कैलाली–५ मा कांग्रेसलाई कलहको डर, अन्य दल पनि छैनन् ढुक्क
सारांश
- कैलाली-५ मा प्रतिनिधि सभा निर्वाचनका लागि दल र उम्मेदवार आन्तरिक रणनीति बनाउँदै मतदाता भेटघाटमा व्यस्त छन्।
- २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारले जितेका कारण यस क्षेत्रको नतिजामा चासो बढेको छ।
- कांग्रेस भित्रको गुटबन्दी र स्वतन्त्र उम्मेदवारको प्रभावका कारण यस क्षेत्रमा प्रतिस्पर्धा रोचक हुने सम्भावना छ।
धनगढी । प्रतिनिधि सभा अन्तर्गत हुन लागेको निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरू आन्तरिक रणनीति बनाउन व्यस्त छन् । कतिपय उम्मेदवार अहिले मतदाताको घरदैलोमा पुगेर भेटघाट गर्ने, आफ्ना कुरा राख्ने काममा समेत सक्रिय देखिएका छन् ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा पनि स्वाभाविक रूपमा चहलपहल बढेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबिच नै प्रायः यो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा हुँदै आएको थियो । यद्यपि, २०७९ को स्थानीय तह निर्वाचनमा यही निर्वाचन क्षेत्रको अधिकांश भूगोल रहेको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल नेपाली कांग्रेस र नेकपा एमाले लगायतका ठुला दललाई पाखा लगाउँदै नगर प्रमुख पदमा निर्वाचित भए ।
एक लाख १० हजार ५३९ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिकाको १ देखि १९ नम्बर वडासम्म अर्थात् सिङ्गो उपमहानगरपालिका र कैलारी गाउँपालिकाको ६ र ९ नम्बर वडा पर्दछ ।
स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारलाई मतदाताले जिताएका कारण कैलाली–५ मा आसन्न प्रतिनिधि सभा निर्वाचनमा कस्तो नतिजा आउँछ भन्नेमा सर्वत्र चासो छ ।
यस क्षेत्रमा नेकपा एमालेले यज्ञराज ढुंगाना उपाध्याय, नेपाली कांग्रेसले नर नारायण शाह, नेपाली कम्युनिस्ट पार्टीले प्रेमबहादुर आले, राष्ट्रिय स्वतन्त्र पार्टीले आनन्दबहादुर चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीले रोशन शाहीलाई उम्मेदवार बनाएका छन् । यस्तै, जनमत पार्टीले धनबहादुर चौधरी, नेपाल मजदुर किसान पार्टीले तृषण पुन मगर, राष्ट्रिय जनमोर्चाले शोभामणी पाठक, मितेरी पार्टी नेपालले राधिका कुमारी कार्की, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले बबरजंग बहादुर सिंह, उज्यालो नेपाल पार्टीले चन्द्र साउद, नागरिक उन्मुक्ति पार्टी नेपालले जगन्नाथ चौधरी र आम जनता पार्टीले देवसिंह बिष्टलाई उम्मेदवार बनाएको छ । यहाँ प्यारेलाल राना र इश्वरी विष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएका ६१ वर्षीय राना पूर्वसंविधान सभा सदस्य हुन् । लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका, महासमिति सदस्यका साथै कैलाली जिल्लामा दुई पटक सचिवको जिम्मेवारी सम्हालेका उनको उम्मेदवारीले कांग्रेसकै असन्तुष्ट पक्षको मत तान्ने आकलन गरिएको छ ।
कांग्रेसभित्रको चरम गुटबन्दी र बेथितिबाट असन्तुष्ट हुँदै २०८२ वैशाखमा पार्टी परित्याग गरेका रानाको उम्मेदवारीले कांग्रेसको परम्परागत मतमा ठुलो विभाजन ल्याउन सक्ने चर्चा स्थानीयस्तरमा चलिरहेको छ । कांग्रेसमा विशेष महाधिवेशन पक्षधर र यसअघिको संस्थापन पक्ष भनेर एक प्रकारले विभाजन रेखा कोरिएको कार्यकर्ताहरूको भनाइ छ । कांग्रेसभित्र देखिएको यही कलहको फाइदा रानाले उठाउन सक्ने कतिपयको अनुमान छ ।
धनगढी–१७ पथरीका स्थायी बासिन्दा रानाको व्यक्तिगत छवि समाजसेवी र शिक्षाप्रेमीका रूपमा स्थापित छ । रानालाई जातीय मतसमेत आउने आकलन गरिएको छ । उनी थारु र रानाथारु समुदायका प्रतिष्ठित अगुवा हुन् । कैलाली–५ मा थारु र रानाथारु समुदायको मत निर्णायक मानिन्छ । धनगढीमा करिब ४० प्रतिशत र कैलारीका दुई वडामा ९७ प्रतिशत थारु समुदायको बसोबास छ ।
२०७९ सालको संसदीय निर्वाचनमा गठबन्धनको बलमा चुनाव जितेको नेपाली कांग्रेस यसपटक एक्लै मैदानमा छ । २०७९ मा कांग्रेसका डिल्लीराज पन्तले २० हजार ३९२ मत ल्याएर जितेका थिए भने समानुपातिकमा कांग्रेसले १५ हजार ६१७ मत पाएको थियो ।
यसपटक कांग्रेसबाट उम्मेदवार बनेका शाहले युवा पलायन रोक्ने र रोजगारी सिर्जना गर्ने एजेन्डासहित घरदैलो तीव्र पारेका छन्, तर पार्टीभित्रको असन्तुष्टि र स्वतन्त्र उम्मेदवारको प्रभाव उनका लागि चुनौती बन्न सक्छ ।
अर्काेतर्फ, नेकपा एमाले पनि आफ्नो साख फर्काउने दाउमा छ । २०७९ मा एमालेका नारदमुनि राना २० हजार ३१८ मत ल्याएर झिनो अन्तरले पराजित भएका थिए । यसपटक एमालेबाट उम्मेदवार बनेका ढुंगानाले सुशासन र भ्रष्टाचार नियन्त्रणलाई मुख्य मुद्दा बनाएका छन् । २०७९ को समानुपातिकमा एमालेले यहाँ १४ हजार ३२१ मत ल्याएको थियो । एमाले पनि यसपटक एक्लै चुनावी मैदानमा होमिएको छ ।
यही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका नेकपाका प्रेम आलेलाई स्थानीयले ‘टुरिस्ट’ उम्मेदवारका रूपमा लिएका छन् । यद्यपि आलोले धनगढीमा आफ्नो ठुलो लगानी रहेको र घरसमेत रहेको भन्दै उक्त आरोपको खण्डन गरेका छन् । आक्रामक शैली र एक्सन मन्त्रीको छवि बनाइसकेका आलेले धनगढी विमानस्थलको स्तरोन्नति र गेटा मेडिकल कलेज सञ्चालनको पहललाई मुख्य एजेन्डा बनाएका छन् ।
२०७९ को निर्वाचनमा माओवादी र समाजवादीको समानुपातिक मत जोड्दा करिब ६ हजार ५०० को हाराहारीमा देखिन्छ, तर आलेले आफ्नो व्यक्तिगत प्रभावले नतिजा उल्टाउने दाबी गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका चन्द धनगढी–८ का बासिन्दा हुन् । रास्वपाको पक्षमा उर्लिएको लहर र धनगढीकै स्थानीय भएका कारण पनि उनलाई केही सहज छ । उनले शिक्षा र जनस्वास्थ्यका अभियन्ताका रूपमा यसअघि आफूलाई स्थापित गराइसकेका छन् ।
त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष उपप्राध्यापकका रूपमा सेवा गरेका र अमेरिकाबाट पीएचडी गरेका चन्द ‘बौद्धिक उम्मेदवार’ का रूपमा चिनिन्छन् । सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानमा अन्तर्राष्ट्रियस्तरमै काम गरेका चन्दले सुशासन, शिक्षा र विज्ञानलाई मुख्य एजेन्डा बनाएका छन् ।
२०७९ मा रास्वपाले यहाँ समानुपातिकमा ४ हजार ४५५ मत ल्याएको थियो । नयाँ र वैकल्पिक राजनीतिक शक्तिको बढ्दो क्रेजका कारण यो मतमा भारी वृद्धि हुने चन्दको दाबी छ ।
यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता रोशन शाहीको लोकप्रियता पनि राम्रो छ । २०७९ मा राप्रपाले यहाँ ६ हजार ९४७ मत प्राप्त गरेको थियो, जुन माओवादी र समाजवादीको भन्दा बढी हो । युवा उम्मेदवार भएकाले शाहीले पनि राम्रो मत तान्न सक्ने देखिन्छ । अन्य साना दल पनि यस क्षेत्रमा आफ्नो प्रभाव बढाउन कम्मर कसेर लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण