बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फ्राइडे रिलिज : भिड्दै बिगुल, श्री बुकुरो र शिवांश

शुक्रबार, ०१ फागुन २०८२, ११ : १९
शुक्रबार, ०१ फागुन २०८२

सारांश

  • शुक्रबारबाट नेपाली चलचित्र बजारमा 'बिगुल', 'श्री बुकुरो', र 'शिवांश' रिलिज भएका छन्।
  • 'बिगुल' राजनीतिक मुद्दामा केन्द्रित छ भने 'श्री बुकुरो' पारिवारिक कथामा आधारित छ।
  • 'शिवांश' शिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको पौराणिक कथामा आधारित फिल्म हो।

काठमाडौँ । नेपाली चलचित्र बजारमा आज शुक्रबार (फागुन १ गते) बाट एकसाथ तीन नयाँ फिल्महरू प्रदर्शनमा आए । ‘फ्राइडे रिलिज’ को परम्पराअनुसार राजनीति, परिवार र पौराणिक कथावस्तुमा आधारित फिल्महरू ‘बिगुल’, ‘श्री बुकुरोः द होम कलिङ’ र ‘शिवांश’ देशभर एक–अर्कोसँग का हलमा व्यावसायिक प्रतिस्पर्धा सुरु गरेका हुन् ।

यद्यपि, यी तीन नयाँ फिल्मका लागि हलमा चुनौती भने कायमै छ । अघिल्ला साताहरूमा रिलिज भएर दर्शकको साथ पाइरहेका फिल्म ‘आबाट आमा’ र ‘कुमारी’ले अझै पनि केही मुख्य स्टेसनहरू ओगटेका छन् ।

जसका कारण यी तीन फिल्मले सबै पर्दा कब्जा गर्न पाएका छैनन् । फरक–फरक विधा र शैलीका तीन फिल्म एकै पटक मैदानमा उत्रिएपछि दर्शकले आफ्नो रुचिअनुसार फिल्म छनोट गर्ने अवसर पाएका छन् ।

बिगुल

रमेश कोइरालाको निर्देशन रहेको ‘बिगुल’ समसामयिक राजनीतिक मुद्दामा केन्द्रित छ । विशेषगरी ‘जेनजी’ पुस्ताको आन्दोलन र भ्रष्टाचार विरुद्धको आवाजलाई फिल्मले मुख्य विषय बनाएको छ ।

कांग्रेस नेता दिनेश कोइराला निर्माता रहेको यस फिल्ममा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह र सरोज खनालजस्ता पाका तथा स्थापित कलाकारहरूको अभिनय छ । हालै आयोजित प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको यो फिल्मले निर्वाचनको पूर्वसन्ध्यामा दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ ।

श्री बुकुरो

सुदीप भुपाल सिंहको लेखन तथा निर्देशन रहेको ‘श्री बुकुरोः द होम कलिङ’ एउटा विशुद्ध पारिवारिक कथामा बनेको हो । फिल्मले हराउँदै गएको पारिवारिक मूल्य–मान्यता, घर फर्कने चाहना र मानवीय सम्बन्धका भावनात्मक पक्षहरूलाई उजागर गरेको छ ।

रुवि सेन सिंहले निर्माण गरेको यस फिल्ममा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी शीर्ष भूमिकामा छिन् भने आशीर्वाद क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, राजन इशान, लय संग्रौला र मोहन निरौलालगायतको अभिनय छ ।

शिवांश

कुमार आत्रेयको निर्देशनमा बनेको फिल्म ‘शिवांश’ शिवरात्रिको पूर्वसन्ध्या पारेर प्रदर्शनमा ल्याइएको हो । भगवान शिवको पौराणिक कथावस्तुमा आधारित भनिएको यस फिल्ममा प्रवीण खतिवडा मुख्य भूमिकामा देखिएका छन् ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको यस फिल्ममा तेज गिरी र रुषा न्यौपानेको पनि अभिनय छ । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको यो फिल्मले आध्यात्मिक रुचि भएका दर्शकलाई आकर्षित गर्ने बताइन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप