बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी चर्चा

मकवानपुरका मतदाताको बदलिँदो मुड : पुरानालाई चुनौती, नयाँ नेतृत्व र एजेन्डा प्राथमिकतामा

शनिबार, १७ माघ २०८२, १३ : २६
शनिबार, १७ माघ २०८२

सारांश

  • मकवानपुरका मतदाताहरू पुरानो राजनीतिक शक्ति र नेतृत्वप्रति असन्तुष्ट छन्, नयाँ विकल्प खोज्दैछन्।
  • मतदाताहरू नयाँ एजेन्डा र भिजन भएका युवा पुस्तालाई देशको नेतृत्व दिन चाहन्छन्, देशमा शान्ति र सुरक्षाको अपेक्षा राख्छन्।
  • स्थानीय समस्या, नेतृत्वको आचरण, र वातावरणलाई प्राथमिकता दिँदै, मतदाताहरू सक्षम नेतृत्वको चयन चाहन्छन्।

हेटौँडा । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुरमा माहौल  तातिँदै गएको छ । रातोपाटीले मकवानपुरको दुई क्षेत्रका मतदाताहरूसँग कुरा गर्दा उनीहरूमा परम्परागत राजनीतिक शक्ति र पुराना अनुहारप्रति केही असन्तुष्टि देखियो ।

अबको निर्वाचनमा पुरानै सोच भन्दा पनि परिवर्तन र नयाँ विकल्पलाई प्राथमिकता दिने उनीहरूको भनाइ थियो । विगतमा निर्वाचनमा मकवानपुरमा कम्युनिस्ट पार्टीहरूको दबदबा कायम रहँदै आएको थियो । मकवानपुरका दुई क्षेत्रमा अबको निर्वाचनमा कम्युनिस्टसँगै कांग्रेसलाई पनि उत्तिकै चुनौती देखिन्छ । 

हेटौँडाका ६५ वर्षीय लालबहादुर जोशी नयाँ एजेन्डासहित नयाँ नेतृत्व चयन गर्नुपर्ने बताउँछन् । विगतमा पटक–पटक जितेर गएकाहरूले प्रभावकारी काम गर्न नसकेकाले आम नागरिक रुष्ट बनेको र त्यसकै कारण देशको अवस्था जटिल बनेको उनले बताए । नागरिकका समस्यामा नेतृत्वले काम गर्न नसकेकाले युवापुस्ताको आन्दोलन स्वाभाविक रहेको उनको भनाइ छ । आगामी निर्वाचनमा नयाँ एजेन्डासहितको नेतृत्व चयन गर्नुपर्ने उनको जोड दिँदै उनले निर्वाचनबाट आउने नयाँ नेतृत्वले देशको अवस्था र नागरिकको मागअनुसार काम गर्न जरुरी रहेको बताए ।

lal bd joshi

नाम उल्लेख गर्न नचाहेका हेटौँडा–१८ का अर्का मतदाताले पुराना दलहरूले प्रभावकारी काम गर्नै नसकेको बताए । चुनावमा आउने बेला मात्र काम गर्ने प्रवृत्ति बढ्दै गयो र नागरिकको दुःख उस्तै रहँदा गत भदौको अवस्था निम्तिएको उनको धारणा छ । सत्तामा पुगेर नागरिकको माग र गुनासो बिर्सिँदा पुराना दलप्रति असन्तुष्टि बढेको उनको बुझाइ छ । यही असन्तुष्टिका कारण मतदाता अब नयाँ पुस्ता र नयाँ राजनीतिक शक्तितर्फ आकर्षित देखिएको उनले बताए ।

भीमफेदीकी ६१ वर्षीया माया परियार भिजन र नयाँ सोच भएका युवा पुस्तालाई देशको जिम्मा दिनुपर्ने बताउँछिन् । नयाँ पात्रहरूले देशमा सुधार ल्याउनेमा उनको आशा छ । आगामी निर्वाचनमा देशको समृद्धि र शान्तिका लागि नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने उनको भनाइ छ । परियार आगामी नेतृत्वबाट मुख्यतः देशमा शान्ति र सुरक्षा कायम हुनुपर्ने बताउँछिन् । विशेष गरी गाउँघरका दिदीबहिनीले सुरक्षित महसुस गर्ने वातावरण र गरिबको हितमा काम गर्ने सरकारको खोजीमा आफू रहेको उनले बताइन् ।

maya pariyar

‘हामीलाई जसले राम्रो गर्छ, उसैलाई भोट दिने हो,’ उनले भनिन्, ‘पुरानाले पार लाउन सकेनन्, अब नयाँ खोज्ने अवस्था आएको छ । जसले देशमा सुधार ल्याउन सक्छ, उनीहरूलाई नै रोज्ने सोच छ । अरूले भनेको भरमा होइन, आफैँ बुझेर सही नेतृत्व छान्छौँ । देश बेचेर नखाओस् र धनी–गरिब सबैले समान रूपमा शान्ति र सुरक्षाका साथ बाँच्न पाऊन् भन्ने हाम्रो चाहना हो ।’

हेटौँडा उपमहानगरपालिकाका स्थानीय चतुरभुज उपाध्याय पनि आगामी निर्वाचनको चहलपहल सुरु भएसँगै वर्तमान नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्छन् । उनले देश विकास र सुशासनका लागि नयाँ विकल्पको खोजी भइरहेको बताए । अहिलेका जनप्रतिनिधिको कार्यशैली प्रभावकारी नभएको भन्दै आगामी निर्वाचनमा नयाँ अनुहार आउनुपर्ने उनको भनाइ छ । उपाध्यायले यस क्षेत्रका जनताले पुरानो नेतृत्वबाट कुनै ठोस परिवर्तन महसुस नगरेको बताए ।

chaturbhuj upadhyaya

‘संघीय सांसदमा यहाँबाट यसअघि राप्रपाले जितेको थाहा भए पनि ठोस काम देखिएको छैन । प्रदेश सांसदहरूलाई त आफू लगायत धेरै स्थानीयले चिन्नै सकेका छैनौँ,’ उनले भने, ‘प्रतिनिधि चुनिएर गए पनि जनताबिच उनीहरूको उपस्थिति र काम शून्यजस्तै छ । त्यसैले अब नयाँ अनुहार हेर्न चाहना बढेको छ ।’

दलका उम्मेदवारहरूले विगतमा खानेपानी, बिजुली र बाटोलाई मुख्य प्राथमिकतामा राख्ने गरेका थिए । अहिले दलहरूले ‘प्रदूषण नियन्त्रण’सहित समय सापेक्ष एजेन्डा बनाउनुपर्ने मतदाताहरूको भनाइ छ । ठुला उद्योगबाट निस्कने धुलोले जनस्वास्थ्यमा गम्भीर असर पारेको उनीहरूको गुनासो छ ।

‘विकास त भइरहेको छ, तर स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार खोसिएको छ,’ उपाध्यायले भने । 

गत भदौमा भएको जेनजी आन्दोलनलाई उपाध्यायले राजनीतिमा व्याप्त भ्रष्टाचारविरुद्धको जनविस्फोटका रूपमा व्याख्या गरे । भ्रष्टाचारको पराकाष्ठाका कारण विद्यार्थीदेखि आम नागरिक सडकमा आउनु सकारात्मक भए पनि आन्दोलनका नाममा हुने हिंसा र हत्या स्वीकार्य नहुने उनको भनाइ छ । सिंहदरबार जलाउने प्रयासको घटनामा अन्य घुसपैठ भएकाले राष्ट्रिय सम्पत्तिमा क्षति पुर्‍याउनेलाई पहिचान गरी कडा कारबाही गर्नुपर्ने उनको माग छ ।

saraswoti bhandari

हेटौँडाकी सरस्वती भण्डारीले निर्वाचनका प्राविधिक पक्षभन्दा पनि स्थानीय समस्या र नेतृत्वको आचरणलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने बताइन् । पाँच वर्षका लागि चुनिएका प्रतिनिधिले कार्यकाल पूरा नगर्दै दुई वर्षमै पुनः निर्वाचन भोग्नुपर्ने अवस्था देश र जनताका लागि कठिन रहेको उनले बताइन् । राज्यका लागि आर्थिक भार र जनताका लागि कष्टकर परिस्थितिबिच हुने निर्वाचनबाट सक्षम नेतृत्व चयन गर्नुपर्ने उनको धारणा छ । भण्डारीका अनुसार वातावरणीय असन्तुलनका कारण देशमा स्वास्थ्य सङ्कट बढ्दो क्रममा छ ।

‘पहिले खानेपानी, बत्ती र बाटोको समस्या थियो, जुन अहिले धेरै हदसम्म समाधान भएको छ । शिक्षा र स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा नागरिकले पाउनुपर्छ,’ उनले भनिन्, ‘सेवा प्रवाहलाई प्रभावकारी र सरल बनाउँदै छिटो कार्यसम्पादनको रणनीतिमा नेतृत्व लाग्नुपर्छ । अहिलेको आवश्यकता पनि यही हो । अहिले धुलोका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । विकासका नाममा जनस्वास्थ्यसँग खेलबाड हुन नहुने र अब आउने नेतृत्वले यसलाई मुख्य एजेन्डा बनाउनुपर्छ ।’

भ्रष्टाचारमुक्त समाज र नयाँ सोच भएको नेतृत्व अहिलेको आवश्यकता रहेको उनले बताइन् । युवाहरूको आन्दोलन पनि भ्रष्टाचारविरुद्धको अभियान भएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप