बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली बक्स अफिसमा ‘धुरन्धर’ र ‘बोर्डर २ ’ उत्साहजनक, ‘द राजा साब’ सुस्त

मङ्गलबार, २० माघ २०८२, १८ : ३५
मङ्गलबार, २० माघ २०८२

सारांश

  • नेपाली बक्स अफिसमा 'धुरन्धर' ले १० करोडभन्दा बढीको व्यापार गरेको छ।
  • 'बोर्डर २' ले २ करोडभन्दा बढीको व्यापार गर्दा 'द राजा साब' को व्यापार सुस्त देखिएको छ।
  • चलचित्र विकास बोर्डको रिपोर्ट अनुसार, हिन्दी फिल्मको बजारमा राम्रो प्रभाव देखिएको छ।

काठमाडौँ । नेपाली चलचित्र बजारमा पछिल्लो समय बलिउड फिल्महरूको प्रभाव र व्यवसाय निकै आक्रामक देखिएको छ ।

चलचित्र विकास बोर्डले हालै सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार नेपाली हलहरूमा हाल ‘धुरन्धर’, ‘बोर्डर २’ र ‘द राजा साब’ गरी तीन हिन्दी फिल्म प्रदर्शनमा छन् । यी तीनै फिल्मले करोडौँको व्यापार गरिरहेका छन् । तीनमध्ये ‘धुरन्धर’ व्यवसायिक रूपमा सबैभन्दा अगाडि देखिएको छ भने ‘द राजा साब’ सबैभन्दा कमजोर छ ।

आदित्य धरद्वारा निर्देशित स्पाइ–थ्रिलर फिल्म ‘धुरन्धर’ ले नेपाली बक्सअफिसमा लोभलाग्दो सफलता हात पारेको छ । गत शनिबारसम्मको बक्सअफिस तथ्यांकअनुसार यस फिल्मले १० करोड ५३ लाख ५५ हजार ३६१ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । सत्य घटनामा आधारित भनिएको यस फिल्ममा अभिनेता रणवीर सिंह, सञ्जय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल र आर माधवनजस्ता दिग्गज कलाकारहरूको अभिनय छ ।

बोर्डका अनुसार यस अवधिमा फिल्मका ३ लाख १९ हजार ८८८ वटा टिकट बिक्री भइसकेका छन् । डिसेम्बर ५ मा रिलिज भएको यस फिल्मले नेपालमा प्रदर्शन सुरु भएदेखि नै राम्रो व्यवसाय गर्दै आएको छ ।

त्यस्तै, सन् १९७१ को भारत–पाकिस्तान युद्धको पृष्ठभूमिमा बनेको सन्नी देओल अभिनित फिल्म ‘बोर्डर २’ ले पनि नेपाली दर्शकको राम्रो साथ पाएको छ । २७५ करोड रुपैयाँको भारी बजेटमा निर्माण भएको यस फिल्मले नेपालमा शनिबारसम्म २ करोड २१ लाख ९३ हजार ९१० रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

अनुराग सिंहको निर्देशनमा बनेको यस फिल्ममा सन्नी देओलसँगै वरुण धवन र दिलजीत दोसांझको मुख्य भूमिका छ । फिल्मका हालसम्म ६९ हजार ६६ वटा टिकट बिक्री भइसकेका छन् ।

यता, राम्रो व्यवसाय गर्ने अपेक्षा गरिए पनि दक्षिण भारतीय सुपरस्टार प्रभासको बहुप्रतीक्षित फिल्म ‘द राजा साब’ को व्यवसाय भने नेपालमा केही सुस्त देखिएको छ । विश्वभर अपेक्षित व्यापार गर्न नसकेको भनिएको यस फिल्मले नेपालमा पनि सोचेजस्तो जादु चलाउन सकेन ।

गत जनवरी ९ देखि प्रदर्शनमा आएको यस फिल्मले हालसम्म १ करोड ७७ लाख १० हजार २३९ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । मारुतीद्वारा निर्देशित यस फिल्ममा प्रभाससँगै सञ्जय दत्त र मालविका मोहनन मुख्य भूमिकामा छन् । यस अवधिसम्म फिल्मका ५५ हजार २१४ वटा टिकट बिक्री भएका छन् । प्रभास ‘राजा साब’ को भूमिकामा देखिएको यो फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम गरी पाँच भाषामा विश्वभर रिलिज भएको हो ।

केही समयअघिसम्म हिन्दी फिल्मको व्यवसाय घट्दै गएको र नेपाली फिल्मको व्यवसाय बढ्दै गएको देखिएको थियो । तर बोर्डको पछिल्लो तथ्याङ्कले नेपाली बजारमा हिन्दी फिल्मको माग अझै उच्च रहेको देखाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप