रामेछापमा त्रिकोणात्मक भिडन्त : ३४ वर्षको विरासत जोगाउन संघर्षरत पुराना दल
सारांश
- रामेछापमा आगामी निर्वाचनका लागि चुनावी माहोल तातिएको छ, जसमा १७ जनाको उम्मेदवारी परेको छ।
- एमाले, कांग्रेस र नेकपाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ, जहाँ पुराना दलहरू आफ्नो विरासत फर्काउने दाउमा छन्।
- नयाँ मतदाता र युवा पुस्ताको मनोविज्ञानले चुनावी नतिजामा प्रभाव पार्ने देखिएको छ, जसले परम्परागत राजनीतिको धार मोड्न सक्छ।
काठमाडौँ । तामाकोशी र सुनकोशीको काखमा लुटपुटिएको रामेछापमा चुनावी माहौल गर्माएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनले रामेछापका गाउँबस्तीसम्म चुनावी रौनक छाएको छ ।
३४ वर्षको चुनावी इतिहास बोकेको यो जिल्ला कुनै पनि दलका लागि सुरक्षित किल्लाभित्र पर्दैन । रामेछापमा २०४८ पछि भएका निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रले पालैपालो जितिरहेका छन् ।
बहुदल आएपछि भएको पहिलो आम निर्वाचनदेखि २०७९ मा भएको निर्वाचनसम्म पुराना तीन दलको यहाँ वर्चस्व छ, यसले रामेछापमा सुरुदेखि नै वामपन्थी कम्युनिस्ट र प्रजातान्त्रिक शक्तिको सन्तुलन रहेको देखाउँछ ।
संविधान बन्नुअघिसम्म दुई वटा निर्वाचन क्षेत्र रहेको रामेछाप २०७२ मा संविधान बनेसँगै एउटा मात्रै निर्वाचन क्षेत्रमा खुम्चिएको छ । संविधान बनेपछि पनि दुईवटा निर्वाचन भइसकेका छन् । उक्त दुई निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले जितेका थिए ।
तर आगामी फागुन २१ गते हुने निर्वाचन रामेछापका लागि केवल एक सिटका लागि हुने प्रतिस्पर्धा होइन, यो तीन दशकदेखि आलोपालो शासन गरिरहेका पुराना दलहरूको साख जोगाउने र उदाउँदै गरेका शक्तिहरूको अस्तित्व स्थापित गर्ने अग्नि परीक्षाका रूपमा हेरिएको छ ।
रामेछापमा यसपटक १ लाख ८७ हजार ९ सय ५२ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन् । २०७९ को निर्वाचनको तुलनामा थपिएका ७ हजार ८ सय ४६ नयाँ मतदाता नै यसपटकको निर्वाचनका निर्णायक शक्ति बन्ने देखिन्छन् । विशेषगरी २० देखि २५ वर्ष उमेर समूहका यी युवा मतदाताको मनोविज्ञानले परम्परागत राजनीतिको धारलाई मोड्न सक्ने अनुमान गरिएको छ ।
आगामी निर्वाचनमा रामेछापको एक सिटका लागि १७ जनाको उम्मेदवारी परेको छ ।
रामेछापको चुनावी इतिहास अन्यतिरको भन्दा फरक छ । जहाँ कुनै पनि दलले कहिल्यै स्थायी गढ बनाउन सकेनन् । हरेक निर्वाचनमा फरक–फरक राजनीतिक दलबाट सांसद निर्वाचित हुने गरेका छन् ।
बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछिको ३४ वर्षे इतिहास हेर्दा रामेछापमा कम्युनिस्ट र कांग्रेसबिचको रोचक लुकामारी देखिन्छ ।
२०४८ सालमा रामेछापमा दुई निर्वाचन क्षेत्र थिए ।
बहुदलीय व्यवस्था पुनस्र्थापनापछि भएको २०४८ सालको पहिलो निर्वाचनमा कांग्रेसले जित निकालेको थियो । रामेछापको तत्कालीन क्षेत्र नं. १ मा कांग्रेसका लक्ष्मणप्रसाद घिमिरेले विजय हासिल गरेका थिए ।
तर त्योबेला क्षेत्र नं. २ मा भने संयुक्त जनमोर्चाका कमलप्रसाद चौलागाईं विजयी भएका थिए । त्यस्तै २०५१ को मध्यावधि निर्वाचन रामेछापको इतिहासमै सबैभन्दा ‘थ्रिलर’ सावित भएको थियो । क्षेत्र नं. १ मा एमालेका देवशंकर पौडेलले कांग्रेसका घिमिरेलाई ११ मतान्तरले पराजित गरेका थिए । क्षेत्र नम्बर २ मा भने कांग्रेसका पद्मशंकर अधिकारी निर्वाचित भएका थिए ।
त्यस्तै २०५६ मा भएको निर्वाचनमा क्षेत्र नम्बर १ मा एमालेले विरासत कायम राख्दै पुनः पासा पल्टायो, जसमा एमालेका कमलप्रकाश सुनुवारले जित्दा २ मा कांग्रेसका रामहरि ढुंगेल विजयी भए ।
त्यस्तै दोस्रो जनआन्दोलनपछि भएको २०६४ को पहिलो संविधानसभा निर्वाचनमा रामेछाप पूरै ‘लालकिल्ला’ बन्यो । माओवादीका तारानारायण श्रेष्ठ र डिल्लीमान तामाङले दुवै क्षेत्रमा जिते । तर २०७० मा आउँदा मतदाताले फेरि सन्तुलन मिलाए, क्षेत्र नं. १ मा कांग्रेसका आङतावा शेर्पा र २ मा माओवादीका श्यामकुमार श्रेष्ठलाई विजयी गराए ।
२०७२ को संविधानपछि जिल्ला एउटै निर्वाचन क्षेत्र बन्यो । संविधान बनेपछि भएको २०७४ को निर्वाचनमा वाम गठबन्धनको लहरमा श्यामकुमार श्रेष्ठले बाजी मारे ।
२०७९ को पछिल्लो निर्वाचनमा भने पाँचदलीय गठबन्धनको सहारामा कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) ले भारी मतान्तरले विजय हासिल गर्दै रामेछापमा कांग्रेसको बिउ जगाउन सफल भए ।
यसरी अहिलेसम्म भएका निर्वाचनमा रामेछापमा एउटै दलले तेस्रो पटक निर्वाचन जितेको देखिँदैन । तर यसरी ३४ वर्षयताको चुनावी नतिजा हेर्दा रामेछापमा कम्युनिस्ट पार्टीकै ज्यादा प्रभाव भने देखिन्छ ।
- त्रिकोणात्मक भिडन्तः एमाले विरासत फर्काउने दाउमा
फागुन २१ का लागि रामेछापमा १७ जनाले उम्मेदवारी दर्ता गराए पनि मुख्य प्रतिस्पर्धा त्रिकोणात्मक हुने देखिन्छन् । यसमा एमाले, कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरू मुख्य दाबेदारका रूपमा हेरिएको छ । आगामी निर्वाचनमा पुराना दलहरू आफ्नो गर्विलो विरासत फर्काउने दाउमा छन् ।
मतका हिसाबले यो निर्वाचन क्षेत्र एमालेकै प्रभाव क्षेत्रका रूपमा परिचित देखिन्छ । आसन्न निर्वाचनमा दलहरूबिच गठबन्धनसमेत नरहेकाले परम्परागत दलहरू एक्लै चुनावी मैदानमा छन् ।
यसले पनि रामेछापमा यो निर्वाचन राजनीतिक दलको शक्ति परीक्षण हुने देखिएको छ । तर पछिल्लो बदलिँदो राजनीतिक अवस्थाले प्रभाव पार्ने भने देखिएको छ । नयाँ राजनीतिक शक्तिका रूपमा रहेका उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
- एमालेका माधव ढुंगेल : युवा जोस र सङ्गठनात्मक आधार
नेकपा एमालेले यसपटक नयाँ अनुहारका रूपमा माधवप्रसाद ढुंगेललाई अघि सारेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का पूर्वअध्यक्ष र राष्ट्रिय युवा परिषद्मा दुई कार्यकाल सफल नेतृत्व गरेका ढुंगेलका लागि यो पहिलो संसदीय निर्वाचन हो । जेनजी आन्दोलनपछि भएको एमालेको ११ औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्यसमेत भएका छन् ।
उनले यसअघि एमाले संगठन विभागको सचिवको समेत जिम्मेवारी लिएर पार्टी काम गरिसकेका छन् । ढुंगेल एमालेका युवा उम्मेदवार तथा राजनीतिक रूपमा केन्द्रसम्म पहुँच भएकाले रामेछापमा मुख्य दाबेदारका रूपमा हेरिएको छ ।
उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसँगै एलएलबीको अध्ययन पूरा गरेका छन् । विद्यावारिधिका लागि हाल शोधकार्य गर्दै छन् ।
रामेछापमा उनीसँग युवाहरूको ठुलो सञ्जाल र एमालेको बलियो संगठनात्मक मत छ । २०७९ को समानुपातिकतर्फ एमाले २८ हजार १ सय ५० मतका साथ पहिलो शक्ति बनेको थियो । त्यही आधारमा टेकेर ढुंगेल जित निकाल्दै पुरानो विरात फर्काउने दाउमा छन् ।
रामेछापका ८ स्थानीय तहमध्ये एमालेले एक नगरपालिकासहित ३ वटा स्थानीय तह जितेको छ । एमालेले जितेका तीन स्थानीय तह मन्थली नगरपालिकामा अहिले ३७ हजार ४१ मतदाता छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा मन्थली नगरपालिकाको मेयरमा एमालेका लव श्रेष्ठले ९ हजार ७१८ मत ल्याएका थिए भने कांग्रेसका विनोदकुमार कार्कीले ९ हजार १२२ मत ल्याएका थिए ।
त्यस्तै खाँडादेवी गाउँपालिकामा एमालेका ज्ञानकुमार श्रेष्ठले ७ हजार ३६९ मत ल्याएर जितेका थिए । यहाँ कांग्रेसका नवराज थोकरले ४ हजार ९०९ मत मात्र ल्याएका थिए । त्यस्तै उमाकुण्ड गाउँपालिकामा एमालेका शेरबहादुर सुनुवारले ३ हजार ७२८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका जितबहादुर कटुवालले २ हजार १७२ मत ल्याएका थिए । स्थानीय तहमा समेत बलियो आधार देखिएकाले ढुंगेल नै बलियो उम्मेदवारका रूपमा देखिएका छन् ।
- कांग्रेसलाई साख जोगाउने चुनौती
कांग्रेसले यो पटक पाका र त्यागी नेता रामचन्द्र खड्कालाई टिकट दिएको छ । २०७९ मा पूर्णबहादुर तामाङ (कान्छाराम) ले जितेको यो क्षेत्रमा कांग्रेसलाई आफ्नै मत जोगाउनु मुख्य चुनौती बन्न सक्छ ।
पार्टीभित्रको आन्तरिक असन्तुष्टि र टिकट वितरणप्रतिको गुनासोलाई व्यवस्थापन गर्न सके खड्काको सम्भावना देखिन्छ । खड्काको शालीन छवि र जिल्ला सभापतिका रूपमा गरेको काम नै उनको मुख्य पुँजी बनेको देखिन्छ ।
खड्का कांग्रेसका जिल्ला सभापति भइसकेका व्यक्ति हुन् । २०७० को निर्वाचनमा झिनो मतान्तरले पराजित भएका खड्कालाई यसपटक सहानुभूति र पार्टीको परम्परागत मतको आश छ । २०७९ को निर्वाचनमा समानुपातिक मतमा यहाँ कांग्रेस एमालेभन्दा पछाडि छ, कांग्रेसले २०७९ यहाँ २४ हजार १ सय १ मत पाएको थियो । जबकि प्रत्यक्षतर्फ कांग्रेसकै तामाङले ४७ हजार ०९९ मत ल्याएर विजयी भएका थिए । कांग्रेसले रामेछाप नगरपालिकासहित लिखु तामाकोशी र गोकुलगंगा गाउँपालिका जितेको छ ।
- नेकपाका पुरानै अनुहार
नेकपाका उम्मेदवार श्यामकुमार श्रेष्ठ रामेछापका लागि पुरानै अनुहार हुन । उनी यसअघि नै दुई पटक (२०७० र २०७४) मा सांसद निर्वाचित भइसकेका छन् । श्रेष्ठ एक पटक गृहराज्यमन्त्रीसमेत भइसकेका छन् ।
एकीकृत समाजवादी र माओवादी केन्द्र मिलेर पार्टी बनेपछि उनको शक्ति थप सुदृढ भएको छ । विशेषगरी रामेछापका दुई गाउँपालिका; दोरम्बा र सुनापातीजस्ता कम्युनिस्ट गढहरू श्रेष्ठका लागि बलियो आधार हुन्, तर पुरानै अनुहार भन्ने मतदाताको एउटा तप्कालाई रिझाउनु उनका लागि मुख्य चुनौती बन्न सक्छ ।
२०७९ मा तत्कालीन माओवादीले जितेका दुई गाउँपालिका; सुनापातिमा ५ हजार ३९८ मत आएको थियो भने कांग्रेसले ४ हजार ८५१ मत ल्याएको थियो । त्यस्तै दोरम्बा गाउँपालिकामा माओवादीका मैनकुमार मुक्तानले ६ हजार २७० मत ल्याएका थिए भने एमालेका टंकप्रसाद चौलागाईले ६ हजार १५० मत ल्याएका थिए ।
- नयाँ शक्ति : रास्वपा र उज्यालो नेपालको उदय
आगामी निर्वाचनमा परम्परागत शक्तिहरूलाई नयाँ शक्तिले झस्काइरहेको छ । रास्वपाबाट यहाँ डा. कृष्णहरि बुढाथोकी मैदानमा छन् । २०७९ मा समानुपातिकतर्फ ४ हजार ६ सय २३ मत पाएको रास्वपाले यसपटक प्रत्यक्षतर्फ कति मत काट्छ, त्यसले ठुला दलको जित–हार निश्चित गर्नेछ ।
त्यस्तै उज्यालो नेपाल पार्टीको उम्मेदवारी पनि यहाँ छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको गृहजिल्ला रामेछापको बेथान हो । घिसिङले दीपबहादुर योञ्जनलाई उम्मेदवार बनाएर मैदानमा पठाएका छन् ।
कुलमानको लोकप्रियता र उनले गरेको लोडसेडिङ अन्त्यको जसले रामेछापको एउटा ठुलो जनमत योञ्जनतर्फ आकर्षित हुन सक्छ । तामाङ बाहुल्य क्षेत्र र कुलमानको व्यक्तित्वका कारण योञ्जनले काट्ने मतले एमाले र नेकपालाई बढी असर गर्न सक्ने विश्लेषण गरिएको छ ।
- नयाँ मतदाता र बदलिँदो अंकगणित
फागुन २१ को निर्वाचनमा जिल्लाको कुल मतदाता संख्या १ लाख ८७ हजार ९ सय ५२ पुगेको छ । २०७९ को निर्वाचनमा १ लाख ८० हजार १०६ मतदाता रहेकामा यसपटक ७ हजार ८ सय ४६ नयाँ मतदाता थपिएका छन् । थपिएकामध्ये अधिकांश २० देखि २५ वर्ष उमेर समूहका छन्, यी नयाँ मतदाता नै फागुन २१ को परिणामका निर्णायक बन्ने देखिन्छन् । पुराना दलहरूको परम्परागत राजनीतिको साटो सुशासन, प्रविधि र रोजगारी खोज्ने यो पुस्ताको मनोविज्ञान कता ढल्किन्छ, त्यसले नै रामेछापको आगामी नेतृत्व तय गर्नेछ ।
२०७९ को निर्वाचनमा कांग्रेसका तामाङले यहाँ ४७ हजार ९९ मत ल्याएर जितेका थिए, तर त्यो मतमा माओवादी केन्द्रको पनि समर्थन थियो । त्यस्तै एमालेका ढुंगेलले ३० हजार ७३० मत ल्याएका थिए, जुन निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा गएको थियो ।
२०७९ मा रामेछापमा एमालेले समानुपातिकमा २८ हजार १५० मत ल्याएर पहिलो पार्टी बन्दा कांग्रेसले २४ हजार १ सय १ मत पाएको थियो । प्रत्यक्षमा आएको ४७ हजार मत र समानुपातिकको २४ हजार मतबिचको जुन विशाल अन्तर छ, कांग्रेसलाई अघिल्लो पटक गठबन्धन र कान्छारामको व्यक्तिगत प्रभावले ठुलो मद्दत गरेको थियो ।
अर्कोतर्फ २०७९ मा माओवादीले २१ हजार र एकीकृत समाजवादीले १ हजार ३ सय मत समानुपातिकमा पाएका थिए । यो २२ हजारको आधारभूत मतमा श्रेष्ठले आफ्नो व्यक्तिगत प्रभाव र पुरानो विरासतबाट मत थप्नुपर्ने अवस्था देखिन्छ ।
२०७९ मा रास्वपाले यहाँ ४ हजार ६ सय २३ मत पाएको थियो । पछिल्ला दिनहरूमा रास्वपाको बढ्दो क्रेज र अवस्थाले केही मत थप हुने देखिए पनि समानुपातिक मतलाई मात्र आधार मान्दा यहाँ ऊ निकै कमजोर देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण