सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

रास्वपा पुँजीवादी दल हो, बालेन ८ करोडको गाडी चढ्छन् : अध्यक्ष अन्सारी

मङ्गलबार, १३ माघ २०८२, १३ : १८
मङ्गलबार, १३ माघ २०८२

सारांश

  • राष्ट्रिय निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले रास्वपाको आलोचना गर्दै पुँजीवादी दलको संज्ञा दिए।
  • अन्सारीले रास्वपा पैसा कमाउने उद्देश्यले बनेको र देशलाई निकास दिन नसक्ने आरोप लगाए।
  • रास्वपा परित्याग गरी ताज मोहम्मद मियाँसहित दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता राष्ट्र निर्माण दलमा प्रवेश गरे।

काठमाडौँ । राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुँजीवादी दलको संज्ञा दिँदै चर्को आलोचना गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अन्सारीले रास्वपा पैसा कमाउने उद्देश्यले बनेको र यसले देशलाई निकास दिन नसक्ने दाबी गरेका हुन्।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ८ करोडको गाडी चढेको र पार्टीले उम्मेदवारहरूसँग पैसा मागेको आरोप लगाउँदै उनले आफ्नो दल भने देश र जनताको हितका लागि मात्रै बनेको जिकिर गरे। अध्यक्ष अन्सारीले देशमा रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने मुख्य उद्देश्यका साथ आफूले नयाँ पार्टी गठन गरेको बताए।

गुणस्तरीय शिक्षा, साक्षरता दरमा सुधार र सातै प्रदेशमा सस्तो एवं सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्नु आफ्नो पार्टीको प्रमुख एजेन्डा रहेको उनको भनाइ छ। अन्सारीले भने, ‘हामी पैसा कमाउन होइन, देश र जनतालाई शिरमा राखेर काम गर्न आएका हौँ। अबको मुलुकको निकास राष्ट्र निर्माण दलले मात्रै दिन्छ।’

सोही कार्यक्रममा रास्वपा परित्याग गरी ताज मोहम्मद मियाँसहित दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू राष्ट्र निर्माण दलमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई स्वागत गर्दै अन्सारीले रास्वपाले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरिरहे पनि भुइँतहका कार्यकर्ताहरू विकल्प खोज्दै आफ्नो पार्टीमा आउन थालेको बताए। युवाहरूको साथले आफ्नो दललाई थप उर्जा मिलेको र अब देशभर सङ्गठन विस्तारलाई तीव्र पारिने उनले घोषणा गरे।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप