निर्वाचन लक्षित गर्दै वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना
सारांश
- वाईसीएल नेपालले निर्वाचनलाई ध्यानमा राख्दै अर्धसैन्य संरचना ब्युँताउने निर्णय गरेको छ।
- संगठनले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता र उम्मेदवारको सुरक्षाका लागि विशेष सुरक्षा दस्ता परिचालन गर्नेछ।
- वाईसीएलले चुनावमा अवरोध रोक्न र माहोल बनाउन 'एक बुथ, सय युथ' अवधारणाअनुसार युवा परिचालन गर्ने तयारी गरेको छ।
काठमाडौँ । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै आफ्नो अर्धसैन्य संरचनालाई पुनः ब्युँताउने निर्णय गरेको छ। भर्चुअल माध्यमबाट बसेको संगठनको केन्द्रीय समिति बैठकले देशभरका सबै निर्वाचन क्षेत्रमा विशेष सुरक्षा दस्ता परिचालन गर्ने गरी यस्तो रणनीति तय गरेको हो।
वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता र उम्मेदवारको सुरक्षाका लागि 'स्पेसल टास्क फोर्स' (एसटीएफ) लाई क्याम्पिङ गरेर राखिनेछ। निर्वाचनका क्रममा हुन सक्ने अवरोध रोक्न र आफ्नो पक्षमा माहोल बनाउन संगठनले 'एक बुथ, सय युथ' को अवधारणा अनुसार युवाहरूलाई परिचालन गर्ने तयारी गरेको छ। सम्बन्धित मतदान क्षेत्रकै युवालाई त्यहीँको जिम्मेवारी दिइने र सामाजिक सञ्जालको समेत अधिकतम प्रयोग गरिने अध्यक्ष ओलीले जानकारी दिए।
बैठकले अन्तरपार्टी युवा, विद्यार्थी र 'जेनजी' युवाहरूसँग समन्वय गर्न छुट्टै संयन्त्र बनाउने तथा सबै प्रदेशहरूमा एकता प्रक्रियाबाट आएका संगठनका नेताहरू सम्मिलित कमाण्ड सेन्टर निर्माण गर्ने निर्णय समेत गरेको छ।
बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र फ्याक्सन इन्चार्ज दीपशिखाले चुनावलाई आफ्नो पक्षमा पार्न र सफल बनाउन युवाहरूलाई विशेष भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण