बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
ब्याटलग्राउन्ड : कैलाली–३

कैलाली–३ मा पुराना दलहरूबिच त्रिपक्षीय प्रतिस्पर्धाबिच नतिजा आफ्नो पक्षमा पार्ने रास्वपाको दाउ

सोमबार, ०४ फागुन २०८२, १८ : ००
सोमबार, ०४ फागुन २०८२

सारांश

  • कैलाली क्षेत्र नम्बर ३ मा कांग्रेस, एमाले, नेकपा र रास्वपा प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन्।
  • थारु बाहुल्य क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको प्रभाव र किसानहरूको चुनावी चासोको विषय बनेको छ।
  • स्थानीय मतदाताहरूले पुरानो भन्दा नयाँ उम्मेदवारलाई प्राथमिकता दिने संकेत देखिएको छ।
00:00 / NaN:NaN
Audio By AI

धनगढी । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कैलाली क्षेत्र नम्बर ३ मा कांग्रेस, एमाले र नेकपा नै प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन् । युवाहरूले खोजेको परिवर्तन र पुराना दलप्रतिको वितृष्णाको बलमा रास्वपाले पनि आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा उभ्याएको छ ।

थारु मतदाताको बाहुल्यता रहेको यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी नेपालको प्रभाव कस्तो रहला भन्नेमा पनि आम चासो छ । 

एमालेले यसपटक पनि पूर्वमाओवादी नेता गौरीशंकर चौधरीलाई नै उम्मेदवार बनाएको छ । चौधरी यो क्षेत्रका पुराना र चिनिएका नेता हुन् । २०७० र २०७४ को चुनावमा माओवादीबाट निर्वाचित उनले गत चुनावमा एमालेमा प्रवेश गरेर उम्मेदवार बन्ने मौका पाए । यद्यपि उनी पराजित भएका थिए ।

नेपाली कांग्रेसले जिल्ला उपसभापति भीमबहादुर बडुवाललाई उम्मेदवार बनाएको छ, जो संगठनको बलमा जित निकाल्ने दाउमा छन् ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पूर्वप्रदेश सभा सदस्य वीरमान चौधरी पनि बलियो प्रतिस्पर्धीका रूपमा देखिएका छन् । परिवर्तनको नारा बोकेको रास्वपाबाट जगतप्रसाद जोशी र स्थानीय सेन्टिमेन्ट समात्न खोजिरहेको नागरिक उन्मुक्ति नेपालबाट विक्रम चौधरीको उपस्थितिले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाइदिएको छ । नागरिक उन्मुक्ति पार्टी नेपाल यस क्षेत्रका प्रभावशाली थरुहट नेता रेशम चौधरीको संरक्षकत्वमा गठन भएको हो । यहाँ रञ्जिता चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले भने यस पटक नेपाली कम्युनिस्ट पार्टीसँग सहकार्य गरेको छ ।

चोक–बजारमा चुनावको चहलपहल देखिए पनि भजनी र कैलारी गाउँपालिकाका किसान यतिबेला खेतमै भेटिन्छन् । भजनी नगरपालिका–८ की कुइरीदेवी चौधरीको दिनचर्या खेतमै बित्छ । उनलाई चुनावी सभा र भाषणले खासै छोएको छैन ।

चुनावको मुखमा खेतबारीमा सीमित रहनुको कारण खुलाउँदै कुइरीदेवीले भनिन्, ‘हाम्रालागि त खेतीपाती नै ठुलो हो । भोटको दिन आएपछि छरछिमेकमा सल्लाह गरेर भोट हालौँला ।’

कुइरीदेवी जस्ता धेरै किसानलाई नेताका कुराभन्दा आकाशको मौसमले बढी पिरोल्छ । बर्खामा डुबान हुने भएकाले अहिले उनीहरू चैते धान लगाउन व्यस्त छन्, ताकि बाढी आउनुअघि नै केही अनाज जोहो गर्न सकियोस् ।

थारु बहुल बस्तीहरूमा चुनावी प्रचारको शैली पनि बेग्लै छ । यहाँका गाउँहरूमा भलमन्सा र बडघर (गाउँको मुख्य मान्छे)को निर्णयले अझै पनि ठुलो अर्थ राख्छ । त्यसैले राजनीतिक दलका नेताहरू सिधै मतदाताको घरमा भन्दा भलमन्साको फोनमा बढी झुन्डिरहेका छन् ।

कैलारीका स्थानीय मनीराम चौधरीले भने, ‘अहिले नेताहरूले भलमन्सालाई फकाउन निकै जोड दिइरहेका छन् । गाउँको एकमुष्ठ भोट तान्न भलमन्सालाई प्रभावमा पार्नु उनीहरूका लागि सजिलो बाटो भएको छ ।’

किसानका समस्याप्रति राज्यको उदासीनता रहेको भजनीकी गीता चौधरीको गुनासो छ । ‘धानको उचित मूल्य कहिल्यै पाइँदैन, समयमा मल पाइँदैन । बर्खामा घर डुब्छ, खेत बग्छ, तर अहिलेसम्म कुनै सरकारले हाम्रो आँसु पुछ्न आएन । त्यसैले भोट दिँदा अब धेरै सोच्नुपर्ने भएको छ,’ उनले भनिन् ।

स्थानीय व्यापारी र युवाहरूसँग कुरा गर्दा एउटा स्पष्ट चित्र देखिन्छ– मानिसहरू अब पार्टीको झण्डा मात्रै हेर्न तयार छैनन् । ५० जना किसान, व्यापारी र युवासँग रातोपाटीले गरेको अनौपचारिक कुराकानीमा १३ जनाले मात्रै पुरानै चिनजानको मान्छेलाई भोट दिने बताए । २७ जनाले सिधै अब नयाँलाई पालो दिनुपर्छ भन्ने धारणा राखे भने बाँकी १० जनाले सल्लाह गरेरमात्रै निर्णय लिने बताए ।

विगतका निर्वाचनको मत परिणामलाई हेर्ने हो भने पनि यहाँको राजनीतिक धरातल निकै फेरिएको देखिन्छ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मत हेर्दा नागरिक उन्मुक्ति पार्टी २१ हजार ५४९ मतका साथ सबैभन्दा अगाडि थियो । दोस्रोमा रहेको कांग्रेसको १० हजार ७ र तेस्रोमा माओवादी केन्द्रको ८ हजार ४१६ मत थियो । एमाले ७ हजार ५३१ मतमा खुम्चिएको थियो भने नयाँ शक्तिका रूपमा रहेको रास्वपाले ३ हजार ८२१ मत ल्याएर आफ्नो उपस्थिति बलियो बनाइसकेको थियो ।

अहिलेको परिस्थिति फेरिएको छ । स्थानीय शिक्षक मोतीराम रिजालले भने, ‘समानुपातिकको मतले एउटा सङ्केत त दिएकै हो, तर प्रत्यक्षतर्फको लडाइँ अलि फरक हुन्छ । यहाँ उम्मेदवारको व्यक्तित्व, थारु र गैरथारु मतको सन्तुलन र भलमन्साहरूको भूमिकाले अन्तिम परिणाम तय गर्छ ।’

पुराना दलहरूले अघिल्ला चुनावहरूमा जस्तो सहजै जित्ने अवस्था अब नरहने उनको दाबी छ ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा यहाँ नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका थिए । चौधरीले २३ हजार १२० मत पाउँदा उनका प्रतिस्पर्धी तत्कालीन नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाएका थिए ।

त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार गौरीशंकर चौधरीले नौ हजार ८७४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमले सात हजार ४५ मत पाएका थिए ।

घोडाघोडी नगरपालिका, भजनी र कैलारी गाउँपालिकाका केही वडा समेटिएको यो क्षेत्रमा अहिले आफ्नो मान्छेभन्दा पनि काम गर्ने मान्छेको खोजी भइरहेको मतदाताहरूको भनाइ छ ।

एकातिर पुराना नेताहरू आफ्नो अनुभव र पहिले गरेका कामको फेहरिस्त सुनाइरहेका छन् भने अर्कातिर नयाँ उम्मेदवारहरू परिवर्तन र नयाँ जोशको नारा दिएर मतदातालाई लोभ्याइरहेका घोडाघोडीका स्थानीय धनीराम विकले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप