काठमाडौं । देश प्रतिनिधिसभा निर्वाचनमा होमिइसक्दा केही जेनजी समूह भने विभिन्न माग राखी सडक आन्दोलनमा छन् । जेनजी आन्दोलनपछि उठेका केही सवाललाई सम्बोधन नगरी गरिने निर्वाचनबाट पनि निकास ननिस्किने उनीहरूको भनाइ छ । यस्तै मध्येका हुन् अजय सोडारी ।
मिराज ढुंगाना संयोजक रहेको संयुक्त जेनजी आन्दोलनका सहसंयोजक सोडारी तिनै हुन्, जसले केही बुँदा माग राखेर काठमाडौंको माइतीघरमा १० दिनसम्म आमरण अनसन बसे । सरकारसँगको ६ बुँदे सहमति भएपछि सोडारीले अनसन तोडे । माइतीघरमा अनसन बस्न उक्साउने संयोजक ढुंगाना सोडारीलाई अनसनस्थलमै छाडेर बेपत्ता भए । अहिले ढुंगानालाई अनुशासनको कारवाही गरिसकेको सोडारी बताउँछन् । संयुक्त जेनजी आन्दोलनका माग, निर्वाचन लगायत विषयमा केन्द्रित रहेर सोडारीसँग रातोपाटीको ‘वारपार’मा कुराकानी गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न सकिन्छ) :
जेनजी जति प्रकारका भए पनि, जतिवटा समूहका भए पनि, सबै जेनजीको साझा माग हो परिवर्तन, सुशासन र भ्रष्टाचारको अन्त्य । देशमा भइरहेको अन्याय, अत्याचार, अस्थिर शासन र बेरोजगारीको अन्त्य ।
जेनजीहरुलाई सरकारले फुटाएको हो । सरकारले नै जेनजीलाई मिल्न नदिएको हो । एकता हुन नदिएको हो ।
कसैलाई बालुवाटारमा, सिंहदरबारमा बोलाएर काखा च्याप्ने, कसैलाई जेठो छोरो भन्ने, अनि कसैलाई चाहिँ सौतेनी आमाको छोराको जस्तो व्यवहार गरेपछि विभाजन हुँदैन त ?
हाम्रो समूहको संयोजक मिराज ढुंगानाजी जेनजी आन्दोलनको एउटा डिजाइनर हो । आन्दोलन गर्नुपर्छ । आवाज उठाउनुपर्छ । सडकमा जानुपर्छ । सत्तालाई खबरदारी गर्नुपर्छ भनेर मिराजजीले नेपालमा प्रयास गर्नुभयो । म त्यतिबेला दक्षिण कोरियामा थिएँ । मैले दक्षिण कोरियाबाटै आवाज उठाएँ । विदेशमा रहेका युवाहरू पनि नेपाल आउनुपर्छ भनेर आउन तयार भयौं ।
हो । जसले, जुन पक्षले, जुन समूहले, जुन व्यक्तिहरूले जेनजी आन्दोलनको मूल्य र मान्यता अन्तिमसम्म बोक्यो, अन्तिमसम्म बोल्यो, त्यही नै वास्तविक जेनजी हो । त्यो छुट्याउन गाह्रो पर्दैन ।
मिराजजीको चरित्रको बारेमा उहाँलाई सोध्ने कुरा भयो । तर हामीले चाहिँ ३० देखि ३५ वटा समूहबिच एकता गरेर संयुक्त जेनजी आन्दोलन परिचालन समिति बनायौं । त्यसको संयोजक हामीले मिराजजीलाई बनायौं ।
यो बिचमा मिराजजीले जसरी आन्दोलनलाई हाँक्नुपर्थ्यो, जसरी मुद्दालाई स्थापित गर्न उहाँले स्ट्राटेजी बनाउनुपर्थ्यो, त्यसमा उहाँ अलिकति चुक्नुभयो । अन्तिमसम्म उहाँले सडक छोड्नुहुन्न थियो, अन्तिमसम्म बोल्नुपर्थ्यो ।
आन्दोलनलाई अलिकति फराकिलो ढंगले सबै पुस्ताको अपनत्व हुने गरेर अगाडि लैजानुपर्छ भनेर हामीले विप्लवको पार्टीसँग कार्यगत एकता गरेको हो । हामीले सहकारी पीडितसँग, सुकुम्बासीहरूसँग, मिटरब्याजी पीडितहरूसँग पनि कार्यगत एकता गरेका छौं । हामीहरु पार्टीमा गएका होइनौं । मिराजजीको सन्दर्भमा उहाँ आन्दोलन छोडेर हिँड्नुभयो, भाग्नुभएको कुरा साँचो हो ।

हामीले उहाँलाई निकालिसक्यौं । अनुशासनको कारबाही गरेर निकालिसकेको हो । हामीसँग सल्लाह नगरी मैदानबाट भाग्नुभयो । त्यसको मूल्याङ्कन पछिका दिनमा पनि पक्कै हुन्छ । सबैले गरिराख्नुभएको छ ।
ईपीएस प्रक्रियाबाट कोरियन राजदूतावासबाट भिसा लिएर म कोरिया गएँ । रोजगारी गर्दै सामाजिक रूपमा अगाडि बढें । एनआरएनएको महासचिवसम्म बनें । एनआरएनएको महासचिव भएको नाताले जेनजी आन्दोलनको अघिल्लो दिन मैले विज्ञप्ति निकालें । नेपालको जेनजी आन्दोलनलाई सरकारले कुनै पनि खालको धरपकड नगरोस्, आन्दोलनमाथि कुनै पनि खालको लठ्ठी प्रहार नहोस् भनेर मैले एनआरएनएको महासचिवको हैसियतले दक्षिण कोरियाबाट विज्ञप्ति निकालें । त्यसको केही दिनपछि म नेपाल आएँ ।
कोरियामा रहेका केही व्यक्तिले मेरा विरुद्ध संगठित रूपमा षड्यन्त्र गरेछन्, जेनजी आन्दोलनलाई समर्थन गरेको भनेर । मैले कोरियामा नराम्रो काम गरेको भए कोरिया सरकारले नेपाल पठाउँदैन, जेल हाल्छ । कोरियामा त्यति स्ट्रिक्ट छ कानुन । कानुन उल्लघंन गरेको भए म कोरियाको जेलमा हुन्थें । ती लेख्ने मान्छेले, ती भन्ने मान्छेले मलाई सोधेकै छैनन् ।
चुनावभन्दा अगाडि घाइतेहरूको उपचार, उहाँहरूको जीवन रक्षाको ग्यारेन्टी, बन्दी साथीहरूको रिहाइ र प्रत्यक्ष कार्यकारी प्रणालीबाट निर्वाचन हुनुपर्छ भन्ने माग हाम्रो हो । तर ती माग पूरा नगरी चुनाव गराउन खोजेकाले अनसन बस्नुपरेको हो ।
संविधानको धारा, उपधारा, कुनै नियम, उपनियममा टेकेर यो सरकार बनेको होइन । विद्रोहको बेला थियो, सरकारविहीनताको अवस्था थियो । कसैले आएर देश सम्हाल्नुपर्ने थियो, सुशीला कार्की आएर देश सम्हाल्नुभयो । विद्रोहको जगमा बनेको सरकारले देशमा परिवर्तन र सुशासनको प्रत्याभूति दिलाउन सक्नुपर्थ्यो । यो सरकारको जिम्मेवारी त्यो पनि थियो । तर उहाँहरूले चाहिँ केही पनि गर्न सक्नुभएन । विद्रोहले परिवर्तन गर्न नसकेको देश, बलिदानले परिवर्तन गर्न नसकेको देश, चुनावबाट आउने केही थान सांसदहरू, केही थान मान्छेहरूले यो देशको स्वरूप, यो देशको संरचना परिवर्तन गर्न सक्छन् त ?
हामी चुनावको विरुद्धमा कहिल्यै पनि छैनौँ । चुनाव हुनुपर्छ । तर केही जायज माग पूरा हुनुपर्छ । जेनजी बन्दी रिहाइ हुनुपर्छ । भ्रष्टाचार छानबिनका लागि सशक्त पारदर्शी, निष्पक्ष आयोग बन्नुपर्छ । ८० लाख नेपालीहरू प्रवासमा छन्, उनीहरूको भोट हाल्ने वातावरण सिर्जना हुनुपर्छ । न्यायालयदेखि अदालतसम्म, अख्तियार र अन्य संवैधानिक आयोगलाई सुधारेर जानुपर्छ ।
त्यहाँ भागबण्डा अन्त्य गरेर जानुपर्छ भनेर हामीले भनेको ।
सुदन गुरुङहरूले विभिन्न ठाउँमा भागबण्डा मागिराखेका छन्, विभिन्न ठाउँमा आफ्ना मान्छे नियुक्ति गरिरहेका छन्, राज्य दोहन गरिरहेका छन् । हरेक ठाउँमा सेयर मागिरहेका छन् । हामी त्यसको विपक्षमा छौं ।
सरकारको भनाइ के छ भने जुन–जुन समूहलाई हामीले आधिकारिक जेनजी मान्यौँ । त्यससँग १० बुँदे सहमति गरिसक्यौँ । हो, त्यो कार्यान्वयन गर्ने कुरा हो ।
आउने सरकारले । एउटा सुदन गुरुङ पक्षलाई बालुवाटारको, त्यो पनि रातिको ८ बजे बोलाएर एकाएक १० बुँदे सम्झौताको नाटक मञ्चन गरेर साइन गर्न लगाएको अनि सबै जेनजीले मान्दिनुपर्ने ? जनताले मान्दिनुपर्ने ? राजनीतिक दलले मान्दिनुपर्ने ?
त्यो दिन पनि त्यहाँ गलत म्यानिपुलेट भएको छ । त्यो दिन जेनजीहरू प्रधानमन्त्रीसँग साक्षात्कार, प्रधानमन्त्रीसँग विचार आदानप्रदान गर्ने भन्ने कार्यक्रमको पहिला मोडालिटी थियो । तर एकाएक राति त्यहाँ १० बुँदे सम्झौता ल्याइयो । अनि ताली पिट्न लगाएर हामीलाई कुनै प्रश्न पनि राख्न दिइएन । केही बोल्न पनि दिइएन ।
राजनीतिक दल, सरकार, जेनजी, नागरिक समाज र पत्रकारको रोहवरमा सर्वपक्षीय वार्ता गर्ने । जेनजीका मागहरू यो सरकारले पूरा गर्न सकेन । ६ बुँदेलाई सबैले अपनत्व लेओस् । भोलि सरकारमा आउँदा पनि त्यो कार्यान्वयन होस् । यो सरकारले सबैको विश्वास लिनुपर्छ र त्यो पनि जेनजीलाई साक्षी राखेर भन्ने हाम्रो कुरा छ । यो काम १० दिनभित्र गर्ने भन्ने सम्झौता छ । भएन भने आन्दोलन हुन्छ ।
सर्वपक्षीय वार्तामा सरकारले कस्तो खालको वातावरण सिर्जना गर्छ, हामीले भने अनुसार केही प्रतिबद्धता जाहेर हुन्छन् कि हुँदैनन्, ती कमिटमेन्टहरू आउँछन् कि आउँदैनन्, त्यसपछि हामीले के गर्ने भनेर दिशा तय गर्छौं ।

हामी आन्दोलनमै रहन्छौँ ।
हामी निर्वाचन बिथोल्ने गतिविधि गर्दैनौँ । हामी हाम्रा माग र मुद्दाका क्रममा निरन्तर सडकमै हुन्छौँ । हामी निरन्तर रूपमा बोलिरहन्छौँ । निरन्तर रूपमा हामी आवाज उठाउँछौँ ।
भोट हाल्न हामी जाँदैनौँ र भोलिका दिनमा यदि चुनाव भएर नयाँ सरकार आयो भने पनि हामी यी माग फेरि उठाउँछौँ ।
जेनजी आन्दोलनमा ७८ जना मरेका छन् । २ हजार ३४० जनाभन्दा बढी घाइते छन् । देश जलेको छ । खर्बौँको क्षति भएको छ । कम्तीमा पनि परिवर्तनको महसुस त गराउनुस् देशलाई । २०६२/०६३ मा गणतन्त्र आयो, २०४६ मा बहुदल आयो, २००७ सालमा प्रजातन्त्र आयो । जेनजी विद्रोहपछि के आयो देशमा ? केही पनि आएन नि त । त्यही एक थान चुनाव आयो ? यसले हुन्छ त ?
प्रतिक्रिया