घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा
सारांश
- आगामी निर्वाचनले सुनसरी क्षेत्र नम्बर १ लाई चर्चामा ल्याएको छ, जसमा हर्कराज राई र रास्वपाको प्रतिस्पर्धा हुने देखिएको छ।
- पुराना दलहरूलाई नयाँ शक्तिहरूले चुनौती दिइरहेका छन्, र उनीहरूले नयाँलाई हराउन गठबन्धन बनाउने सम्भावना रहेको छ।
- मतदाताहरूमा नयाँलाई भोट दिने सोच बलियो देखिएको छ, तर नयाँ दलहरूबीचको प्रतिस्पर्धाले मत विभाजनको चिन्ता बढाएको छ।
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनले सुनसरी क्षेत्र नम्बर १ लाई देशव्यापी चर्चामा ल्याएको छ । यसअघि धरान उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएर विजयी बनेका हर्कराज राई (साम्पाङ) सोही क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका छन् ।
श्रम संस्कृति पार्टी दर्ता गरेर माटो चुनाव चिह्नसहित चुनावमा होमिएका उनी दलीय राजनीतिमा नयाँ हुन् ।
अर्कोतिर काठमाडौँ महानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा ०७९ को स्थानीय तह निर्वाचनमा जितेका बालेन्द्र (बालेन) शाह पनि उक्त पदबाट राजीनामा दिई दलीय राजनीतिमा होमिएका छन् । बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गर्दै चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि आफूलाई नयाँ राजनीतिक शक्ति नै दाबी गर्दै आएको छ । यद्यपि रास्वपा ०७९ को प्रतिनिधि सभा निर्वाचनमा सहभागी भएर देशको चौथो राजनीतिक शक्तिका रूपमा स्थापित भइसकेको दल हो ।
त्यस्तै सो क्षेत्रमा विजयी हुँदै आएको नेकपा एमाले, निरन्तर प्रतिस्पर्धामा रहेको नेपाली कांग्रेस र कुनैबेला विजयी बनेको तत्कालीन नेकपा माओवादी अर्थात् हालको नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार पनि नयाँ नै हुन्, तर ती पार्टीलाई नै पुरानाको दर्जामा जनताले राखेका कारण उनीहरू निर्वाचनमा असुरक्षित देखिन्छन् । सुनसरी–१ मा एमालेले टिकाराम लिम्बु, कांग्रेसले सुजेन्द्र तामाङलाई उम्मेदवार बनाएको छ । नेपाली कम्युनिस्ट पार्टीले भने सूर्यबहादुर भट्टराईलार्ई अघि सारेको छ ।
सुनसरी–१ मा धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिकाको १ देखि ५ नम्बरसम्मका वडा र रामधुनी नगरपालिकाको ६ र ७ नम्बर वडा पर्छ । धरान उपमहानगरपालिका वडा १ देखि २० सम्म १ लाख १० हजार ९३९ मतदाता छन् । यस्तै बराहक्षेत्र नगरपालिका १ देखि ५ नम्बर वडासम्म २८ हजार २४१ र रामधुनी नगरपालिका वडा ६ र ७ मा ११ हजार २१३ मतदाता छन् ।
सुनसरी–१ मा श्रम संस्कृति पार्टीका तर्फबाट साम्पाङ आफैँ चुनाव मैदानमा छन् । उनले आफ्नो जितलाई प्रतिष्ठाको विषय बनाएका छन् । यस्तै रास्वपाबाट गोमा तामाङ (सरिन) उम्मेदवार बनेकी छन् । २०७९ सालको निर्वाचनमा उनी एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका अशोक कुमार राईसँग पराजित भएकी थिइन् ।
अशोक राईले त्यसबेला १७ हजार ५९ मत ल्याउँदा तामाङले एक्लै १६ हजार ६०६ मत ल्याएकी थिइन् ।
प्रतिनिधि सभा निर्वाचनभन्दा अगाडि स्थानीय तहको निर्वाचनमा साम्पाङले भने एक्लै २० हजार ८२१ मत ल्याएर विजयी बनेका थिए । सोही निर्वाचनमा कांग्रेस–माओवादी–नेकपा एकीकृत समाजवादीलगायतका दलको गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका किशोर राईले १६ हजार ५९ मतमात्रै ल्याएका थिए ।
यस्तै २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ सो क्षेत्रबाट सबैभन्दा बढी नेकपा एमालेले २० हजार ९८ मत ल्याएको थियो । दोस्रो स्थानमा रास्वपाले १७ हजार २७१, तेस्रो नम्बरमा रहेको नेपाली कांग्रेसले ११ हजार ७५०, राप्रपाले ९ हजार ७६८ र माओवादी केन्द्रले ४ हजार ६५६ मत ल्याएको थियो । २०७९ सालको स्थानीय तह निर्वाचनमा सो क्षेत्रको सबै वडाध्यक्षको मत हेर्दा एमालेको ३३ हजार ३९३, कांग्रेसको २७ हजार ६६४ र तत्कालीन माओवादी केन्द्रको ७ हजार १८ मत थियो ।
यद्यपि उल्लेखित तथ्याङ्ककै आधारमा आउँदो निर्वाचनको जित हारको विश्लेषण गर्न सकिँदैन । किनकि अहिलेको परिस्थिति बेग्लै रहेको सुनसरी–१ कै स्थानीय बताउँछन् । उक्त क्षेत्रमा यस पटकको लडाइँ पुराना भर्सेस नयाँमात्र छैन, बरु नयाँ भर्सेस नयाँको रोचक भिडन्त हुने उनीहरू दाबी गर्छन् ।
सुनसरी–१ का मतदाताहरूमा यस पटक पुरानालाई स्वाद चखाउने मुड बलियो देखिएको छ । वैदेशिक रोजगारीबाट फर्किएका चतराका अच्युत पोखरेलले भने, ‘मैले अहिलेसम्म भोट हालेको थिइनँ, तर यसपाली नयाँलाई दिनुपर्छ भन्ने सोच छ । मेरो थुप्रै साथी पनि नयाँकै पक्षमा छन् ।’
चटपटे बेचेर गुजारा चलाउने अन्जु कार्कीको पनि यस्तै भनाइ छ । उनले कता भोट हाल्ने भनेर मुख नखोले पनि ग्राहकहरूले नयाँलाई जिताउनुपर्छ भनेर सुनाउने गरेको बताउँछिन् ।
तर, मतदाताका अगाडि नयाँ भनिएका दलमै पनि दुई विकल्प छन्– हर्क साम्पाङको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो र रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न घण्टी । ८२ वर्षीय मदनबहादुर बुढाथोकीको अन्योलले धेरै मतदाताको प्रतिनिधित्व गर्छ । उनले भने, ‘अन्धाधुन्ध जस्तो छ । कोही माटो भन्छन्, कोही घण्टी भन्छन् । मेरो दृष्टिकोण यो छ, उद्देश्य यो छ भनेर कोही स्पष्टसँग आएकै छैनन् ।’
सबैजसो स्थानीयले घण्टी र माटोबिचको प्रतिस्पर्धाले नयाँ मत विभाजित हुन सक्ने र त्यसको फाइदा कसले उठाउला भन्ने चिन्ता व्यक्त गरेका छन् । धरान–१४ की प्रतीक्षा प्रधान पनि नयाँ मिलेर अगाडि बढ्नुपर्नेमा हर्क साम्पाङले उल्टो रवि–बालेनहरूलाई गाली गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
नयाँ शक्तिहरूको बढ्दो प्रभावले वर्षौँदेखि रजगज गर्दै आएका नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीहरूलाई भने रक्षात्मक अवस्थामा पु¥याएको छ । यदि नयाँ शक्तिहरूलाई रोक्न सकिएन भने सुनसरी–१ बाट पुराना दलको जरा नै उखेलिने डर उनीहरूमा रहेको स्थानीय बुद्धिजीवी बताउँछन् । यही कारणले एमाले, कांग्रेस र नेकपाभित्र अघोषित गठबन्धनको चर्चा सुरु भएको छ ।
विश्लेषक प्रा.डा. टंक न्यौपानेले भने, ‘धरानमा एमालेको संगठन भत्किएको छ, कांग्रेसको उपस्थिति कमजोर छ । यस्तो अवस्थामा नयाँलाई हराउन पुराना दलहरू अन्तिममा एकातिर उभिने सम्भावना प्रवल छ ।’
न्यौपानेका अनुसार, पुराना दलहरूले आ–आफ्नो उम्मेदवार उठाए पनि भित्री रूपमा साझा उम्मेदवार बनाएर नयाँ लहरलाई रोक्नेबारे छलफल सुरु भएको छ । धरान–८ का कांग्रेस कार्यकर्ता नरेन्द्र राई पनि सो कुरालाई नकार्न सक्दैनन् । ‘अन्तिमसम्ममा जे पनि हुनसक्छ, तर हर्क साम्पाङलाई चाहिँ जित्न दिनुहुँदैन भन्ने मनोविज्ञान बन्दै गएको छ,’ उनको तर्क छ ।
एमालेका एक नेताले नाम नबताउने शर्तमा भने, ‘अन्तिममा तीन पार्टीले एउटैलाई सहयोग गर्ने वातावरण बन्न सक्छ ।’ उनले पात्र को भन्ने विषयमा भने मुख खोलेनन् । यद्यपि अहिलेको प्रतिस्पर्धा धरानमा घण्टी र माटोकै हुने उनको विश्लेषण छ ।
उता, मेयर हुँदा पाएको अपार जनसमर्थन अहिले सांसदको उम्मेदवार बन्दा हर्क साम्पाङका लागि केही चुनौतीपूर्ण देखिएको छ । कार्यकाल पूरा नगरी राजीनामा दिनुलाई धरान–१५ का लोकराज निरौला र स्थानीय मातृका तिम्सिनाले अपरिपक्व मानेका छन् । मातृका भन्छन्, ‘हर्कका पुराना र राम्रा कार्यकर्ताहरू सबै हटिसके । उनी कसैको कुरा सुन्दैनन्, केवल अहम् मात्र पाल्छन् ।’
विगतमा एमालेको एकलौटी हुने यो क्षेत्रमा तिलक राईले कांग्रेसबाट जितेर लालकिल्ला तोडेका थिए । त्यसपछि हर्क साम्पाङको उदयले दलीय राजनीतिलाई चुनौती दियो । धरान–८ का दिनेश न्यौपाने अहिलेको परिस्थितिलाई विश्लेषण गर्छन्, ‘त्यसबेला गठबन्धनको बलले सरिन तामाङ (गोमा) ले कडा टक्कर दिएको हो । तर अहिले स्थिति फरक छ । एमालेका कार्यकर्ता समेत नयाँलाई भोट दिने मुडमा छन् ।’
चतराका रिक्सा चालक भद्रबहादुर कार्की ४० सालदेखि एमालेका सक्रिय कार्यकर्ता हुन् । उनले भने, ‘पार्टीले विकास गरेन, अब मत बदल्नुपर्छ ।’
यस्तै विचार गोविन्द बहादुर कार्कीको पनि छ । यसले के देखाउँछ भने, पुरानो पार्टीको क्याडर बेस भोट पनि अहिले नयाँतिर मोडिन थालेको छ ।
सुनसरी–१ मा अहिले दुई वटा स्पष्ट मोर्चा बनेका छन् । एउटा मोर्चामा हर्क साम्पाङ र रास्वपा छन्, जो आपसमा मत काट्ने डरमा छन् । अर्कोतिर अस्तित्व जोगाउन तल्लीन पुराना दलहरूको छन्, जो कुनै पनि हालतमा नयाँलाई संसद् छिर्न नदिने दाउमा छन् ।
पुराना दलहरू गठजोडको रणनीतिमा सामेल भएको खण्डमा सुनसरी–१ को निर्वाचन परिणाम निकै अप्रत्याशित हुन सक्छ । तर, आम जनताको एउटै माग छ— जसले जिते पनि धरानको पानी र बराहक्षेत्रको बाटो नबिर्सियोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण