‘ओ रोमियो’को एड्भान्स बुकिङ आक्रामक, ‘बोर्डर २’ लाई धक्का
मुम्बई । बलिउड अभिनेता शाहिद कपुरको बहुप्रतिक्षीत फिल्म ‘ओ रोमियो’ शुक्रबारदेखि प्रदर्शन हुँदै छ ।
दर्शकले फिल्ममार्फत शाहिदलाई पुनः एकपटक कबिर सिंहजस्तै आक्रामक र दमदार अन्दाजमा देख्न सक्नेछन् । फिल्मको एड्भान्स टिकट बुकिङ आक्रमक देखिएको छ । फेब्रुअरी १० देखि सुरु भएको एड्भान्स टिकट बुकिङले बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ ।
भारतीय मिडियाका अनुसार यो समाचार तयार गर्दासम्म फिल्मको देशभर ५० हजार ३ सय ६१ भन्दा बढी टिकट बिक्री भइसकेका छन् । यस फिल्मले ब्लक सिटसहित एड्भान्स बुकिङबाटै अहिलेसम्म ३.२६ करोड भारु संकलन गरिसकेको छ। फिल्मको प्रदर्शन दिनसम्म तथ्याङ्कमा थप वृद्धि हुने निश्चित छ ।
विशाल भारद्वाजको निर्देशन रहेको फिल्मको कुल बजेट करिब ७५ देखि ८० करोड रुपैयाँ बताइएको छ । बक्सअफिसमा आफ्नो भविष्य सुरक्षित गर्न यो फिल्मले पहिलो दिन (ओपनिङ डे) कम्तीमा १० करोड रुपैयाँभन्दा बढीको व्यापार गर्नुपर्ने देखिन्छ ।
यतिबेला सिनेमाघरमा सनी देओल, दिलजित दोसान्झ, वरुण धवन र अहान शेट्टी स्टारर फिल्म ‘बोर्डर २’ को दबदबा छ, जसले ३०० करोडको आँकडा पार गरिसकेको छ । यस्तो अवस्थामा ‘ओ रोमियो’ ले ‘बोर्डर २’ को कमाइलाई कत्तिको असर पार्छ भन्ने कुरा निकै रोचक हुनेछ ।
‘ओ रोमियो’ को टिजर र ट्रेलरले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ । यो एक ‘ग्याङस्टर रोमान्टिक ड्रामा’ फिल्म हो । फिल्ममा शाहिद कपुर ‘हुसेन उस्तरा’को भूमिकामा देखिनेछन् । फिल्ममा शाहिदका साथै विक्रान्त मेस्सी र तमन्ना भाटियाको पनि मुख्य भूमिका छ ।
फिल्मका लागि विक्रान्त र तमन्नाले कुनै पारिश्रमिक नलिएको चर्चा छ । नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मले शाहिद कपुरलाई अर्को एउटा ब्लकबस्टर सफलता दिलाउने अपेक्षा गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण