बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मालिकको शव कुरेर चार दिनसम्म भोकभोकै बस्यो ‘शेरु’

बुधबार, १४ माघ २०८२, १४ : ३६
बुधबार, १४ माघ २०८२

सारांश

  • हिमाचल प्रदेशको चम्बा जिल्लामा भिडियो बनाउन गएका दुई दाजुभाइको हिमआँधीमा परी मृत्यु भयो।
  • मृतक दाजुभाइको शव नजिकै चार दिनसम्म कुकुर शेरुले केही नखाई मालिकको रक्षा गर्यो।
  • उद्धार टोलीले शेरुलाई भेट्दा ऊ कमजोर भइसकेको थियो, तर मालिकको शव छोड्न मानेन।

चम्बा । हिमाचल प्रदेशको चम्बा जिल्लाबाट एउटा यस्तो हृदयविदारक घटना बाहिर आएको छ । भरमाणी माता मन्दिरमाथि रहेका पहाडहरूमा भिडियो बनाउन गएका १९ वर्षीय विकसित राणा र उनका १३ वर्षीय भाइ पीयूषको हिमआँधीमा फसेर मृत्यु भएको छ। 

तर, यो दुःखद घटनाका बिच एउटा जनावरको वफादारीले संसारलाई स्तब्ध बनाएको हो। 

यी दुई दाजुभाइ रमाइलो गर्दै भिडियो खिच्न पहाड चढेका थिए। अचानक मौसम बिग्रिएर चलेको बर्फीलो आँधी र कडा चिसोका कारण उनीहरूको ज्यान गयो। धेरै दिनसम्म छोराहरू सम्पर्कविहीन भएपछि ड्रोन र हेलिकप्टरको सहयोगमा खोजी गर्दा उद्धार टोली घटनास्थल पुगेको थियो। त्यहाँ टोलीले जे देख्यो, त्यसले सबैको हृदय पगाल्यो।

  • मालिकको शव कुरेर बस्यो वफादार शेरु 

दुई दाजुभाइको निधन भइसकेको थियो, तर उनीहरूको घरको कुकुर ‘शेरु’ भने आफ्ना मालिकलाई छोडेर कतै गएको थिएन। चिसो र हिउँका बिच चार दिनसम्म केही नखाई-नपिई शेरु आफ्ना मालिकको निर्जीव शरीरको रक्षा गरेर बसिरह्यो। सायद उसलाई आशा थियो– उसका मालिक फेरि उठ्नेछन् र उसलाई माया गर्नेछन्।

उद्धार टोली पुग्दा शेरु चिसोले कामिरहेको थियो र निकै कमजोर भइसकेको थियो। तैपनि उसले मालिकको शव छोड्न मानिरहेको थिएन। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उद्धारकर्मीहरूले उसलाई सुम्सुम्याउँदै ‘शेरु’ भनेर बोलाउँदा पनि ऊ त्यहाँबाट हलचल गरेको छैन। 

प्रहरीका अनुसार अत्यधिक चिसो र हिउँमा जमेर ती किशोरहरूको मृत्यु भएको हो।

हाँस्दै खेल्दै घरबाट निस्केका दुई सन्तानको यसरी बिदाइ हुँदा पूरै गाउँ शोकमा डुबेको छ। मोबाइलको क्यामेरामा खुसीका पलहरू कैद गर्ने उत्साहले यसरी काल निम्त्याउला भन्ने कसैले सोचेको थिएन। 

चम्बाका हिउँले ढाकिएका यी पहाडहरूमा अब दुई दाजुभाइका अधूरा सपना र एउटा वफादार कुकुरको निस्वार्थ प्रेमको कथा सधैँका लागि गढिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप