‘नेप्से पुनर्संरचना अबको अनिवार्य आवश्यकता हो, प्रतिवेदन कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध छौँ’
सारांश
- नेप्से पुनर्संरचनाबारे सुझाव समितिले प्रतिवेदन पेश गरेको छ, जसमा पुँजी वृद्धि र लगानी विस्तारको विषय समेटिएको छ।
- नेप्सेलाई व्यावसायिक बनाउन रणनीतिक साझेदार भित्र्याउने र स्वामित्व संरचनामा परिवर्तन गर्ने सरकारको योजना छ।
- प्राविधिक समस्या समाधान गर्न र लगानीकर्ताको विश्वास कायम राख्न नेप्सेले टीएमएस प्रणालीको सुदृढीकरण गर्ने योजना बनाएको छ।
काठमाडौँ । नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना सम्बन्धी सुझावसमितिले पेस गरेको प्रतिवेदन सार्वजनिक भइसकेको छ, जुन नेप्सेको पुनर्संरचना सम्बन्धी आठौं अध्ययन प्रतिवेदन हो ।
अर्थमन्त्री रामेश्वर खनालले लामो समयदेखि पेचिलो बन्दै आएको नेप्से पुनर्संरचनाको विषय टुंग्याउने गरी गत मंसिर २ गते नेप्से पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेस गर्न समिति गठन गरेका थिए ।
नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा गठित पाँच सदस्यीय अध्ययन समितिले गत पुस २८ गते अर्थमन्त्री खनाललाई सुझाव प्रतिवेदन बुझाएको थियो । नेप्से पुनर्संरचना सुझाव समितिले पुँजी वृद्धि र लगानी विस्तारको विषय उल्लेख गरेको छ ।
उक्त प्रतिवेदन कार्यान्वयन र अर्थतन्त्रको ऐना मानिने सेयर बजारलाई आधुनिक, प्रविधिमैत्री र पारदर्शी बनाउन नेप्सेले चालेका कदमहरू र आगामी कार्यदिशाका बारेमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँसँग रातोपाटीका लागि अनिष मिजारले गरेको कुराकानी सम्पादित अंश
- नेप्से पुनर्संरचनाबारे प्रतिवेदन आएको छ । यसमा तपाईंको धारणा के हो ?
–विश्वका प्रमुख स्टक एक्सचेन्जहरूले पछिल्ला केही दशकहरूमा आफूलाई सरकारी वा अर्ध–सरकारी स्वामित्वबाट बाहिर निकालेर कर्पोरेट र कमर्सियल ढाँचामा रूपान्तरण गरेका छन् ।
न्यूयोर्क स्टक एक्सचेन्जदेखि बम्बे स्टक एक्सचेन्ज सम्मले संस्थागत सुधार र अत्याधुनिक प्रविधिगत रूपान्तरणमार्फत आफूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाएका छन् ।
नेपालमा पनि पुँजीबजारलाई दीर्घकालीन रूपमा दिगो, सुरक्षित र विश्वासिलो बनाउने उद्देश्यले नेप्सेको पुनर्संरचना अब विकल्प नभई अनिवार्य आवश्यकता बनिसकेको छ ।
नेपाल सरकारले विगत केही वर्षदेखि बजेट वक्तव्यमार्फत नै नेप्सेको पुनर्संरचना र विनिवेशको विषयलाई प्राथमिकतामा राख्दै आएको छ । यसै नीतिगत निरन्तरताअन्तर्गत गठित उच्चस्तरीय समितिले बुझाएको प्रतिवेदनलाई हामीले सकारात्मक र समयसापेक्ष रूपमा लिएका छौँ ।
प्रतिवेदनले केवल संरचनागत परिवर्तन होइन, नेप्सेलाई कसरी व्यावसायिक रूपमा दक्ष बनाउने भन्ने मार्गचित्र पनि कोरेको छ ।
_op7LC1RbYe.jpg)
आज नेपालमा ५० लाखभन्दा बढी डिम्याट खातावालाहरू छन् । लगानीकर्ताको यो बढ्दो संख्या, उनीहरूको सचेतना र प्रविधिप्रतिको निर्भरताले गर्दा पुरानै प्रविधिबाट बजार सञ्चालन गर्न असम्भव छ । पुँजीबजारको आकार विस्तार हुँदै जाँदा यसको जोखिम व्यवस्थापन क्षमता पनि सोही अनुपातमा बढ्नुपर्छ । त्यसैले अन्तर्राष्ट्रिय अभ्यासअनुसार नेप्सेलाई रणनीतिक साझेदार भित्र्याउने र यसको स्वामित्व संरचनामा परिवर्तन गर्ने सरकारको कदमलाई हामी हृदयदेखि सम्मान गर्दछौँ ।
नेप्सेलाई सरकारी निकायको जस्तो प्रक्रियागत झन्झटबाट मुक्त गरी एक गतिशील वित्तीय संस्थाको रूपमा स्थापित गर्नेछ । सरकारको निर्देशन र सुझावअनुसार यसलाई कार्यान्वयनमा लैजान नेप्से नेतृत्व पूर्ण रूपमा प्रतिबद्ध छ ।
- केही दिनअघि ब्रोकरबाट सञ्चालित टीएमएसमा समस्या देखियो । समस्या र प्राविधिक सुदृढीकरण गर्ने योजना के छ ? बारम्बार देखिने समस्यालाई कसरी लिनुभएको छ ?
–टीएमएस भनेको लगानीकर्ता र बजारलाई जोड्ने मुख्य पुल हो । यसमा देखिने सानोभन्दा सानो प्राविधिक समस्याले पनि लगानीकर्ताको सम्पत्ति र विश्वासमा प्रत्यक्ष असर पार्छ ।
त्यसैले हालै देखिएको प्राविधिक समस्यालाई हामीले अत्यन्तै गम्भीरताका साथ लिएका छौँ । पुँजीबजारमा प्राविधिक ढिलासुस्ती वा प्रणालीगत असफलताको कुनै पनि बहानामा छुट हुन सक्दैन ।
समस्या देखिनासाथ हामीले तत्काल एक्सन लिएका छौँ । सम्बन्धित ब्रोकर र उनीहरूलाई टीएमएस सेवा उपलब्ध गराउने भेन्डरसँग लिखित स्पष्टीकरण माग गरिएको छ । नेप्सेले उच्चस्तरीय प्राविधिक जाँचबुझ समिति गठन गरेको छ । यस समितिले प्रणालीको लग फाइलहरू, नेटवर्क ट्राफिक र सफ्टवेयरको आर्किटेक्चरको गहिरो अध्ययन गरिरहेको छ ।
समितिको प्रतिवेदन आएपछि हामी कठोर कदम चाल्ने तयारीमा छौँ । यदि सेवा प्रदायक वा ब्रोकरको तर्फबाट लापरबाही पुष्टि भएमा नियमअनुसार जरिवाना गर्ने मात्र होइन, भविष्यमा त्यस्ता भेन्डरहरूको योग्यतामाथि नै प्रश्न उठ्न सक्छ ।
हामीले अब टीएमएसको लागि न्यूनतम प्राविधिक मापदण्ड तोक्दै छौँ । यसमा ब्याकअप प्रणाली, डिजास्टर रिकभरी र रियल–टाइम निगरानी जस्ता पक्षहरू अनिवार्य हुनेछन् । नेप्सेको उद्देश्य भनेको लगानीकर्ताले निर्धक्क भएर कुनै प्राविधिक अवरोधबिना कारोबार गर्न पाउने वातावरण सुनिश्चित गर्नु हो ।
- नेप्से पुनर्संरचना गर्ने र रणनीतिक साझेदार भित्र्याउन सरकारबाट विनिवेश गर्ने सम्बन्धमा तपाईंहरूको भूमिका के हुन्छ ?
–नेप्सेमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकको मुख्य स्वामित्व छ । यसको स्वामित्व संरचना परिवर्तन गर्ने र रणनीतिक साझेदार भित्र्याउने काम पूर्णतः नेपाल सरकारको नीतिगत निर्णयमा निर्भर गर्दछ । यो प्रक्रियामा नेप्सेको भूमिका एक सहजीकर्ता र कार्यान्वयनकर्ता को रहनेछ ।
जब सरकारबाट कार्यन्वयनका लागि औपचारिक निर्देशन र कार्यविधि प्राप्त हुन्छ, नेप्सेले अत्यन्तै पारदर्शी र व्यावसायिक प्रक्रिया अपनाएर आवश्यक तयारी गर्नेछ ।
रणनीतिक साझेदारका रूपमा विश्वका प्रतिष्ठित स्टक एक्सचेन्ज वा प्रविधिमा दखल भएका अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू आउँदा नेप्सेको प्राविधिक र व्यवस्थापकीय क्षमतामा ठुलो परिवर्तन आउनेछ ।
हामीले यस प्रक्रियामा डेटा सुरक्षा, राष्ट्रिय स्वार्थ र लगानीकर्ताको भरोसालाई केन्द्रमा राख्नेछौँ । सरकारको नीतिगत मार्गदर्शनलाई कार्यान्वयन गर्न नेप्सेको संयन्त्र तयारी अवस्थामा छ ।
- सीईओ भएर कार्यभार सम्हालेपछि तपाईंले संस्थागत सुशासन र नेप्सेलाई व्यावसायिक सुशासन र पारदर्शी बनाउने योजना सुनाउनुभएको थियो, यसमा के–के काम भए ?
–मैले जिम्मेवारी सम्हालेपछि मेरो मूल मन्त्र नै संस्थागत सुशासन छ । जहाँ सुशासन हुन्छ, त्यहाँ अनुशासन र लगानीकर्ताको विश्वास स्वतः कायम हुन्छ । संस्थाभित्रको कार्यसंस्कृतिलाई व्यावसायिक बनाउनु मेरो पहिलो प्राथमिकता हो ।
विगतमा देशमा भएका केही राजनीतिक/सामाजिक आन्दोलन र कर्मचारीहरूको बोनससम्बन्धी आन्तरिक मागका कारण केही दिन कार्यसम्पादनमा चुनौती अवश्य आएको थियो ।
तर नेतृत्वको हैसियतले मैले यो सुनिश्चित गरेँ कि नेप्सेको सेवा प्रवाहमा एक सेकेन्ड पनि अवरोध नआओस् । आन्तरिक विवादका बाबजुद बजार सञ्चालनलाई हामीले निर्बाध अघि बढायौँ ।
बजारमा हुने भित्री कारोबार र अस्वाभाविक उतारचढाव रोक्न निगरानी प्रणालीलाई थप आधुनिक बनाइएको छ । सूचीकृत कम्पनीहरूले सूचना लुकाउने वा ढिलो दिने प्रवृतिलाई निरुत्साहित गर्न रियल टाइम सूचना सार्वजनिक गर्ने अभ्यास सुरु गरिएको छ ।
लगानीकर्ताका गुनासाहरू तुरुन्त सुन्न र सम्बोधन गर्न तोकिएको छ । ब्रोकरहरूको प्राविधिक सुरक्षा जाँच गर्नको निर्देशिका अन्तिम चरणमा छ । अब हरेक ब्रोकरको सफ्टवेयर प्रणाली सुरक्षित छ कि छैन भन्ने नियमित परीक्षण हुनेछ ।
साना तथा मझौला कम्पनीहरूका लागि छुट्टै कारोबार मञ्चको विनियमावली तयार गरी धितोपत्र बोर्डमा पठाइएको छ । यसले स्टार्टअप र साना उद्योगहरूलाई पुँजी संकलनमा सहयोग पुग्नेछ ।
- बैंक तथा वित्तीय संस्था बाहेकका कम्पनीहरूलाई पनि दुईवटा आईजीन नम्बर दिने कार्यविधि बोर्डमा रोकिएको छ । यो किन ढिला भएको हो ?
– नेप्सेको सीईओभन्दा पनि सीडीएस एन्ड क्लियरिङको अध्यक्षको हैसियतले स्पष्ट पार्न चाहन्छु । अन्तर्राष्ट्रियस्तरमा धितोपत्रहरूको पहिचानका लागि प्रदान गर्ने गरिन्छ । नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरूलाई उनीहरूको पुँजीगत संरचनाअनुसार आईजीन नम्बर दिने प्रचलन छ ।
_I5CzhgvJWd.jpg)
अन्य कम्पनीहरूको हकमा पनि यो व्यवस्था लागु गर्दा बजारमा थप स्पष्टता आउँछ भन्ने हाम्रो ठम्याइ हो । यद्यपि बजारका विभिन्न सरोकारवालाबिच यस विषयमा फरक–फरक धारणाहरू आएपछि हामीले एक स्पष्ट आईजीन निर्देशिकाको मस्यौदा तयार गरी नेपाल धितोपत्र बोर्डमा पठाएका छौँ । बोर्ड एक नियामक निकाय भएकोले उसले बजारको समग्र हित र कानुनी पक्षको अध्ययन गरिरहेको होला । हामी बोर्डको निर्देशन पर्खिरहेका छौँ ।
बोर्डबाट निर्णय हुनासाथ यसले बजारमा अभौतिकीकरण र कारोबार राफसाफ प्रक्रियालाई थप व्यवस्थित बनाउनेछ ।
- नेप्सेमा काम गर्दै जाँदा कस्ता खालका चुनौती देखिएका छन् र आगामी दिनका योजना के छन् ?
–चुनौती नभएको ठाउँमा काम गर्नुको कुनै अर्थ हुँदैन । म सधैं भन्छु । हरेक समस्याको एउटा एक्स्पायरी डेट हुन्छ । समस्या आउँछन् र समाधान पनि हुन्छन् । मुख्य कुरा नेतृत्वको धैर्यता र नियत हो । मेरो नियत सधैं नेप्सेको हित र लगानीकर्ताको सुरक्षामा केन्द्रित छ ।
हालको प्रणालीलाई अझ परिष्कृत गर्ने वा नयाँ प्रविधिमा जाने भन्नेबारे गृहकार्य भइरहेको छ । ग्रामीण क्षेत्रका लगानीकर्तासम्म पुँजीबजारको ज्ञान पुर्याउन देशभर शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
अहिलेसम्म हाम्रो बजार बैंक र जलविद्युत्मा बढी निर्भर छ । अब उत्पादनमूलक उद्योग, सिमेन्ट, पर्यटन र सेवा क्षेत्रका कम्पनीहरूलाई बजारमा ल्याउन विशेष प्रोत्साहनका कार्यक्रमहरू ल्याइनेछ ।
- पुँजीबजार विस्तार र उत्पादनमूलक उद्योगलाई बजारमा ल्याउन के भइरहेको छ ?
–पुँजीबजारको सुधार कुनै एउटा व्यक्ति वा एउटा संस्थाको प्रयासले मात्र सम्भव छैन । यसमा नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेप्से, सीडीएससी र ब्रोकरहरूको सामूहिक प्रयास चाहिन्छ । हामी सबै एकै रथका पाङ्ग्रा हौँ।
उत्पादनमूलक उद्योगहरूलाई पुँजीबजारमा आकर्षित गर्न हामीले प्रिमियम मूल्यमा सेयर जारी गर्न पाउने व्यवस्थालाई सहजीकरण गरिरहेका छौँ । वास्तविक क्षेत्रका कम्पनीहरू आउँदा बजारमा विविधीकरण हुन्छ र जोखिम कम हुन्छ ।
नेप्सेले आफ्नो तर्फबाट शतप्रतिशत प्रतिबद्ध भएर काम गरिरहेको छ । हामी सबै निकायसँग मिलेर नेपालको पुँजीबजारलाई दक्षिण एसियाकै एक उत्कृष्ट र पारदर्शी बजार बनाउने लक्ष्यमा अघि बढिरहेका छौँ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण