बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

करण जोहरको जित : अदालतको आदेशपछि क्यारी मिनाटीले हटाए विवादास्पद भिडियो

बुधबार, २८ माघ २०८२, १४ : ५०
बुधबार, २८ माघ २०८२

सारांश

  • मुम्बईको अदालतले युट्युबर क्यारी मिनाटीलाई फिल्म निर्माता करण जोहरको अपमानजनक भिडियो हटाउन आदेश दिएको छ।
  • क्यारी मिनाटीले करण जोहरको व्यक्तित्व र उनको च्याट शोको व्यङ्ग्य गर्दै रोस्ट भिडियो बनाएका थिए।
  • अदालतले मिनाटीको भिडियो मानहानिपूर्ण ठहर गर्दै सामाजिक सञ्जालबाट हटाउन आदेश दिएको छ।

काठमाडाैँ। मुम्बईको एउटा अदालतले चर्चित फिल्म निर्माता करण जोहरको पक्षमा फैसला सुनाउँदै प्रख्यात युट्युबर क्यारी मिनाटी (अजय नागर) लाई उनको अपमानजनक भिडियो हटाउन आदेश दिएको छ ।

केही समयअघि क्यारी मिनाटीले करण जोहरको व्यक्तित्व र उनको चर्चित च्याट शो ‘कफी विथ करण’ लाई व्यङ्ग्य गर्दै एउटा रोस्ट भिडियो पोस्ट गरेका थिए। उक्त भिडियोमा प्रयोग गरिएको भाषा र शैलीप्रति कडा आपत्ति जनाउँदै जोहरले अदालतमा मुद्दा दायर गरेका थिए ।

फेब्रुअरी ९ मा भएको सुनुवाइमा न्यायाधीश पाण्डुरंगा भोसलेले उक्त भिडियोलाई मानहानिपूर्ण ठहर गर्दै तत्काल हटाउन र यस्ता सामग्री पुनः साझा नगर्न अन्तरिम आदेश जारी गरेका छन् ।

अदालतको सुनुवाइका क्रममा न्यायाधीशले अजय नागर र उनका च्यानल म्यानेजर दीपक चारले वादी करण जोहरको विरुद्धमा अत्यन्तै अश्लील र मानहानिपूर्ण भाषा प्रयोग गरेको प्रथम दृष्टिमै देखिएको बताएका छन् । 

अदालतले यस्ता भिडियोहरूले व्यक्तिको प्रतिष्ठामा आँच पुर्‍याउने भएकाले यसलाई तत्काल सामाजिक सञ्जालबाट हटाउनुपर्ने र अन्य प्रयोगकर्ताहरूलाई पनि यसलाई फैलाउन वा पुनः साझा गर्न रोक लगाउनुपर्ने स्पष्ट पारेको छ। यो आदेशसँगै सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता र मानहानिको सीमाबारे नयाँ बहस सुरु भएको छ ।

यो विवादको मुख्य जड क्यारी मिनाटीले आफ्नो युट्युब च्यानलमा पोस्ट गरेको ‘कफी विथ जलन’ शीर्षकको भिडियो हो। ४५.३ मिलियनभन्दा बढी सब्सक्राइबर भएका क्यारी मिनाटीले यस भिडियोमा करण जोहरको जस्तै भेषभुषा बनाएर उनको उपहास गरेका थिए ।

भिडियोमा करणका अतिरिक्त रेस्लर खली, रणवीर सिंह र सलमान खानको समेत नक्कल गर्दै अभद्र टिप्पणीहरू गरिएका थिए । करण जोहरले आफ्नो मानमर्दन भएको भन्दै कानुनी बाटो रोजेपछि अदालतले उनको सम्मानको रक्षा गर्दै यो कदम चालेको हो ।

अदालतको आदेशपछि क्यारी मिनाटीले आफ्नो आधिकारिक च्यानलबाट उक्त विवादित भिडियो हटाइसकेका छन् । यद्यपि, इन्टरनेटका अन्य विभिन्न च्यानल र प्लेटफर्महरूमा अझै पनि यो भिडियो उपलब्ध देखिएको छ । अदालतले आफ्नो आदेशमा स्पष्ट रूपमा यो भिडियो फैलाउने जोकोही विरुद्ध पनि कारबाही हुन सक्ने चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप