्सन गरिराछौँ । आज पनि यिनै तीन वटा नेताहरूले फेरि गठबन्धन गर्दै थिए । धन्न कांग्रेसमा आएको परिवर्तनले त्यस्तो खालको अमर्यादित गठबन्धन, भ्रष्टाचारका लागि गरिएको गठबन्धन र नेपालको परिवर्तनलाई रोक्ने यथास्थितिवादी गठबन्धनलाई कांग्रेसको नयाँ परिवर्तनले रोक्यो ।
- भनेको ओलीजी हुँदासम्म अब यस्तै हो ?
होइन, ओलीजीको अवसान चाहिँ सुखद् लाग्दैन । देउवाको अवसान राम्रो भइसकेको थियो नि । अहिले देउवाको राजनीति अवसान अपमानजनक भयो । आफैँले थुकेको थुक चाट्नाले । अर्थात् आफैँले कार्यवाहक दिइसकेपछि आएर फेरि आफैँ अतिरिक्त सक्रिय हुँदाखेरि ।
- एमाले अध्यक्षले भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका व्यक्तिहरूबिच सार्वजनिक बहस गरौँ भन्ने प्रस्ताव कस्तो लाग्यो ?
उहाँले नै ल्याएको त मलाई थाहा छैन । उहाँले त म सहभागी हुन तयार छु भन्या हो । ओली जस्तो मान्छेलाई त्यो बहस गर्न केही गाह्रो पनि भएन । ओलीजी जति बोल्नुभयो त्यति नै उहाँलाई प्रत्युत्पादक साबित भएको छ ।
ओलीको लागि अहिले मलाई लाग्छ त्यो बोल्नु झन् प्रत्युत्पादक किन हुन्छ भने अहिलेका सम्पूर्ण यो राजनीतिक गतिविधिको खलनायकको रूपमा हुनुहुन्छ ।
- आफैं प्रतिरक्षामा भएको मान्छेले किन बहसमा सहभागी हुन्छु भन्थ्यो होला र ?
बालेन शाहको सेयर भ्यालु छ नि बजारमा । उहाँको आफ्नै बुक भ्यालु केही पनि छैन । सेयरको सय रुपैयाँ चाहिँ बुक भ्यालु हुन्छ । जस्तै रास्वपाको २१ रुपैयाँ त छ । एमालेको ८०, कांग्रेसको ९० रुपैयाँको बुक भ्यालु छ । बालेनको त जिरो रुपैयाँ छ हेर्नुस् । तर पनि सेयर भ्यालु सबभन्दा बढी त्यसको छ जसको पेड भ्यालु नै छैन । त्यस हुनाले त्यो सेयर भ्यालुले गर्दा खेरि मान्छेलाई एउटा रोचकता छ ।
- गगन थापाको आगमनलाई कसरी हेर्नुभएको छ ?
अहिले राजनीतिक वृत्तमा सबभन्दा तरङ्ग गगन थापाको छ । किनकि गगन थापाले यति स्मार्टली पार्टीलाई आफ्नो नेतृत्वमा लिए । नेतृत्वमा लिए एकदमै वैधानिक र असाध्यै डेमोक्रेटिक प्रक्रियाले जुन इन्डक्टिभ तरिकाले । माथिबाट चाहिँ आउने परिवर्तन मात्रै थियो कांग्रेसमा । नेतृत्वले गरेको निगाहको परिवर्तन । तर अहिले त्यो होइन कांग्रेसको । एकदम तलबाट आएको परिवर्तन हो । त्यस्तो तलबाट आएको परिवर्तन जो चाहिँ महाधिवेशन प्रतिनिधिहरूले नै आफ्नो पहलकदमी लिए, त्यो राजनीतिक रूपमा त्यसको धेरै ठुलो भ्यालु हुन्छ । त्यसकारण गगन थापा फेरि एउटा भिजनरी नेता पनि मानिन्छन् ।
- बालेनको भन्दा पनि गगनको क्रेज देख्नुहुन्छ ?
धेरै ठुलो क्रेज हो । यो राजनीतिक क्रेज हो फेरि । बालेन शाहहरूको भन्दा उनको राजनीतिक क्रेज हो ।
_xkpi4TYgCy.jpg)
- बालेन शाहले बहसमा भाग लिन्न भन्नुचाहिँ ठीक हो त ?
बालेन अन्तर्मुखी स्वभावका मान्छे छन् । बालेनले जति धेरै बोल्छन्, बालेनले पनि नेगेटिभ प्रभाव पार्ने मात्रै नै हो । उनी नबोल्दा उनको पोस्चरले बडी ल्याङ्ग्वेजले जति मान्छेलाई अपिल गर्छ, उनको बोलीले त्यति नै मान्छेलाई विकर्षण गर्छ । उनले बोल्दाखेरि धेरै मान्छे आकर्षित हुन्छन् भन्ने लाग्दैन र उनीसँग त्यत्रो भिजन छ भन्ने पनि मलाई लाग्दैन । छ भने पनि त्यो भिजन कतै भिजिबल भएन ।
- निर्वाचन परिणाामबारे केही आँकलन गर्न सकिन्छ ?
भदौ २३ र २४ का घटनापछि मतदातामा टोटल्ली असुरक्षाको एउटा भावना छ । राजनीतिक दुर्घटनाको अर्को भावना छ । आफ्नै सुरक्षाको धेरै ठुलो डर छ । यस्तोमा मतदाताहरूले कस्तो खालको निर्णय गर्छन् भन्ने कुरा आँकलन गर्न म सक्दिनँ ।
- परिणामबारे अनुमानै गर्न नसकिने कस्तो चुनाव हुँदैछ त ?
आँकलन गर्न त त्यसको एउटा क्रोनोलोजिकल फ्याक्ट हुनुपर्यो नि । हो त्यो क्रोनोलोजिकल फ्याक्ट थियो हिजोसम्म । अहिलेका सङ्गठनमा भएको मान्छे के सङ्गठितै छ ? भन्दा त्यो पनि छैन । सङ्गठन मात्रै भत्केको छैन मान्छेको दिमाग र सोच्ने तरिका पनि भत्केको छ । यस्तो भत्केको बेलामा आँकलन गर्नका लागि नेपाली राजनीतिका प्यारामिटरहरू नै सिद्धिएका छन् ।
- नयाँ पार्टीको सम्भावना कस्तो देख्नुहुन्छ ?
पुराना राजनीतिक पार्टीहरूले सङ्कटको ठुलो पहाड बनाइदिए र नयाँहरू चाहिँ त्यही पहाडमा त्यही सङ्कटको पहाडमा चढेर राजनीतिलाई ढुङ्गा बनाएर तल गुडाउनु छ । सेतीको खोँचमा जहाँ आँखाले देखिँदैन, जहाँ जान सकिँदैन त्यहाँ राजनीति गएर अड्केको छ ।
- बालेन शाह झापा-५ मा ओलीसँगै भिड्न किन गए भन्ने बहस पनि छ नि ?
रवि लामिछाने चितवन जाँदाखेरि पनि मानिसहरूको यस्तै प्रतिक्रिया थियो । त्यो वामपन्थीहरूको गड नै थियो । मतदाताहरू वामपन्थीप्रति विकर्षित छन् । चलायमान भोट धेरै छन् । किनभने उनीहरूले यति लामो समयसम्म वामपन्थी राजनीतिको सेवा गरे कि उनीहरूका नेताहरू सबैभन्दा बढी भ्रष्ट, सबैभन्दा बढी व्यक्तिवादी, सबैभन्दा बढी परिवारवादी, अनि त्यसको जुन आक्रोश हो, त्यो त्यसलाई हराएर लिने मनस्थितिमा चाहिँ वामपन्थी मतदाता छन् ।
- त्यति मात्रै कारण हो त ?
आफ्नो जित्ने मात्रैभन्दा पनि प्रधानमन्त्री हुनका लागि त सहरको खुकुलो मतदातालाई मात्रै प्रभाव पारेर त भएन नि । अनि ओलीसँग लड्दा जुन सेयर भ्यालुको पनि कुरा छ । उनले राजनीतिको सेयर भ्यालुमा जोड दिएका छन् किनकि उनको पेड भ्यालु छैन । लगानी केही पनि छैन । संसदीय राजनीतिमा उनको लगानी त जिरो छ ।
- निर्वाचनमा पराजित भने त सेयर भ्यालु फेरि शून्यमै झर्ला नि त बालेनको ?
बालेन हार्नु त त्यति ठुलो बेइज्जतीको कुरा होइन, जति ओली हार्दा ओलीको हुन्छ । उनको त उमेर पनि छ, अर्को वर्ष उनले जाँदा पनि जित्छन् । तर ठुलो पार्टी बनाउनलाई त उनको योगदान रहने भयो नि त ।
- कांग्रेसको अवस्था कस्तो होला निर्वाचनमा ?
कांग्रेसले आफूलाई झुसिलकीराबाट पुतली बनाइसक्यो । कांग्रेस अब झुसिलकीरा रहेन, त्यो पुतली भएर उडिरहेछ । कांग्रेसको निश्चित रूपमा बढ्छ । सबभन्दा ठुलो दल हुने सम्भावना पनि छ ।
- राष्ट्रिय स्वतन्त्र पार्टी ?
दोस्रोका लागि एमालेसँग प्रतिस्पर्धा होला जस्तो लाग्छ ।
- प्रचण्डजी पहिलो पार्टी बन्छ नेकपा भन्दै हुनुहुन्छ ।
उहाँले भनेर के हुन्छ ? सम्भावना छैन, कतै पनि देखिँदैन । उहाँहरूले अपिल गर्ने मान्छे पनि छैन ।
- सबभन्दा घाटा चाहिँ कसलाई हुन्छ यो निर्वाचनमा ?
मलाई त एमालेलाई सबभन्दा बढी घाटा हुन्छ जस्तो लाग्छ । घाटा त नाफा भएकोलाई हुन्छ नि ।
- भावी प्रधानमन्त्रीको रूपमा गगन थापालाई निर्णय गरेर जाने केन्द्रीय समितिको निर्णयलाई देउवा समूहले नमान्ने भनेर भेला गर्दैछ । के भन्नुहुन्छ ?
विनाशकाले विपरीत बुद्धि । जनमानसमा जुन उत्साह छ कांग्रेसीहरूमा र अरू पार्टीहरूले पनि कांग्रेसमा जस्तो नेतृत्व परिवर्तन गर्न सकेको भए भनिरहेको बेला राजनीतिमा त्यस्तो खालको दुर्गन्ध फैलाउनु हुँदैन । बरु उनीहरूले गगनजीलाई धन्यवाद दिए धेरै राम्रो हुन्छ .
- निर्वाचनपछिको राजनीतिक परिदृश्य कस्तो देखिन्छ ? झन् अस्थिर हुन्छ भन्ने पनि कतिपयको भनाइ छ नि ?
राजनीतिलाई पुनर्ताजगी गर्ने, राजनीतिक सङ्गठनहरूलाई पुनर्ताजगी गर्ने, संविधानलाई पुनर्ताजगी गर्ने, संसद्लाई पुनर्ताजगी गर्ने, सरकारलाई पुनर्ताजगी गर्ने, सुशासनको मुद्दा मूल मुद्दा हो । राजनीतिक रूपमा जनताको म्यान्डेट लिएर आउँछन्, तिनीहरूको बिचमा डायलग गर्नुपर्ने हुन्छ । बालेन नै प्रधानमन्त्री भए पनि एमालेसँग, कांग्रेससँग, मधेसी दलसँग सहकार्य गर्नुपर्ने हुन्छ ।
- अहिले दलहरूबिच यस्तो द्वन्द्व छ, तपाईंले भनेजस्तो मिल्लान् त ?
कहिलेकाहीँ के लाग्छ हामीलाई भने अब चाहिँ यही नै विश्वयुद्ध गर्लान् जस्तो लाग्छ । तर त्यस्तो होइन । राजनीतिमा फेरि सम्हालेर जान्छ, फेरि सहकार्य गर्नुपर्ने हुन्छ । आफ्ना अप्ठ्याराहरू देख्न थाल्छन् । अप्ठ्याराहरू देखिसकेपछि ती अप्ठ्याराहरूलाई फुकाउँदै जान्छन् । यहाँ त धेरै गाँठो पार्नेलाई सबभन्दा ठुलो नेता मानेर यस्तो भएको हो नि हामी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण