शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

हरेक व्यक्ति कानुनी र नैतिकताको दायराभित्र रहनुपर्छ : प्रदेश प्रमुख देवकोटा

बुधबार, २८ माघ २०८२, १८ : ३५
बुधबार, २८ माघ २०८२

काठमाडाैँ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हरेक व्यक्ति कानुनी र नैतिकताको दायराभित्र रहनुपर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसको अवसरमा हेटौंडास्थित कार्यालयले बुधवार आयोजना गरेको समारोहमा प्रदेश प्रमुख देवकोटाले सार्वजनिक पद धारण गरेको व्यक्तिमा स्वच्छता र सदाचारिता हुनुपर्ने बताएका हुन् ।

अख्तियारको हरेक कदमलाई आम नागरिकले नियालिरहेको उनले बताए । नियम कानूनको परिधीभित्र रहेर परिणामुखी कार्य गरी जनताको भरोसा जित्न सक्नुपर्ने उनको भनाइ छ । प्रदेश प्रमुख देवकोटाले संख्यात्मक र सस्तो लोकप्रियता तर्फ अख्तियार लाग्न नहुनेमा पनि सचेत गराए ।

सुशासन र कानूनी सर्वोच्चताका बारेमा विद्यालय शिक्षादेखि नै गहन रुपमा पाठ्यक्रममा विषयवस्तु समावेश गरिनुपर्नेमा उनले जोड दिए। भ्रष्टाचाररुपी रोग लाग्न नदिन यथाशक्य पहल गर्नुपर्ने आवश्यकता समेत उनले औँल्याए।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भ्रष्टचारलाई नियन्त्रण भन्दा निर्मुल पार्नुपर्ने बताए । शासन सञ्चालन गर्ने राजनीतिक व्यक्तित्व, प्रशासन चलाउने निजामती संयन्त्रले भ्रष्टचार गर्दैनौँ, गर्न पनि दिन्नौँ भन्ने नारालाई व्यवहारमा पनि लागू गर्नुपर्ने उनले उल्लेख गरे।

अख्तियारमा उजुरी नै नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा उनको जोड थियो । लोकतन्त्रमा जनता नै सर्वोपरि भएकोले अख्तियारको काम कारवाही जनताको पक्षमा हुनुपर्ने उनले बताए । बजेट खर्च नभएर सरकार नै असफल भइरहेको सन्दर्भमा फाइल अख्तियारमा पेन्डिङमा रहनु दुर्भाग्यपूर्ण भएको उनले जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप