के बंगलादेशको नयाँ नेतृत्वले देशमा परिवर्तन ल्याउन सक्ला ?
सारांश
- बंगलादेश नेसनल पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएका छन्।
- शेख हसिनाको बहिर्गमनपछि युवा पुस्ता र विपक्षी दलहरूले लोकतन्त्र पुनर्स्थापना र भ्रष्टाचारमुक्त देशको माग गरेका छन्।
- नयाँ सरकारका लागि शान्ति सुरक्षा, अर्थतन्त्र सुधार, खाद्य पदार्थको मूल्य घटाउनु र रोजगारी सिर्जना गर्नु चुनौतीका रूपमा रहेका छन्।
ढाका । बंगलादेश नेसनल पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ। सत्ता सञ्चालनको कुनै पूर्वअनुभव नभए पनि उनी मुलुकको कार्यकारी प्रमुखको भूमिकामा देखिने भएका छन्।
करिब दुई वर्षअघि शेख हसिनाले जितेको चुनावलाई व्यापक रूपमा धाँधलीपूर्ण मानिएको थियो। त्यसबेला हसिनाको १५ वर्षे लामो सत्ता अचानक अन्त्य होला वा लगभग अस्तित्व नै गुमाइसकेको विपक्षी दलले यति ठूलो र शानदार पुनरागमन गर्ला भन्ने कल्पना गर्न पनि कठिन थियो। तर, बंगलादेशी राजनीतिको चक्रमा यो हसिनाको अवामी लिग र बीएनपीबीच दशकौंदेखि चल्दै आएको सत्ता अदलबदलको अर्को शृङ्खला सावित भएको छ।
यसपटकको फरक के छ भने बीएनपीका नयाँ नेता तारिक रहमानले औपचारिक रूपमा पार्टीको नेतृत्व गरेको र चुनाव लडेको यो पहिलो पटक हो। उनकी आमा तथा पार्टीकी पूर्वप्रमुख खालिदा जियाको गत वर्षको अन्त्यतिर बिरामी भएर निधन भएको थियो। चार दशकसम्म पार्टीको नेतृत्व गरेकी खालिदा जियाले आफ्ना पति तथा बीएनपीका संस्थापक जियाउर रहमानको हत्यापछि पार्टी सम्हालेकी थिइन्।
आमा सत्तामा हुँदा नातावादको फाइदा उठाएको र भ्रष्टाचार गरेको आरोप खेपेका ६० वर्षीय रहमान आमाको निधन हुनुभन्दा पाँच दिनअघि मात्र १७ वर्ष लामो लण्डन निर्वासनबाट स्वदेश फर्किएका थिए। आमा जेलमा वा बिरामी हुँदा उनले पार्टीको अघोषित नेतृत्व गरेका भए पनि उनलाई धेरैले अझै नखारिएका नेता' का रूपमा हेर्ने गरेका छन्।
राजनीतिशास्त्री नभिन मुर्शिद भन्छिन्, 'उनको विगतको अनुभव नहुनु सायद उनका लागि सकारात्मक पक्ष बन्न सक्छ, किनकि जनता परिवर्तनलाई मौका दिन चाहन्छन्। मानिसहरू नयाँ र राम्रा कुराहरू वास्तवमै सम्भव छन् भन्ने सोच्न चाहन्छन्, त्यसैले धेरै आशा गरिएको छ।'
युवा पुस्ताको खबरदारी
बीएनपीले ठूलो जित हासिल गरेसँगै आफ्नो पहिलो प्राथमिकता लोकतन्त्र पुनर्स्थापना गर्नु रहेको बताएको छ। बीएनपीका वरिष्ठ नेता अमिर खसरु महमुद चौधरीले भने, 'पछिल्लो दशकमा ध्वस्त पारिएका सबै लोकतान्त्रिक र वित्तीय संस्थाहरूलाई हामीले सबैभन्दा पहिले सुधार्नु पर्नेछ।'
बंगलादेशमा यस्ता वाचाहरू गर्ने र तोड्ने लामो इतिहास छ, जहाँ दलहरू सत्तामा पुगेपछि झन् निरंकुश बन्ने गरेका छन्। तर, सन् २०२४ को 'जुलाई विद्रोह' मार्फत हसिनालाई हटाउने युवा पुस्ता भने यसपटक पुरानै प्रवृत्तिको पुनरावृत्ति स्वीकार गर्ने मुडमा छैनन्।
विद्रोहमा सहभागी १९ वर्षीया ताजिन अहमद भन्छिन्, 'हामी फेरि लड्न चाहँदैनौं। अघिल्लो प्रधानमन्त्रीको बहिर्गमन मात्र हाम्रो जित थिएन। जब देश बिना कुनै भ्रष्टाचार चल्छ र अर्थतन्त्र राम्रो हुन्छ, त्यो नै हाम्रो मुख्य जित हुनेछ।' उनकी २१ वर्षीया दिदी तहमिन तस्निमले चेतावनी दिँदै भनिन्, 'हामीले पहिलो कुरा जनताबीचको एकता चाहेका छौं। हामी विद्रोहको हिस्सा बनिसकेका छौं र हामीलाई कसरी प्रतिवाद गर्ने भन्ने थाहा छ। त्यसैले यदि उही कुरा दोहोरियो भने हामीसँग फेरि त्यसो गर्ने अधिकार हुनेछ।'
चुनौतीका चाङ र नयाँ अनुहार
हसिनाको बहिर्गमनपछि अन्तरिम नेता मोहम्मद युनुसको कार्यकाल पनि हिंसाबाट मुक्त रहन सकेन। अब बन्ने नयाँ सरकारका लागि शान्ति सुरक्षा कायम गर्नु पहिलो प्राथमिकता हुनेछ। साथै, अर्थतन्त्र उकास्नु, खाद्य पदार्थको मूल्य घटाउनु र बंगलादेशको ठूलो युवा जनसंख्याका लागि रोजगारी सिर्जना गर्नु ठूला चुनौतीका रूपमा खडा छन्।
समाजशास्त्री समिना लुत्फाका अनुसार सरकार चलाउने अनुभवको कमी सबै दलमा देखिन्छ। इतिहासमा दुईपटक प्रतिबन्धित भइसकेको इस्लामिक पार्टी जमात-ए-इस्लामी र विद्यार्थीहरूको नेतृत्वमा बनेको नेसनल सिटिजन्स पार्टी (एनसीपी) ले पनि संसदमा स्थान पाएका छन्।
एनसीपीले आफ्नो पहिलो प्रयासमै ६ सिट जितेको छ। 'हामीले संसदमा कहिल्यै नदेखिएका नेताहरू देख्नेछौं,' लुत्फाले भनिन्, 'एनसीपीका युवाहरूले धेरै सिक्न बाँकी छ। अन्य पुराना नेताहरू भए पनि उनीहरूसँग देश चलाउने अनुभव छैन। त्यसैले यो निकै कठिन काम हुनेछ।'
जमातले आफ्नो घोषणापत्रमा धर्मनिरपेक्षता र विकासमा जोड दिँदै इस्लामिक कानुनको उल्लेख गरेको छैन। तर, पार्टीको वेबसाइटमा राजनीतिक शक्तिबिना इस्लामिक कानुन लागू गर्न नसकिने उल्लेख हुनुले प्रश्नहरू उब्जाएको छ।
अवामी लिगको भविष्य
सबै राजनीतिक दलहरूले बंगलादेशका महिलाहरूलाई निराश बनाएको आरोप लागेको छ। कुल उम्मेदवारमध्ये ४ प्रतिशतभन्दा थोरै मात्र महिला थिए। समाजशास्त्री लुत्फा भन्छिन्, 'जुलाई विद्रोहमा सहभागी हामी महिलाहरूको सामूहिक शक्तिलाई औपचारिक राजनीतिक चुनावी मैदानमा रूपान्तरण गर्न सबै दलहरू असफल भए।'
बंगलादेशको संसदमा ३५० सिटमध्ये ३०० प्रत्यक्ष निर्वाचित हुन्छन् भने ५० सिट महिलाका लागि आरक्षित छन्, जुन दलहरूको चुनावी प्रदर्शनका आधारमा मनोनीत गरिन्छ।
यो चुनाव विगतका केही चुनावभन्दा नितान्त फरक र प्रतिस्पर्धी देखिए पनि, हसिनाको पार्टी अवामी लिगलाई चुनावमा भाग लिन प्रतिबन्ध लगाइएकाले यसको विश्वसनीयतामा भने प्रश्न उठेको छ। भारतमा निर्वासित जीवन बिताइरहेकी शेख हसिनाले बिहीबारको चुनावलाई धोका र प्रहसनको संज्ञा दिँदै अवामी लिगलाई सहभागी गराएर नयाँ चुनावको माग गरेकी छन्।
हाल अवामी लिगप्रति जनताको आक्रोश तीव्र छ। बीएनपीका नेता चौधरीले अवामी लिगको भविष्य जनताले नै तय गर्ने बताएका छन्। तर, बंगलादेशको राजनीतिक इतिहासलाई हेर्दा अवामी लिगलाई सधैंभरिका लागि पाखा लगाउन सकिने वा अवस्था भने देखिँदैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण