बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पुस्तक समीक्षा

गर्विलो इतिहास र सुन्दर स्वप्नको आलोकमा ‘जनयुद्धका डायरी समालोचना’

शनिबार, १७ माघ २०८२, १३ : ३९
शनिबार, १७ माघ २०८२

सारांश

  • समालोचना विधाको विकास र यसको महत्वबारे चर्चा गरिएको छ, जसमा मार्क्सवादी समालोचनाको भूमिकालाई जोड दिइएको छ।
  • खेम थपलियाको कृति 'जनयुद्धका डायरी समालोचना' मा मनऋषि धितालका डायरीहरूको विवेचना गरिएको छ, जसले डायरी समालोचनालाई नयाँ विधाको रूपमा स्थापित गरेको छ।
  • कृतिमा जनयुद्धका डायरीहरूलाई ऐतिहासिक दस्ताबेजको रूपमा विश्लेषण गरिएको छ र यसले मार्क्सवादी दृष्टिकोणबाट वर्गसङ्घर्षको चित्रण गर्दछ।

कला, विचार, साहित्य अनि सौन्दर्यसम्बन्धी कृतिहरूको व्याख्या, विश्लेषण, मूल्याङ्कन गर्दै गुण र दोषको चर्चा गर्ने एक विशिष्ट विधाको रूपमा समालोचना विधाको स्थान उच्च छ । समालोचना शब्द संस्कृत भाषा हुँदै नेपाली भाषामा आएको हो, जसको व्युत्पत्तिगत अर्थ ‘सम्यक् प्रकारले सबैतिरबाट हेर्ने काम’ हुन्छ । नेपाली साहित्यमा अन्य विधाका तुलनामा समालोचनालाई नयाँ विधाका रूपमा लिने गरिएको पनि पाइन्छ । समालोचना विधाको विकास सिर्जनात्मक साहित्यको विकासपछि मात्र भएको हो । अहिले साहित्यिक बजारमा समालोचनाका अनेक बान्की पनि देखा परिरहेका छन् । 

साहित्यको परख गर्ने विधाका रूपमा साधारणतया समालोचना विधालाई लिने गरिए पनि आधुनिक समालोचनाले कृतिको वैचारिक पक्षको समेत खोजी, विषयको गहिराइ, सामाजिक प्रासङ्गिकताको खोजी, विश्व चेतना, वर्ग पक्षधरता, साहित्यिक स्तर र वस्तुनिष्ठता जस्ता कुरालाई ध्यान दिएर कृतिको मूल्याङ्कन गर्ने गरिन्छ । समालोचनामा कृति र कृतिकारको जीवन र व्यवहारबिचको तादात्म्यतालाई पनि यसैसित जोडेर हेर्न थालिएको छ । 

समालोचना भनेको कृति र कृतिकारको एकोहोरो गुणगान गर्ने विधा हुँदै होइन । यो समीक्षा र पुस्तक चर्चा मात्र गर्ने विधा पनि होइन । वास्तविक अर्थमा समालोचनाको क्षेत्र निकै फराकिलो र व्यापक रहेको छ । समालोचनाले कृतिको राम्रो र नराम्रो दुवै पक्षलाई केलाउँदै सम्यक् विचारलाई स्थापित गराउँछ । साहित्य, कला अनि सौन्दर्यको मूल्याङ्कन गर्ने क्रममै नै समालोचनाको विकास भएको हो । सामान्यतया साहित्यलाई समालोचनाले मात्र स्तरीय बनाउन मद्दत गर्छ भन्ने धारणा पनि रहँदै आएको छ ।

समालोचना क्षेत्रमा मार्क्सवादी समालोचनात्मक चेतले गर्विलो स्थान बनाएको छ । यस प्रकारको समालोचनाले व्यक्ति, परिवार, समाज, विचार, संस्कृति, राजनीति, साहित्य वा कुनै पनि सामाजिक व्यवहार वा वर्गीय कार्यलाई ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादको आधारमा, वर्गसम्बन्धको आधारमा, उत्पादन सम्बन्धको आधारमा र शक्ति संरचनाको आधारमा विश्लेषण गर्ने गर्दछ । यस प्रकारको साहित्यिक समालोचनाले कृति र सम्बन्धित विधालाई शोषणको पुनरुत्थान गर्न प्रयोग गरिएको छ कि चुनौती वा आलोचनात्मक चेतको रूपमा हेरिएको छ भन्ने कुरा पत्ता लगाउने काम पनि गर्छ । समालोचनाको क्षेत्रमा यो क्रान्तिकारी बौद्धिक एवम् प्राज्ञिक प्रक्रियाको महत्वपूर्ण सन्दर्भ पनि हो ।

कुनै पनि विचार, नैतिकता, कला वा सिद्धान्तलाई अलग्गै र अलौकिक वस्तु नमानी यो प्रक्रिया ऐतिहासिक परिस्थिति र उत्पादन सम्बन्धबाट जन्मिन्छ भन्ने बुझाइ मार्क्सवादी समालोचनाको क्षेत्रमा रहने गर्छ । यस्तै मान्यता राख्ने मार्क्सवादी वृत्तका स्थापित समालोचक हुन्, खेम थपलिया । उनको समालोचना कृति ‘जनयुद्धका डायरी समालोचना’ हालै बजारमा आएको छ । प्रस्तुत समालोचना कृतिमा डायरीकार मनऋषि धितालका आधा दर्जन बढी जनयुद्धका डायरीहरूको व्यापक विवेचना गरिएको छ । थपलियाको यो कृति प्रकाशनसँगै नेपाली समालोचना क्षेत्रमा नयाँ विधाको रूपमा डायरी समालोचना पनि थपिएको छ । अब यो बेग्लै विधा बनेको छ । यसमा थप खोज अनुसन्धान गर्न सकिने स्थिति पनि बनेको छ ।

डायरीकार मनऋषि धिताल पनि जनयुद्धका योद्धा, राजनीतिज्ञ, पत्रकार र लेखक हुन् । नेपालको वर्गसङ्घर्षमा उनको उम्दा योगदान रहेको कुरामा कुनै शङ्का छैन । समालोचक खेम थपलियाद्वारा लिखित यस समालोचना कृतिले मनऋषि धितालका सातवटा जनयुद्धका डायरीहरूको विस्तृत चर्चा गर्दै डायरी लेखनको महŒवलाई पनि स्पष्ट पारेको छ । प्रस्तुत समालोचनात्मक कृति ‘जनयुद्धका डायरी समालोचना’ ले मूलभूत रूपमा मार्क्सवादी समालोचनाको परिधानलाई व्यवस्थित रूपमा प्रविष्टि दिएको छ ।

प्रस्तुत समालोचनात्मक कृतिमा समालोचक खेम थपलियाले डायरीकार मनऋषि धितालका ऐतिहासिक महŒवका वैचारिक डायरीहरूलाई भावनात्मक डायरीको रूपमा मात्र नहेरी यसलाई सामन्ती–पुँजीवादी राज्य संरचनाविरुद्ध भएको वर्गसङ्घर्ष क्रममा आएका ऐतिहासिक सामग्रीका रूपमा व्याख्या गर्ने प्रयत्न गरेका छन् । जनयुद्धलाई केवल एउटा घटनाको रूपमा होइन, यसलाई एक ऐतिहासिक आवश्यकताको परिणामका रूपमा लिनु र तत्अनुरूप व्याख्या एवम् विश्लेषण गरिनु उपयुक्त हुन्छ । यही समालोचनात्मक भावधारामा प्रस्तुत समालोचना कृति उत्साहका साथ अगि बढेको छ । 

लेखक तथा पत्रकार मनऋषि धितालका जनयुद्धका डायरीहरू नेपाली जनयुद्धको भावनात्मक स्मृति मात्र नभई वर्गसङ्घर्षको ऐतिहासिक दस्ताबेज हुन्, जसलाई खेम थपलियाले मार्क्सवादी समालोचनात्मक दृष्टिबाट सशक्त रूपमा केस्र–केस्रामा उधिनेका छन् । समालोचक थपलियाले यसमा गम्भीरता र जिम्मेवारीबोधका साथ आफ्नो सम्यक् दृष्टि दिएका छन् । धितालका डायरीका विभिन्न शृङ्खलाहरू ‘जेलयात्रा’, ‘बेनीयात्रा’, ‘आधारयात्रा’, ‘राजमार्गयात्रा’, ‘पिलीयात्रा’, ‘गण्डकयात्रा’ र ‘गुफाप्रेसका चिठी’ हरूमा व्यक्तिगत अनुभूति हुँदै सामूहिक जनसङ्घर्षको ऐतिहासिक यात्रामा रूपान्तरित विशिष्ट अभिव्यक्ति पनि हुन् ।

तत्कालीन नेकपा (माओवादी) र नेपाल सरकारको वार्ता विफल भएपछि सर्वहारा वर्गका प्रतिनिधि सेना जनमुक्ति सेनामाथि गरिएको दमन, पत्रकारहरूको गिरफ्तारी, जेलभित्रै लेखिएका अनुभूतिहरू, जनताका बिच खुला र राज्यका बन्दमोर्चाका सङ्घर्ष, सहादत र बलिदानको चेतनात्मक प्रवाह जस्ता डायरीकार मनऋषि धितालका अनेकन् विषय र विविध सन्दर्भलाई खेम थपलियाले समालोचनात्मक दृष्टिबाट हेरेका छन् । ‘जनयुद्धका डायरी समालोचना’ मा बुर्जुवा राज्यसत्ताले दबाउन खोजेको जनइतिहास दबिएन, बरु त्यो ऐतिहासिक रूपमा जीवन्त रह्यो भन्ने तथ्यलाई नयाँ यथार्थपरक समालोचनात्मक ढङ्गले व्याख्या गरिएको छ, जुन विधिलाई मार्क्सवादी समालोचनाको विधि मान्न सकिन्छ । 

डायरीकार धितालका डायरीमा प्रस्तुत बेनी, कर्णाली, पश्चिमी तराई र केन्द्रीय आधार इलाकाहरू सर्वहारा वर्गको आधार इलाका थिए । प्रस्तुत समालोचनात्मक कृतिले डायरीकार धितालको डायरीलाई आधार बनाउँदै जनसत्ताको मनोदशा, जनयुद्धको क्रममा निर्माण भएको नयाँ संस्कृति र एक ढिक्का भएको वर्गीय नेतृत्वको सवाललाई मार्क्सवादी दर्शन अर्थात् ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणअनुसार अनिवार्य राजनीतिक रूपान्तरण प्रक्रिया थियो भन्ने कुरालाई स्पष्ट पारेको छ । 

डायरीकार धितालको डायरी क्रान्तिकारी अभ्यासको प्रत्यक्ष अभिलेख बनेको छ भने खेम थपलियाको समालोचना त्यस अभिलेखलाई वर्गदृष्टि, विचारधारात्मक सङ्घर्ष र जनपक्षीय इतिहास लेखनको स्पष्ट धरातल बुझाउने सैद्धान्तिक हस्तक्षेप बनेको छ । प्रस्तुत समालोचनात्मक कृति डायरी समालोचनालाई नेपाली साहित्यमा नयाँ, मौलिक र दीर्घकालीन समालोचना विधा बनाउने आधारको रूपमा उभिएको छ । समालोचनालाई हेर्ने दृष्टि, प्रक्रिया र डायरी समालोचनाको सैद्धान्तिक चर्चाले यसलाई थप पुष्टि गरेको छ, यो विचार र बहसको नयाँ यात्राको नयाँ तीव्रतामा रहेको छ ।

वास्तवमा साहित्यिक फाँटमा अवश्य पनि नयाँ पदावली हो, डायरी समालोचना । यसले समालोचनाको केन्द्रमा यस कृतिमार्फत सिद्धान्तको रूप ग्रहण गरेको छ । प्रस्तुत कृतिमा समालोचकले पनि एउटा फ्रेम बनाएका छन् । डायरी लेखकको प्रत्यक्ष अनुभव, समयको सापेक्षता र सङ्घर्षलाई केन्द्रमा राख्दै कृतिको विवेचना गरिने शैलीका रूपमा डायरी समालोचना उभिने स्थिति बनेको छ । डायरी जस्तो गम्भीर, वैचारिक र भावनात्मक लेखाइलाई आधार बनाउने समालोचनात्मक काम फुटकर रूपमा समेत भएको पाइँदैन । नेपाली समालोचना परम्परामा डायरीको व्यवस्थित अध्ययन परम्परा बनेको पनि देखिँदैन । यसैले यो समालोचना कृति नितान्त मौलिक छ किनकि यो दार्शनिक, सैद्धान्तिक र वैचारिकताको कसीमा उभिएको छ । 

प्रस्तुत समालोचना कृति मात्र प्रस्तुत विधाको निर्णायक कृति होइन, यस विधामा स्वयम् थपलियाले र अन्य रुचिकर्ताले यस क्षेत्रमा अझ व्यवस्थित रूपमा धेरै काम गर्न जरुरी छ । मनऋषिको जस्तै सबैका डायरीहरूले यस्तै जनपक्षीय वैचारिकी मूल्य बोकेका हुँदैनन् । कतिपय डायरीहरू डर, द्वन्द्व, असमञ्जस्यता र दुर्वल आत्मस्वीकृतिहरूलाई धेरै प्राथमिकता दिएर पनि लेखिएका हुन्छन् । निश्चय नै मार्क्सवादी समालोचकहरूले यस्ता कृतिमा ऐतिहासिक चेतना र वर्गीय यथार्थसँग गाँसेर हेर्नुपर्ने हुन्छ । यसरी मात्र आलोचना केवल मूल्याङ्कन होइन, विचार निर्माणको प्रक्रिया बन्छ । प्रश्नद्वारा विचार निर्माणको अध्याय सुरु गर्ने प्रयासका रूपमा थपलियाकृत प्रस्तुत कृति ‘जनयुद्धका डायरी समालोचनालाई लिन सकिन्छ ।     

विदितै छ कि नूतन विधाको महत्व चुनौतीपूर्ण एवम् दीर्घकालीन हुन्छ किनकि डायरी समालोचनाले केवल एउटा कृति वा एक कालखण्ड मात्र होइन; समय–समयमा लेखिएका डायरीहरूलाई इतिहास, राजनीति, मनोविज्ञान र साहित्यसँग जोडेर पुनःपठन गर्ने सम्भावना खोलिदिन्छ । यसले समाजसित निरन्तर अन्तरक्रिया गर्ने बाटो पनि खोल्दछ । यसले भविष्यमा आउने लेखक र समालोचकलाई व्यक्तिगत अनुभवबाट सामाजिक अर्थ निकाल्ने एउटा टिकाउ पद्धति दिन्छ । यही कारण डायरी समालोचनाको विधाको भविष्य उज्ज्वल छ । यसलाई बाँकी समालोचनाका पथिकहरूले समाए भने नेपाली साहित्यको समालोचनात्मक यात्रामा लामो समयसम्म रहने एउटा सशक्त समालोचनात्मक विधा डायरी समालोचना बन्नेछ । अन्त्यमा, जनयुद्धका डायरीका लागि मनऋषि धिताललाई मुरीमुरी धन्यवाद, जनयुद्धका डायरी समालोचनाका लागि खेम थपलियालाई अनन्त बधाई !    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रसुवाली कवि
रसुवाली कवि
लेखकबाट थप