खोक्रो आश्वासन होइन, विश्वासिलो योजनाका आधारमा मत दिने मुडमा सर्लाही–३ का मतदाता
सारांश
- सर्लाही क्षेत्र नम्बर ३ मा उम्मेदवारहरू चुनाबी प्रचारमा सक्रिय भएका छन्।
- मतदाताहरूले यसपटक विगतका आश्वासन पूरा नगर्ने उम्मेदवारलाई भोट नदिने सोच बनाएका छन्।
- स्थानीयहरूले विकास, रोजगारी, र भ्रष्टाचार नियन्त्रणका मुद्दाहरूलाई प्राथमिकता दिने बताएका छन्।
जनकपुरधाम । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरू चुनाव प्रचारप्रसारमा होमिएका छन् । सोही क्रममा सर्लाही क्षेत्र नम्बर ३ का उम्मेदवारहरू पनि आफ्नो पक्षमा मत तान्न औपचारिक रूपमा प्रचारप्रसारमा सक्रिय भएका छन् ।
उम्मेदवारहरू मतदाताको घरदैलो र भेटघाट कार्यक्रममा व्यस्त छन् । मतदाताहरू भने यस पटक विगतभन्दा फरक ढंगले सोचेर मत दिने मुडमा देखिन्छन् ।
विगतका निर्वाचनमा दलहरू र उम्मेदवारहरूले दिएका खोक्रा आश्वासन अलपत्र परेको भन्दै उनीहरू आफ्नो समस्या समाधान गर्ने विश्वासिलो र भरपर्दो उम्मेदवारलाई मत दिने योजनामा देखिएका हुन् ।
विगतका निर्वाचनमा जितेका जनप्रतिनिधिबाट अपेक्षाअनुसार विकास नभएको भन्दै मतदाताहरूमा असन्तुष्टि देखिएको छ ।
सर्लाही–३ को चक्रघट्टा गाउँपालिका–२ का राजनारायण रायले आफ्नो क्षेत्रमा आधारभूत पूर्वाधारको अभाव रहेको गुनासो गरे । उनले भने, ‘हाम्रो क्षेत्रमा गुणस्तरीय बाटोघाटो छैन । कृषकलाई सुविधा हुने कुनै पनि काम भएको छैन ।’
नेताहरू चुनावका बेला आएर विभिन्न आश्वासन दिने गरे पनि व्यवहारमा काम हुन नसकेको रायको गुनासो छ ।
बरहथवा नगरपालिका–५ का परीक्षण साहले किसानको समस्या अझै समाधान नभएको बताए । ‘हाम्रो क्षेत्रमा उखु खेती मुख्य पेसा हो, तर उखुको बाँकी बक्यौता र भुक्तानीको समस्या समाधान गर्न हामीले जिताएका सांसदले पनि पहल गरेनन्,’ उनले भने, ‘विगतमा हामीलाई धोका दिइसकेका दल र उम्मेदवारलाई त अब कसरी विश्वास गर्नु र ?’
चक्रघट्टा गाउँपालिका–४ का ज्येष्ठ नागरिक सिया साहले विकाससँगै सामाजिक सुरक्षाको आवश्यकता औँल्याए । उनले भने, ‘हाम्रो क्षेत्रमा बाटोघाटोको व्यवस्थामात्र होइन, बेरोजगारी समस्या समाधान हुनुपर्छ र हामी वृद्धवृद्धाहरूका लागि वृद्धाश्रमको व्यवस्था हुनुपर्छ ।’
यस्तै हरिवन नगरपालिका वडा नम्बर ३ का अशोक झाले सर्लाही जिल्ला उखु र तरकारी उत्पादनमा अगाडि भए पनि किसानले आवश्यक सहयोग नपाएको बताए । उनले भने, ‘हामी कृषकका लागि समयमा मल, सिँचाइ र बजार व्यवस्थापन हुँदैन, नेताहरूले खाली आश्वासन मात्रै दिने गरेका छन् ।’
यता कविलासी नगरपालिका ६ का हरिहर यादवले यसपटक दलभन्दा विकासलाई प्राथमिकता दिने बताए । उनले भने, ‘अब हामी दलको पछाडि लाग्ने छैनौँ । युवाका लागि स्वरोजगार सिर्जना गर्ने र भ्रष्टाचारविरुद्ध आवाज उठाउने विश्वासिलो आधार लिएर आउने उम्मेदवारलाई मत दिनेछौँ । अब हामी परिवर्तन चाहन्छौँ ।’
यस्तै बरहथवा नगरपालिका १२ का दिनेश्वर गुप्ताले डुबान र आगलागी नियन्त्रणका लागि अहिलेसम्म ठोस व्यवस्था नभएको गुनासो गरे । उनले भने, ‘हाम्रो क्षेत्रमा बर्सेनि डुबान र आगलागीको समस्या हुने गर्छ, तर यसको स्थायी समाधानका लागि अहिलेसम्म कुनै ठोस योजना आएको छैन ।’
निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत हरिवन नगरपालिका, बागमती नगरपालिका र चक्रघट्टा गाउँपालिका पूर्ण रूपमा पर्छ भने बरहथवा नगरपालिकाको वडा नम्बर ५ देखि १२ र १६ देखि १८, कविलासी नगरपालिका वडा नम्बर ३ देखि ६, बसबरिया गाउँपालिका वडा नम्बर ४ देखि ६ तथा हरिपुर नगरपालिका वडा नम्बर १ यस क्षेत्रमा पर्छन् ।
यस क्षेत्रमा प्रमुख रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका हरिप्रसाद उप्रेती, नेपाली कांग्रेसका विनोद कुमार खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट नरेन्द्र साह कलवारसहित अन्य उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् ।
विगतको प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रमा नेकपा एमालेका हरिप्रसाद उप्रेती ३२ हजार ९३८ मत प्राप्त गर्दै विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साहले ३२ हजार १६८ मत प्राप्त गरेका थिए ।
यस क्षेत्रका मतदाताहरू अहिले विगतका अनुभवबाट सिक्दै विकास, कृषि, रोजगारी, उखु किसानको भुक्तानी, डुबान नियन्त्रण तथा भ्रष्टाचार नियन्त्रणजस्ता मुद्दालाई प्राथमिकता दिने उम्मेदवारलाई मत दिने मनस्थितिमा देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण