यस क्षेत्रलाई युरोपियन सिस्टमको विकाससँग जोड्न चाहन्छु : सन्दन थापा मगर
सारांश
- नेकपा एमालेका उम्मेदवार सन्दन थापा मगरले ललितपुर क्षेत्र नम्बर ३ लाई नमुना सहर बनाउने प्रतिबद्धता व्यक्त गरे।
- उनले मतदाताको साथ र नयाँ युवा नेतृत्वको आवश्यकता रहेको बताए, र विगतका कामको अनुभव सुनाए।
- थापाले आफूलाई अरू दलका उम्मेदवारले चुनौती नदिने र जित सुनिश्चित रहेको दाबी गरे।
ललितपुर क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार सन्दन थापा मगरसँग गरिएको कुराकानी :
- ललितपुर क्षेत्र नम्बर ३ मा तपाईंको मुख्य एजेण्डा के हो ? यदि तपाईंले जित्नुभयो भने यो क्षेत्रलाई कस्तो बनाउनुहुन्छ ?
मेरो उम्मेदवारी यस क्षेत्रका नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि हो । मेरो सबैभन्दा ठुलो सपना र मुख्य एजेण्डा भनेको ललितपुर क्षेत्र नम्बर ३ लाई नेपालकै उत्कृष्ट र एउटा नमुना सहरको रूपमा विकसित गर्नु हो । म यस क्षेत्रलाई युरोपियन सिस्टमको विकाससँग जोड्न चाहन्छु । युरोपका सहरहरूमा जस्तो व्यवस्थित सरसफाइ, चिल्ला र फराकिला बाटोघाटा, जताततै हरियाली र व्यवस्थित पार्कहरू यहाँ पनि सम्भव छन् ।
ललितपुर कला र संस्कृतिको खानी हो । यहाँका ऐतिहासिक मठ–मन्दिर र सम्पदाहरूको संरक्षण गर्दै यसलाई आधुनिक सुविधा सम्पन्न सहर बनाउने मेरो प्रण छ । यी कामका लागि मैले केही योजना सुरु गरिसकेको छु र निर्वाचित भएपछि यसलाई पूर्णता दिनेछु । म गफमा होइन, काममा विश्वास गर्छु ।
- तपाईं अहिले मतदाताहरूको घरदैलोमा हुनुहुन्छ, उहाँहरूबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
मतदाताहरूमा अहिले एकदमै ठुलो उत्साह देखिएको छ । म लामो समयदेखि यही क्षेत्रमा सामाजिक काममा सक्रिय छु । सुख–दुःखमा साथ दिएको हुनाले जनताले मप्रति पहिलेदेखि नै एउटा छुट्टै भरोसा राख्नुभएको थियो । अहिले उम्मेदवारकै रूपमा जाँदा उहाँहरू झन् खुसी हुनुहुन्छ ।
जनताले के महसुस गरेका छन् भने अब गफ गर्नेमात्र होइन, साँच्चिकै काम गर्न सक्ने, विकासको मोडेल बुझेको र क्षमतावान् युवा नेतृत्व चाहिन्छ । म सामाजिक कार्यबाट आएको हुनाले पनि उहाँहरूको मप्रति ठुलो अपेक्षा छ । हाम्रै क्षेत्रको काम गर्ने केटो आयो भन्ने उहाँहरूको अपनत्वले मलाई झन् ऊर्जा दिएको छ ।
- यस क्षेत्रमा अघिल्लो चुनाव रास्वपाले जितेको छ । नेपाली कांग्रेसले पनि जिल्ला सभापतिलाई नै उठाएको छ । अरू ठुला दलका उम्मेदवार पनि मैदानमा हुनुहुन्छ । यस्तो अवस्थामा तपाईंलाई चुनौती कत्तिको लाग्छ ?
साँचो कुरा भन्नुपर्दा, मलाई कुनै पनि दल वा उम्मेदवार मेरालागि चुनौती हुन् जस्तो लाग्दैन । म कसैलाई आफ्नो प्रतिद्वन्द्वी नै मान्दिनँ । यसका केही स्पष्ट कारण छन् ।
पहिलो कुरा, म लामो समयदेखि जनताको बिचमा रहेर सामाजिक र राजनीतिक कामको अग्रपङ्क्तिमा छु । दोस्रो कुरा, अहिले प्रतिस्पर्धामा हुनुभएका अन्य उम्मेदवारहरू जनताका लागि पुराना अनुहार भइसक्नुभएको छ । रास्वपाकी तोसिमाजी यसअघि नै सांसद भइसक्नुभयो, उहाँले काम गर्ने अवसर पाइसक्नुभयो । कांग्रेसका जितेन्द्र र नेकपाका राजकाजी पहिले नै प्रदेश सभाको निर्वाचन लडेर पराजित भइसक्नुभएका व्यक्ति हुनुहुन्छ । त्यस्तै सबिन खड्काज्यू पनि हिजो पराजय भोगिसक्नुभएको व्यक्ति हो ।
यी सबै पुराना र परीक्षण भइसकेका अनुहारहरूको बिचमा म एकदमै नयाँ, युवा र ऊर्जावान् छु । जनताले यसपटक नयाँ र परिणाममुखी युवा खोजिरहेका छन् । मेरो विगतको सामाजिक कामको रेकर्ड र भविष्यको स्पष्ट भिजनका कारण मतदाताहरू मसँग हुनुहुन्छ । मभन्दा बढी मेरा मतदाताहरू मलाई जिताउन दिन–रात लागिपर्नुभएको छ । त्यसैले मलाई चुनौती होइन, जितको सुनिश्चितता महसुस भइरहेको छ ।
- ललितपुर–३ का मतदाताहरूलाई के भन्न चाहनुहुन्छ ?
म यहाँका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई के आग्रह गर्न चाहन्छु भने हामीले धेरै पटक धेरैलाई हेर्यौँ । अबको समय भनेको विकास जान्ने र विकास भोगिरहेका जनताको मर्म बुझ्ने प्रतिनिधिको हो । ललितपुर–३ लाई नेपालकै गौरव गर्न लायक ‘मोडल सिटी’ बनाउने मेरो महाअभियान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण