काठमाडौँ उपत्यकामा मधेस केन्द्रित दलको उपस्थिति : नाम मात्र कि पहिचान ?
सारांश
- तराई-मधेस केन्द्रित दलहरूले काठमाडौं उपत्यकामा उम्मेदवारी दिएका छन्, तर जनमत पार्टीले दिएन।
- जसपा नेपाल, रामुपा र आजपा नेपालले विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन्।
- पार्टीहरूले आफ्नो एजेन्डा र रणनीति प्रस्तुत गरेका छन्, जसमा भ्रष्टाचार र सम्पदा संरक्षण मुख्य छन्।
काठमाडौँ । तराई–मधेस केन्द्रित दलहरूले यो पटकको निर्वाचनमा पनि काठमाडौँ उपत्यकामा आफ्नो उपस्थिति देखाएका छन् । तीन जिल्ला समेटिएको काठमाडौँ उपत्यकामा १५ वटा निर्वाचन क्षेत्र छन् । उपत्यकाका यी १५ वटै निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल), राष्ट्रिय मुक्ति पार्टी (रामुपा) र आम जनता पार्टी (आजपा)ले उम्मेदवारी दिएका छन् । यी दलहरूले आफ्नो संगठन देशभर रहेको दाबी गरे पनि उनीहरूको प्रभाव विशेषगरी तराई–मधेस क्षेत्रमा मात्र केन्द्रित छ ।
फागुन २१ गते हुने निर्वाचनमा काठमाडौँ–१ बाट जसपा नेपालबाट प्रकाश नायजु र राष्ट्रिय मुक्ति पार्टीबाट इन्द्रप्रसाद श्रेष्ठ उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर २ बाट रामुपाबाट नर्वदा कुमारी भट्टराई र आजपाबाट तिलकबहादुर मगर उम्मेदवार छन् । क्षेत्र नम्बर ३ मा जसपा नेपालबाट प्रनिलध्वज कार्की र आजपाबाट रुपसागर देवी, क्षेत्र नम्बर ५ मा जसपा नेपालबाट दानिन्द्र जोशी र आजपा नेपालबाट कोमल पौडेल मैदानमा छन् ।
त्यस्तै, क्षेत्र नम्बर ६ मा रामुपा नेपालबाट इन्दिरा थापा र आजपा नेपालबाट सफलता बोगटी उम्मेदवार छन् । क्षेत्र नम्बर ७ मा जसपा नेपालबाट बाबुराम लामा, रामुपाबाट विभिन्न पन्त र आजपा नेपालबाट प्रदीप भट्टराई उम्मेदवार बनेका छन् ।
क्षेत्र नम्बर ८ मा जसपा नेपालबाट सरोजराज वैद्य, रामुपाबाट मुक्तिनाथ शर्मा र आजपाबाट खगेस रञ्जितकार उम्मेदवार छन् । क्षेत्र नम्बर ९ मा जसपा नेपालबाट रणवीर क्षेत्री सिंह, रामुपाबाट मदन डंगोल र आजपा नेपालबाट इरस श्रेष्ठ उम्मेदवार छन् । क्षेत्र नम्बर १० मा जसपा नेपालबाट भगरीत साह उम्मेदवार बनेका छन् ।
भक्तपुर क्षेत्र नम्बर १ मा जसपा नेपालबाट श्यामसुन्दर शिल्पकार र आजपाबाट देवेन्द्र ठाकुर उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा जसपा नेपालबाट नवीन श्रेष्ठ र आजपाबाट देवकुमारी साह उम्मेदवार बनेका छन् ।
यसैगरी ललितपुर क्षेत्र नम्बर १ मा जसपा नेपालबाट महावीर स्याङतान तामाङ र आजपाबाट किरण महर्जन उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा जसपा नेपालबाट रोहनी कस्ती र आजपाबाट लाखेन्द्रकुमार साह उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर ३ मा जसपा नेपालबाट कृष्णदेवी महर्जनले उम्मेदवारी दिएकी छन् ।
- जनमतले दिएन उम्मेदवारी
यस पटक डा. सीके राउत नेतृत्वको जनमत पार्टीले भने काठमाडौँ उपत्यकाभर कतै पनि उम्मेदवारी दिएको छैन । गत निर्वाचनमा भने सो पार्टीले यस क्षेत्रबाट चार जनालाई उम्मेदवार बनाएको थियो । जनमत पार्टीका महासचिव चन्दन सिंहले भने, ‘उम्मेदवारी दिने हाम्रो तयारी थियो । उपत्यकामा हाम्रो संगठन पनि छ, तर सोचेअनुसार मत नआउने देखिएकाले उम्मेदवार उठाएनौँ ।’
उनका अनुसार जनमत पार्टीको आधार क्षेत्र मधेस भएकाले काठमाडौँमा मत नपाउने निष्कर्षमा पार्टी पुगेको हो । ‘बेकारमा उम्मेदवार उठाएर समय र पैसा खर्च गर्नुभन्दा तराई–मधेसमै केन्द्रित हुने निर्णय गरेका हौँ,’ उनले भने ।
गत निर्वाचनमा काठमाडौँ–१ बाट जनमत पार्टीका हरेन्द्र चौधरीले २२ मत ल्याएका थिए । त्यस्तै, क्षेत्र नम्बर ३ बाट गोविन्द नेपालले ३४, क्षेत्र नम्बर ८ बाट शान्तबहादुर शाक्यले ९० र क्षेत्र नम्बर २ बाट गणेशप्रसाद पुडासैनीले १६४ मत प्राप्त गरेका थिए ।
‘यी मतलाई सम्मान गर्छौँ, तर संघीयता, गणतन्त्र र समावेशी पहिचानका लागि लड्ने पार्टीका लागि यो भूगोल अनुकूल छैन,’ उनले भने ।
गत वर्ष महन्थ ठाकुर नेतृत्वको तत्कालीन लोसपा नेपालले पनि उम्मेदवारी दिएको थियो । यस पटक भने उक्त पार्टी जसपा नेपालसँग एकता गरिसकेको छ । गत वर्ष नागरिक उन्मुक्ति पार्टीले पनि उम्मेदवार खडा गरेको थियो, तर यस पटक रामुपा नेपाललाई साथ दिएको छ । गत वर्ष एक सिटमा उम्मेदवारी दिएको हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी पनि जसपा नेपालमा समाहित भइसकेको छ ।
मोहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले पनि काठमाडौँ उपत्यकाबाट यस पटक उम्मेदवारी दिएको छैन ।
उम्मेदवारी दिए पनि विगतको तुलनामा यस पटक जसपा नेपालले काठमाडौँ उपत्यकाप्रति खासै उत्साह देखाएको छैन । गत निर्वाचनमा जसपा नेपालमा रहेका राजेन्द्र श्रेष्ठ र विद्युत् बज्राचार्य नेकपामा प्रवेश गरेपछि पार्टीको उपस्थिति कमजोर बनेको विश्लेषण छ । उपस्थिति देखाउन र नामका लागि मात्र उम्मेदवारी दिएको आरोपसमेत जसपा नेपालमाथि लाग्दै आएको छ ।
जसपा नेपालका नेता पूर्ण बस्नेत भन्छन्, ‘यो लज्जास्पद मत हो, तर जनताले दिएको विश्वासलाई हामी तोड्न सक्दैनौँ । जति मत पाएका छौँ, तिनै जनताको प्रतिनिधित्व गर्ने दायित्वका कारण उम्मेदवारी दिएका हौँ ।’
उनले यस पटक मत बढ्नेमा विश्वास व्यक्त गर्दै पार्टीको आधार क्षेत्र मधेस भएकाले काठमाडौँ उपत्यकामा जनविश्वास कम देखिएको बताए । पहिचान, समावेशीता र लोकतन्त्रका मुद्दामा जसपा नेपाल अरू दलभन्दा स्पष्ट रहेको दाबी गर्दै उनले भविष्यमा उपत्यकाका मतदाताले पनि पार्टीलाई विश्वास गर्न सक्ने अवस्था आउने बताए ।
पहिलो पटक काठमाडौँ उपत्यकामा उम्मेदवारी दिएको आजपा नेपालले भ्रष्टाचारविरुद्धको मुद्दालाई मुख्य एजेन्डा बनाएको छ । आजपा नेपालका काठमाडौँ सचिव रामनारायण साहका अनुसार सबैभन्दा बढी भ्रष्टाचार हुने क्षेत्र नै काठमाडौँ उपत्यका भएकाले यहाँ उम्मेदवारी दिएको हो । भन्सारमा हुने भ्रष्टाचारविरुद्ध पटक–पटक आन्दोलन गरेको उल्लेख गर्दै उनले त्यसको प्रभाव मतमा देखिने विश्वास व्यक्त गरे ।
रामुपा नेपालले भने सम्पदा संरक्षणलाई मुख्य मुद्दा बनाएर चुनावी अभियान अघि बढाएको छ । काठमाडौँ–७ का नेता दिपेन पन्तका अनुसार पार्टी नयाँ भएकाले यसपटकको निर्वाचन जनतामाझ पार्टी चिनाउने अवसरका रूपमा लिइएको छ । खोला मापदण्ड, सुकुमबासी समस्या, सडक विस्तार र सम्पदा संरक्षणका मुद्दा उठाउँदै आएका रामुपा नेपालले यस निर्वाचनलाई आफ्नो शक्ति मापनको रूपमा हेरेको छ ।
यद्यपि, चुनावको मुखमा काठमाडौँ उपत्यकाका मुख्य नेता सुमन सायमिले पार्टी छाडेपछि रामुपा नेपाललाई केही असर परेको नेताहरू बताउँछन् । सम्पदा तथा गुठी संरक्षण अभियानमा लामो समय सक्रिय सायमि नेकपामा प्रवेश गरेपछि पार्टी संगठनमा असर देखिएको उनीहरूको बुझाइ छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण