रास्वपा करारपत्रको त्यो वाक्यांश : दोहोरो नागरिकता खुलाउन खोजेको हो ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिक करारपत्र सार्वजनिक गर्यो, जसमा ५ वर्षभित्र गरिने कामहरू समावेश छन्।
- करारपत्रमा, रास्वपाले विदेशमा बस्ने नेपालीका लागि अनलाइन मताधिकार र वंशजको नागरिकताको निरन्तरताको विषयलाई उठाएको छ।
- रास्वपाले दोहोरो नागरिकताको व्यवस्था गर्न खोज्दा संविधान संशोधन आवश्यक पर्ने र यो तत्काल सम्भव नदेखिएको बताइएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार नागरिक करारपत्र सार्वजनिक गर्यो । वाचापत्र (रास्वपाको घोषणापत्र) जारी गर्ने तयारीमा रहेको उक्त पार्टीले यसको पूर्वसन्ध्यामा यसको मुख्य बुँदा (हाइलाइट)लाई समेटेर करारपत्र सार्वजनिक गरेको हो ।
उक्त करारपत्रमा आफ्नो पार्टीलाई बहुमत दिएमा पाँच वर्षभित्र गरिने कामका पाँच वटा बुँदा सार्वजनिक गरिएका छन् । सदाचार र असल शासन, मध्यम वर्गीय विस्तार, काम काम र काम, कनेक्टिभिटी र प्रवास गरी पाँच बुँदाका सम्बन्धमा अहिलेको अवस्था र लक्ष्य उल्लेख गरिएको छ ।
रास्वपाले भ्रष्टाचार अन्त्य गर्ने र २०४६ पछि सत्तामा रहेका सबैको सम्पत्ति छानबिन गर्ने, प्रतिव्यक्ति औसत आयलाई ३ हजार डलर र कुल ग्राहस्थ उत्पादन (जीडीपी) लाई १०० खर्ब पुर्याउने, एकीकृत सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने तथा ब्याजको नाममा हुँदै आएको शोषण नियमन गर्ने विषय छन् ।
१२ लाख रोजगारी सिर्जना, १५ हजार मेगावाट जलविद्युत् उत्पादन, २० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माण र १० वटा राष्ट्रिय महत्त्वका सिग्नेचर आयोजना पूरा गर्नेजस्ता महत्त्वाकाङ्क्षी प्रतिज्ञा समेत ‘नागरिक करारपत्र’ समावेश गरिएका छन् । यी सबै आयोजना पूरा गर्न पार्टीलाई एकल बहुमत दिनुपर्ने रास्वपाको सर्त छ ।
त्यस्तै, करारपत्रमा उल्लेखित प्रवाससम्बन्धी लक्ष्य उल्लेख छ । यसमा भनिएको छ – ‘विदेशमा बस्ने नेपालीलाई अनलाइन मताधिकार, वंशजको नागरिकताको निरन्तरता, सार्वभौम डायस्पोरा फन्डको कार्यान्वयन, सुरक्षित लगानी र सम्मानित देशफिर्तीको वातावरण र मर्यादित वैदेशिक रोजगारी ।’

यहाँनेर सबैभन्दा चासोको विषय प्रवासीका सम्बन्धमा ‘वंशजको नागरिकताको निरन्तरता’ भन्ने विषय छ । विस्तृतमा उल्लेख नभए पनि यो वाक्यांशले वंशजको आधारमा नेपाली नागरिकता भएका व्यक्तिले विदेशी नागरिकता लिएको अवस्थामा पनि नेपाली वंशजको नागरिकता कायमै हुने व्यवस्था बुझाउँछ । जुन नेपालको संविधानमा अहिले भएभन्दा फरक व्यवस्था हो ।
अधिकांश अमेरिकी तथा युरोपेली देशले यो व्यवस्था खुला गरेकोले विश्वका धेरै मुलुकमा भने दोहोरो नागरिकता खुला छन् । अहिले विश्वका १३० हाराहारी देशमा दोहोरो नागरिकता खुला छ । अमेरिकाले डाईभर्सिटी भिसा (डीभी) को नाममा नेपालीलाई अमेरिकाको नागरिकता दिएर लैजाने गरेको छ, यसरी नागरिकता प्राप्त गर्दा उसले विदेशी नागरिकता त्याग्नु भने पर्दैन ।
नेपालजस्तो अल्पविकसित तथा विकासशील मुलुकले एउटै व्यक्तिको दोहोरो नागरिकताको परिकल्पना गरेको हुँदैन । चीन, भारत लगायत एसियाली मुलुकले दोहोरो नागरिकताको व्यवस्था गरेका छैनन् । भारतले त विवाह गरेर गएकी महिलालाई अंगीकृत नागरिकता दिनसमेत सात वर्ष कुर्ने व्यवस्था गरेको छ ।
यद्यपि अधिकांश अमेरिकी तथा युरोपेली देशले यो व्यवस्था खुला गरेकोले विश्वका धेरै मुलुकमा भने दोहोरो नागरिकता खुला छन् । अहिले विश्वका १३० हाराहारी देशमा दोहोरो नागरिकता खुला छ । अमेरिकाले डाईभर्सिटी भिसा (डीभी) को नाममा नेपालीलाई अमेरिकाको नागरिकता दिएर लैजाने गरेको छ, यसरी नागरिकता प्राप्त गर्दा उसले विदेशी नागरिकता त्याग्नु भने पर्दैन ।
झण्डै ७० वटा देशमा भने दोहोरो नागरिकताको व्यवस्था छैन । खासगरी यसरी दुई ठाउँमा नागरिकता हुने व्यवस्था गर्दा अर्को देशको नागरिकता प्राप्त गर्ने व्यक्तिसँग त्यो देशको राजनीतिक तथा प्रशासनिक अधिकार कायमै रहन्छ । यसो हुँदा देशको सार्वभौमसत्ता असर पुर्याउ नसक्ने आशंका सम्बन्धित देशले गरेका हुन्छन् ।
नेपालको कानुनले अन्य देशको नागरिकता प्राप्त गरिकेपछि नेपाली नागरिकता स्वतः खारेज भएको मानिने व्यवस्था गरेको छ । नागरिकता ऐन, २०६३ को दफा ११ मा ‘कुनै नेपाली नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन’ भन्ने व्यवस्था गरेको छ । यस्तै त्यस्तो व्यक्ति फेरि नेपालमा आएर बसोबास गरेको अवस्थामा विदेशी नागरिकता त्यागेको निस्सा बुझाएमा फेरि नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ । यी दुई कारण नेपालीले अहिलेसम्म दोहोरो नागरिकता प्राप्त गर्न सकेका छैनन् ।
यो समस्या समाधानका लागि गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिएको छ । यो व्यवस्था अनुसार सार्कबाहेक अन्य राष्ट्रको नागरिकले कुनै समयमा जन्म वा वंशजको आधारमा नागरिकता प्राप्त गरेको रहेछ भने त्यस्तो व्यक्ति वा त्यो व्यक्तिको तीन पुस्ता (छोराछोरी र नातिनितिनी) ले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नसक्ने उल्लेख गरिएको छ ।
गैरआवासीय नागरिकता प्राप्त गर्ने व्यक्तिले नेपालमा नेपाली नागरिकसरह बसोबास, सम्पत्ति र व्यवसायको अधिकार प्राप्त गर्छ । तर भोट हाल्न, कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न तथा सरकारी जागिर वा नियुक्ति प्राप्त गर्न भने योग्य हुँदैन ।
रास्वपाले ‘नागरिक करार’पत्रमा भनेजस्तै प्रवासीले यसअघि लिएको नागरिकता निरन्तर हुने हो भने अहिले बर्जित गरिएका सबै अधिकार गैर आवासीय नेपालीहरूलाई समेत प्राप्त हुन्छ । यो अवस्था हुने हो भने त्यसरी विदेशी नागरिकता प्राप्त गर्ने व्यक्तिका सन्तानले पनि स्वतः वंशजका आधारमा नेपाली नागरिकता पाउँछ । ‘कुनै पनि नेपाली नागरिकका सन्तानले वंशजको आधारमै नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था अहिलेको संविधानको धारा ११ (३) मा गरिएको छ ।

रविको सांसद र गृहमन्त्री गुमाएको त्यो मुद्दा
रविको नागरिकतासम्बन्धी उजुरी अहिले पनि महान्यायाधिवक्ता कार्यालयमा छ । भलै त्यो मुद्दा तामेलीमा राखिएको किन नहोस् । २०७९ सालमा पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित भएका लामिछाने नागरिकताकै कारण सांसद र गृहमन्त्रीबाट पदमुक्त हुनुपरेको थियो ।
सर्वोच्च अदालतले नेपालको संविधानले विदेशको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता स्वतः खारेज हुने भएकोले विदेशी नागरिकता त्याग गरी नेपाल फर्केमा फेरि नागरिकता प्राप्त गर्नुपर्ने फैसला गरेको थियो । लामिछानेले फेरि नागरिकता नलिएकोले त्यो अवधिमा भएको निर्वाचनसमेत स्वतः बदर भएको अदालतको फैसलामा उल्लेख थियो ।
रविको यही समस्यालाई सल्टाउन रास्वपा करारपत्रमार्फत यो व्यवस्था गर्न लागेको समेत चर्चा भएको छ, तर करारपत्रमा उल्लिखित ‘निरन्तरता दिने’ व्यवस्थाले भने दोहोरो नागरिकताको व्यवस्था गर्न लागेको बुझाउँछ ।
अहिले रास्वपाले करारमा उल्लेखित उक्त व्यवस्था पूरा गर्न बहुमत मागेको छ, जुन संविधान संशोधनका लागि आफैँमा पर्याप्त होइन, त्यसमाथि २/२ वर्षमा एक तिहाइ सांसद फेरिने राष्ट्रिय सभामा अहिले रास्वपाको शून्य प्रतिनिधित्व रहेको अवस्थामा यो पार्टी एक्लैले चाहेर मात्र यो कार्यकालमा संविधान संशोधन सम्भव देखिँदैन ।
यद्यपि रास्वपाले यसबारे प्रस्ट रुपमा व्याख्यासमेत गरेको छैन । पार्टीमा सहमहामन्त्री विपिन आचार्य यो करारपत्र घोषणापत्रको हाइलाइट मात्रै भएकोले बाचापत्रमा यसबारे विस्तृतमा उल्लेख हुने बताउँछन् ।
‘करारपत्र त हाइलाइट मात्रै हो, यसमा उल्लेखित सबै कुरा बाचापत्रमा विस्तृतमा आउँछ,’ आचार्य भन्छन्, ‘हामी फागुन ७ गते वाचापत्र ल्याउँदै छौँ, दुई दिनपछि यो विषय प्रस्ट रूपमा आउँछ ।’
रास्वपाले जित्दैमा पाउन सक्ला नागरिकताले निरन्तरता ?
नेपालमा दोहोरो नागरिकता दिन नमिल्ने भन्ने विषयमा नेपालको संविधानमा उल्लेख स्पष्ट उल्लेख छैन, बरु यसबारे नागरिकता ऐनको दफा १० मा व्याख्या गरिएको छ ।

तर, आशयमा भने संविधानले नै विदेशी नागरिकता लिएका व्यक्तिको नागरिकता निष्क्रिय हुने उल्लेख गरिएको छ । संविधानको धारा १४ मा ‘गैरआवासीय नेपाली नागरिकता’बारे व्यवस्था गर्दै संविधानले सार्क राष्ट्र बाहेकका देशमा बसोबास गरेको साविकमा वंशज वा जन्मको आधार नागरिकता प्राप्त गरेको व्यक्तिलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गैरआवासीय नागरिकता प्रदान गर्न सकिने’ उल्लेख छ ।
प्रस्ट रुपमा नभने पनि साविकमा नागरिकता पाएकालाई गैरआवासीय नागरिकताको व्यवस्था गर्नु दोहोरो नागरिकता प्राप्त गर्न नसक्ने अवस्था हो । त्यसैले दोहोरो नागरिकताको बाटो खुलाउन संविधानमै संशोधन गर्नुपर्ने अवस्था देखिन्छ, तर यसका लागि प्रतिनिधिसभाको बहुमतले पुग्दैन, संघीय संसदको दुवै सदनको दुई तिहाई मत चाहिन्छ ।
अहिले रास्वपाले करारमा उल्लेखित उक्त व्यवस्था पूरा गर्न बहुमत मागेको छ, जुन संविधान संशोधनका लागि आफैँमा पर्याप्त होइन, त्यसमाथि २/२ वर्षमा एक तिहाइ सांसद फेरिने राष्ट्रिय सभामा अहिले रास्वपाको शून्य प्रतिनिधित्व रहेको अवस्थामा यो पार्टी एक्लैले चाहेर मात्र यो कार्यकालमा संविधान संशोधन सम्भव देखिँदैन ।
तर, रविको जस्तै नेपाली नागरिकता हुँदाहुँदै विदेशी नागरिकता लिएको अवस्थामा ‘स्वतः खारेज’ भएको नेपालीले नागरिकतालाई विदेशी नागरिकता त्याग गरेर फर्केमा फेरि क्रियाशील हुने व्यवस्था भने नागरिकता ऐन संशोधन गरेरै गर्न सकिन्छ, यद्यपि यो विषय पनि विवादरहित भने हुने देखिँदैन ।
त्यसो त अहिले पनि धेरैजसो नेपाली नागरिकले विदेशको नागरिकता प्राप्त गर्दा नेपाली नागरिकता त्यागेको पाइँदैन । खासगरी युरोप तथा अमेरिकी मुलुकमा नागरिकता पाउन अर्को देशको नागरिकता त्यागेको प्रमाण नचाहिने भएकोले उनीहरूले नागरिकता त्याग्ने विषय प्राथमिकतामा नपर्ने गरेको देखिन्छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण