बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भारतमा सर्पदंशका कारण हरेक वर्ष ५० हजार मानिसको मृत्यु

सोमबार, १९ माघ २०८२, ०८ : ५९
सोमबार, १९ माघ २०८२

सारांश

  • भारतमा सर्पदंशका कारण प्रत्येक वर्ष करिब ५० हजार मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ।
  • सर्वेक्षण अनुसार, स्वास्थ्यकर्मीहरूले एन्टिभेनम लगाउन कठिनाइ भोग्नुपरेको छ, जसको कारण पूर्वाधार, औषधि र तालिमको कमी हो।
  • विश्व स्वास्थ्य संगठनले सर्पदंशलाई उच्च प्राथमिकता प्राप्त उपेक्षित उष्णकटिबन्धीय रोग घोषणा गरेको छ, र भारतले सन् २०३० सम्म मृत्यु आधा घटाउने लक्ष्य लिएको छ।

नयाँ दिल्ली । भारतमा सर्पदंशका कारण हरेक वर्ष करिब ५० हजार मानिसको मृत्यु हुने गरेको सङ्घीय सरकारको तथ्याङ्कले देखाएको छ । यो विश्वभर सर्पदंशबाट हुने मृत्युमध्ये झण्डै आधा हो । केही अध्ययनहरूले त सन् २०००–२०१९ बिच भारतमा करिब १२ लाख मानिसको मृत्यु भएको अनुमान गरेका छन् ।

ग्लोबल स्नेकबाइट टास्कफोर्सको नयाँ प्रतिवेदनले भारतका ९९ प्रतिशत स्वास्थ्यकर्मीले एन्टिभेनम लगाउन कठिनाइ भोगिरहेको जनाएको छ । सर्वेक्षणमा खराब पूर्वाधार, औषधिको अभाव र पर्याप्त तालिम नहुनुलाई मुख्य समस्या देखाइएको छ । उपचारमा ढिलाइ हुँदा धेरै बिरामीको अङ्ग काट्नुपर्ने, शल्यक्रिया गर्नुपर्ने वा आजीवन अपाङ्गता भोग्नुपर्ने अवस्था आएको छ ।

विश्व स्वास्थ्य संगठनले सर्पदंशलाई उच्च प्राथमिकता प्राप्त उपेक्षित उष्णकटिबन्धीय रोग घोषणा गरेको छ । विश्वभर बर्सेनि झन्डै ५४ लाख मानिस सर्पदंशको सिकार हुन्छन् । यसका कारण मृत्यु हुनेको सङ्ख्या १ लाखभन्दा बढी छ ।

भारतमा मध्य र पूर्वी क्षेत्रमा जोखिम बढी रहेको र किसान तथा गरिब आदिवासी समुदाय सबैभन्दा प्रभावित रहेको प्रतिवेदनले बताएको छ । सन् २०२४ मा भारतले सर्पदंशबाट हुने मृत्युलाई सन् २०३० सम्म आधा घटाउने लक्ष्यसहित राष्ट्रिय कार्ययोजना सुरु गरे पनि कार्यान्वयन असमान रहेको विज्ञहरूको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप