बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘स्विफ्ट होम’ रोक्न अमेरिकी सरकारलाई टेलर स्विफ्टको आग्रह

शुक्रबार, ०१ फागुन २०८२, १३ : ४९
शुक्रबार, ०१ फागुन २०८२

सारांश

  • अमेरिकी गायिका टेलर स्विफ्टले 'स्विफ्ट होम' ट्रेडमार्कको विरोध गरिन्।
  • क्याथे होमले 'स्विफ्ट होम' नाम प्रयोग गर्दा स्विफ्टको उत्पादन हो भन्ने भ्रम पर्न सक्ने भन्दै आपत्ति जनाइएको छ।
  • टेलर स्विफ्टको कानुनी टोलीले ट्रेडमार्क कार्यालयमा उजुरी दर्ता गर्दै ब्रान्ड पहिचानको फाइदा उठाउन खोजेको आरोप लगाएको छ।

वासिङ्टन डीसी । चर्चित अमेरिकी पप गायिका टेलर स्विफ्टले ‘स्विफ्ट होम’ नामक ट्रेडमार्क दर्ता गर्ने प्रयासविरुद्ध अमेरिकी सरकारसमक्ष आपत्ति जनाएकी छिन् । बेडिङ सामग्री बिक्री गर्ने कम्पनी क्याथे होमले उक्त नाम प्रयोग गर्दा उपभोक्ताले स्विफ्टले उत्पादन अनुमोदन गरेको भ्रम पर्न सक्ने भन्दै उनको कानुनी टोलीले हस्तक्षेप गरेको हो ।

टेलर स्विफ्टको अधिकार व्यवस्थापन कम्पनी तास राइट्स म्यानेजमेन्ट एलएलसीमार्फत अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा दर्ता भएको उजुरीमा ‘स्विफ्ट होम’ ब्रान्डमा प्रयोग गरिएको ‘स्विफ्ट’ शब्दको शैली स्विफ्टको आधिकारिक कर्सिभ हस्ताक्षरसँग मिल्दोजुल्दो रहेको उल्लेख गरिएको छ । यसले कलाकारको लोकप्रियता र ब्रान्ड पहिचानको फाइदा उठाउने उद्देश्य राखेको आरोप लगाइएको छ ।

न्युयोर्कमा स्थापना भएको क्याथे होमले ठुलो खुद्रा बिक्रेतामार्फत आफ्ना बेडिङ उत्पादन बिक्री गर्दै आएको । सोही उत्पादनका लागि यसले ‘स्विफ्ट होम’ नाममा ट्रेडमार्क दर्ता गराउन आवेदन दिएको थियो ।

उजुरीपत्रमा स्विफ्टको नाम, हस्ताक्षर तथा संगीतसम्बन्धी उत्पादनसँगै बेडिङ र लुगा जस्ता वस्तुमा समेत उनको ट्रेडमार्क कानुनी रूपमा सुरक्षित रहेको उल्लेख छ । 

स्विफ्टले अमेरिका र अन्य मुलुकमा ३०० भन्दा बढी ट्रेडमार्क दर्ता गराइसकेकी छन्, जसमा उनका एल्बम शीर्षक, नाम र केही गीतका शब्द पनि समावेश छन् । अहिलेसम्म क्याथे होम वा स्विफ्टका प्रतिनिधिहरूले यस मामिलामा सार्वजनिक टिप्पणी गरेका छैनन् ।

यो विवादले चर्चित कलाकारको ब्रान्ड पहिचान र व्यावसायिक नाम प्रयोगसम्बन्धी कानुनी अधिकारबारे फेरि बहस सुरु गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप