बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी भिडन्त

बारा–३ : एमाले र कांग्रेसभित्र अन्तरकलह, फाइदा जसपा र नेकपालाई

रास्वपा चौथो हुने अन्य दलको दाबी
शनिबार, १७ माघ २०८२, २० : ४५
शनिबार, १७ माघ २०८२

सारांश

  • बारा-३ मा आगामी निर्वाचनका लागि एमाले र कांग्रेसले पूर्वमन्त्रीलाई उम्मेदवार बनाएका छन्, जसमा पार्टीभित्रै असन्तुष्टि देखिएको छ।
  • जसपाका रामबाबु यादव र रास्वपाका अरबिन्द साह लगायतका अन्य उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा छन्।
  • एमाले र जसपाबीचको प्रतिस्पर्धामा जितका लागि मतदाताको मत निर्णायक हुने देखिन्छ।

बारा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा–३ मा नेकपा एमाले र नेपाली कांग्रेसले पूर्वमन्त्रीलाई उम्मेदवार बनाएका छन् ।

सो निर्वाचन क्षेत्रमा कांग्रेसबाट ७१ वर्षीय ज्येष्ठ नागरिक फरमुल्ला मन्सुर र एमालेबाट निवर्तमान संघीय सांसद ज्वालाकुमारी साह उम्मेदवार छन् । मन्सुर कांग्रेसका सहमहामन्त्री तथा गगन थापा समूहका हुन् भने साह एमाले अध्यक्ष केपी शर्मा ओलीका निकटस्थ पात्र हुन् । केन्द्रीय पार्टी पङ्क्तिमा पहुँच भएका यी दुवै नेताहरूको जिल्ला तहमा भने पार्टीभित्र ठुलो अन्तरकलह छ ।

कांग्रेसभित्र २०४८ सालदेखि यहाँबाट निरन्तर मन्सुरले टिकट पाउँदै आएका छन् । यसपटक पनि अन्तिम समयमा उनले टिकट ल्याएपछि संस्थापन देउवा समूहका बारा जिल्ला सभापति राजेश राय यादवसहितको नेतृत्व चुनावी अभियानमै सहभागी छैन ।

स्थलगत रिपोर्टिङका क्रममा मनोनयन दर्तादेखि माघ १५ सम्म भएको बारा–३ को कांग्रेसको घरदैलो कार्यक्रममा कुनै पनि स्थानमा गगन पक्ष सहभागी देखिँदैन ।

यता एमालेभित्रको कलह भने झनै ठुलो छ । क्षेत्रीय भेलाले बारा–३ को उम्मेदवारका रूपमा जिल्ला अध्यक्ष अध्ययानन्द पाण्डेलाई पहिलो नम्बरमा सिफारिस गरेको थियो, तर ज्वालाकुमारी साहले माथिबाट टिकट ल्याएपछि जिल्लास्तरका नेता तथा कार्यकर्ताहरूमा उत्साह घटेको छ ।

bara-3chunabaa

एमाले प्रदेश कमिटी सदस्य किशोर शर्माले पार्टीभित्र चरम असन्तुष्टि रहेको बताएका छन् । उनले क्षेत्रीय भेलाले अस्वीकार गरेको व्यक्तिले माथिबाट टिकट ल्याउनु गलत भएको टिप्पणी गरे । ‘अहिले उहाँसँग चुनावी अभियानमा कोही कार्यकर्ता सँगै हिँडेका छैनन्,’ प्रदेश कमिटी सदस्य शर्माले भने, ‘माथिबाट टिकट ल्याएर मात्रै हुन्छ र ? निर्वाचन क्षेत्रमा जनाधार पनि हुनुपर्छ ।’

मनोनयन दर्ता अघिसम्म साहलाई राष्ट्रिय सभामा पठाउने र क्षेत्र नं ३ मा जिल्ला अध्यक्ष पाण्डेलाई उम्मेदवार बनाउने आन्तरिक तयारी थियो, तर साहले राष्ट्रिय सभामा जान अस्वीकार गरेर निर्वाचन क्षेत्र नछोड्ने अडान लिएपछि समस्या भएको शर्माको भनाइ छ ।

‘यो वर्ष घर जलेर धेरै नोक्सान भएकोले उहाँ राष्ट्रिय सभामा गएको भए घरमै बसीबसी तलबभत्ता पाउनुहुन्थ्यो, मन्त्री पनि भइहाल्नुहुन्थ्यो,’ शर्माले भने, ‘फेरि चुनाव लड्न आउनुभयो तर यसपटक जनस्तरमा कार्यकर्ता नै उहाँसँग खुसी छैनन् ।’

बारा–३ मा ३८ वटा वडाहरू पर्दछन्, जसमा कलैया उपमहानगरका २७ वडामध्ये २६ वटा, जीतपुरसिमराका ८ वटा र फेटा गाउँपालिकाका ४ वटा वडा समावेश छन् ।

यो निर्वाचन क्षेत्रको प्रदेशतर्फ ‘१’ र ‘२’ दुवै प्रदेशसभा सदस्य एमालेबाट छन् भने कलैया उपमहानगर पनि एमालेको नेतृत्वमा छ । साङ्गठानिक रूपमा पार्टी बलियो भए पनि आन्तरिक अन्तरविरोधका कारण कलैया उपमहानगर प्रमुख विनोद साह पनि चुनावी कार्यक्रममा सार्वजनिक रूपमा देखिएका छैनन् ।

एमाले बारा जिल्ला अध्यक्ष पाण्डेले देशको अवस्था हेरेर पार्टीलाई जिताउनुपर्ने बाध्यताका कारण विवादलाई सुल्झाएर जनस्तरबाट उठ्दै जाने बताएका छन् ।

‘यसपटक निर्वाचन जित्न पहिलाजस्तो सजिलो छैन, कडा प्रतिस्पर्धा हुने देखिन्छ । तैपनि हाम्रो जनाधार कमजोर छैन,’ अध्यक्ष पाण्डेले भने, ‘बारा क्षेत्र नं ३ हाम्रो सबैभन्दा राम्रो क्षेत्र हो । यहाँ दुई जना प्रदेशसभा सदस्य, कलैया उपमहानगर प्रमुख हाम्रै पार्टीका छन् ।’

निवर्तमान संघीय सांसद साहलाई मानवत–मटिअर्वा सडकखण्डअन्तर्गत ३ किलोमिटर सडक वर्षौंदेखि अलपत्र पारेको र योजनामा कमिसन मागेको आरोप छ ।

२०७९ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमाले बारा–३ का इन्चार्जका रूपमा खटिएका राधेश्याम शिवाकोटी एमालेलाई चुनाव जित्न विगतमा जस्तो सजिलो नभएको बताउँछन् ।

‘एमालेभित्र साहलाई मन नपराउने ठुलो पङ्क्ति भए पनि यस्तो अवस्थामा पार्टी हार्नुहुन्न भन्ने धारणा पनि छ,’ शिवाकोटीले भने, ‘अहिले कांग्रेसभित्र संस्थापन र नयाँ नेतृत्वबिचको अन्तरकलहको फाइदा उठाउन सक्यो भने एमालेले चुनाव जित्न सक्छ ।’

एमालेले आफ्नो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस भएको जनाएको छ । चुनावी प्रतिस्पर्धामा तेस्रो स्थानमा जसपा र नेकपा रहेको र चौथो रास्वपा रहेको शिवाकोटीको भनाइ छ ।

बारा क्षेत्र नं ३ को उत्तरी भेगमा रास्वपा र दक्षिणी भेगमा ‘हर्न’ चुनाव चिह्न भएको जनमत पार्टीले केही भोट काट्ने एमालेका नेताहरूको विश्लेषण छ ।

farmulla-mansur

एमाले उम्मेदवार साहले संसदीय कोषको बजेट रोकिँदा जनताले चाहेजस्तो काम गर्न नपाएको बताएकी छिन् । ‘अहिलेको लडाइँ सत्य र असत्यको बिचमा छ, हामी अग्निपरीक्षामा छौँ,’ साहले रातोपाटीसँगको कुराकानीमा भनिन्, ‘बाहिर देखिएजस्तो पार्टीभित्र अन्तरकलह छैन, सबै साथीहरू एकाकार भएर लाग्नुभएको छ ।’

रामबाबु यादव पनि प्रतिस्पर्धामा अगाडि

कुनै बेला मधेस प्रदेशको सबैभन्दा ठुलो पार्टी रहेको जनता समाजवादी पार्टी पछिल्लो समय छिन्नभिन्न भइसकेको छ ।

पार्टी टुटफुटको अवस्थामा पुगे पनि जसपा मधेस प्रदेशका पूर्वअध्यक्ष रामबाबु प्रसाद यादव पार्टीभित्र निरन्तर लागिरहने इमानदार नेतामा पर्छन् । उनी यसपटक बारा–३ का उम्मेदवार छन् । यादव २०७४ मा बारा–३ का संघीय सांसद हुन् । अन्य उम्मेदवारको तुलनामा यादवको उत्तरदेखि दक्षिणी भेगसम्म राम्रो प्रभाव रहेको मतदाताहरूको बुझाइ छ ।

कानुनी रूपमा मुद्दा खेपेर टाँगियाबस्तीमा विद्युतीकरण गरेको, बर्डहर्वा पुल सञ्चालनमा ल्याएको लगायतका कारण उनीमाथि मतदाताहरू सकारात्मक देखिन्छन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ यो क्षेत्रमा एमालेपछिको दोस्रो मत जसपाले ल्याएको थियो । 

bara-3-chunab

जीतपुरसिमरा–१८ का हिरालाल सहनी जसपाभित्रका केन्द्रीय नेताहरू खराब भए पनि जिल्लाको सापेक्षमा अन्यभन्दा विकासप्रेमी भएको दाबी गर्छन् ।

‘बिना लोभको त आजसम्म कुनै नेताले केही गरेको छैन, तर रामबाबुले टाँगियाबस्तीमा बिजुली बालेर देखायो, वर्षौंसम्म बन्द रहेको पुल चलायो,’ बारा–३ का मतदातासमेत रहेका सहनीले भने, ‘हाम्रो ३ नं क्षेत्रमा मुख्य प्रतिस्पर्धी जसपा र एमाले हो, कांग्रेस तेस्रो छ ।’

कलैया उपमहानगर २४ सखुईका द्वारिका प्रसाद यादवले बारा–३ मा ४०/४० प्रतिशत मत एमाले र जसपाको भएकोले बाँकी २० प्रतिशत भोट जसले तान्न सक्छ, उसैले जित्ने बताउँछन् । ‘दुई जनाले २० प्रतिशत भोट किन्नैपर्छ, जसले किन्न सक्यो उसैले जित्यो,’ यादवले भने ।

बारा–३ मा १ लाख १३ हजार ५२१ जना मतदाता छन् । यसअघिको निर्वाचनमा यो क्षेत्रमा करिब ७० प्रतिशत मत खसेको थियो ।

उम्मेदवार यादवले संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख बनाउने, प्रदेशलाई स्वायत्त र अधिकारसम्पन्न बनाउने आफ्नो मुख्य चुनावी एजेन्डा भएको बताएका छन् ।

‘प्रदेशहरूलाई स्वायत्त र आत्मनिर्णयको अधिकार दिनुपर्छ, काम गर्ने वातावरण र कानुन दिनुपर्छ,’ उम्मेदवार यादवले भने, ‘केन्द्रले आफैँ राखेका अधिकारहरू जबसम्म प्रदेशलाई दिँदैन तबसम्म संघीयताको प्रतिफल जनताले पाउँदैनन् ।’

यादवले संघीय सरकारले ८ वर्षमा प्रदेश सरकारप्रति वितृष्णा फैलाउने काम गरेको आरोप लगाएका छन् । ‘जेनजी’ आन्दोलनपछि चर्चामा आएको रास्वपाको विषयमा उम्मेदवार यादवले सामाजिक सञ्जालमा हल्ला गरेजस्तो जनाधार नभएको बताए । उनले रास्वपाले व्यवसायी र उच्च घरानाहरूसँग ठुलो रकम लिएर टिकट बिक्री गरेको आरोप लगाएका छन् ।

शिक्षकबाट राजनीतिमा

नेपाली कम्युनिस्ट पार्टीले बारा–३ मा शिक्षक पेसाबाट अवकाश पाएका भरत साहलाई उम्मेदवार बनाएको छ । एमालेबाट नेकपा प्रवेश गरेर उम्मेदवारी दिएका साह ठुला दललाई जनताले हेरिसकेकाले यसपटक मतदाताले आफूलाई माया गर्ने बताउँछन् ।

‘शिक्षक पेसामा हुँदा मैले जनताको धेरै सेवा गरेको छु, ठाउँठाउँमा विद्यालय भवनहरू बनाउन मेरो अहम भूमिका छ,’ साहले भने, ‘ज्वालाजी, फरमुल्ला, रामबाबु, प्रमोदजी योभन्दा अगाडि निर्वाचित भइसकेकाले यसपटक नयाँलाई अवसर दिनुहुन्छ भन्ने मलाई लाग्छ ।’

साहले निवर्तमान संघीय सांसद ज्वालाकुमारी साहले ३ किलोमिटर कलैया सडकखण्ड बनाउन नसकेको र उनीप्रति जनताहरूको धेरै गुनासो भएको टिप्पणी गरेका छन् ।

बारा–३ मा यादव, साह, मुस्लिम समुदायको बाहुल्य छ । 

bara-3-chunab-4

जनताको परिवर्तनमा म अब्बल छु – रास्वपा उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टीले बारा–३ मा अरबिन्द साहलाई उम्मेदवार बनाएको छ । कलैया जन्मथलो भए पनि काठमाडौँ निवासी साह ‘खल्ती एप्स’ (अनलाइन भुक्तानी प्रणाली) का कार्यकारी निर्देशक हुन् । बारा–३ मा चन्दन सर्राफलाई उम्मेदवार बनाउने तय भए पनि अन्तिम समयमा साहले टिकट पाएका हुन् ।

रास्वपा उम्मेदवार साहले यसपटकको निर्वाचन ‘पुराना उम्मेदवार भर्सेस नयाँ’ भएको दाबी गरेका छन् । ‘उहाँहरूले जितेर राम्रो काम गरेको भए प्रतिस्पर्धा हुन्थ्यो होला, तर काम नगरेको भएर अहिले ‘पुराना भर्सेस नयाँ’ को प्रतिस्पर्धा छ, पुरानो प्रोफाइल केही काम लाग्दैन,’ साहले भने, ‘जनताले आफ्नो विवेकपूर्ण निर्णय गरिसकेका छन् ।’

bara-3ghanti

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप