बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अस्थिर जितेन्द्र

एउटै पार्टीमा किन टिक्दैनन् जितेन्द्र देव ?

मङ्गलबार, ०५ फागुन २०८२, २१ : ००
मङ्गलबार, ०५ फागुन २०८२

सारांश

  • जितेन्द्र देव एमाले छाडेर पुनः नेपाली कांग्रेसमा प्रवेश गरेका छन्, उनलाई कांग्रेस जिल्ला सभापतिले पार्टीमा स्वागत गरे।
  • देवले नागरिकतालगायतका विषयमा असन्तुष्टि जनाउँदै कांग्रेस र एमालेमा पटक-पटक पार्टी परिवर्तन गरेका थिए।
  • पार्टी नीतिमा असहमति जनाउँदै देवले एमाले छाडेको १५ दिनमै कांग्रेस प्रवेश गरेका हुन्।

काठमाडौँ । २०८१ असारमा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट टीका लगाएर एमालेमा प्रवेश गरेका जितेन्द्र देव पुनः नेपाली कांग्रेसमै फर्किएका छन् । 

सप्तरीमा एक कार्यक्रम आयोजना गरी उनलाई कांग्रेस जिल्ला सभापति रामदेव साहले पार्टी प्रवेश गराएका हुन् । एमालेमा प्रवेश गर्दा निकै प्रशंसा पाएका देव कम्युनिस्ट पृष्ठभूमिका हुन् । एमाले भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघबाट राजनीति यात्रा सुरु गरेका उनी २०५४ सालमा एमालेको केन्द्रीय सदस्य बनेका थिए । 

तर नागरिकतालगायत विषयमा एमालेमा असन्तुष्ट देव मधेस आन्दोलनपछि भने तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल हुँदै कांग्रेसमा पुगेका थिए । तर त्यहाँ पनि उनी टिक्न सकेनन् । र कांग्रेस छाडेर फेरि एमालेमै फर्किए ।  

१७ वर्षपछि उनी एमालेमा प्रवेश गरेको विषयले निकै चर्चा पाएको थियो, तर डेढ वर्ष पनि उनी त्यहाँ बसेनन् । २०८२ माघ १९ गते एमाले छाडेको घोषणा गरेका उनी १५ दिनपछि कांग्रेस प्रवेश गरे । मधेस आन्दोलनपछि बनेको पार्टी मधेसी जनअधिकार फोरम नेपाल प्रवेश गरेका उनी २०६६ सालमा फोरम विभाजन भएपछि विजयकुमार गच्छदारतिर लागे, अर्थात् फोरम लोकतान्त्रिक । र उनी यस पार्टीको महासचिव बनेका थिए । साथै यसै पार्टीबाट उनी प्रतिनिधिसभामा समानुपातिक सांसदसमेत बन्न भ्याएका थिए, र मन्त्री पनि । 

गच्छदारले २०७४ असोजमा आफ्नो पार्टी कांग्रेसलाई सुम्पिँदा देव पनि सँगै गए । र राष्ट्रिय सभा सदस्य बन्न सफल भए । राष्ट्रिय सभा सदस्य रहेकै बेला उनी ६ वर्षपछि एमाले प्रवेश गरेका थिए । 

कांग्रेसमा गुटबन्दी रहेको, लोकतन्त्र नभएको आरोप लगाउँदै उनी १७ वर्षपछि एमालेमा फर्किएका थिए । त्यसबेला उनले भनेका थिए, ‘१७ वर्षसम्म एमालेभन्दा बाहिर रहेँ, दुःख लागेको छ, तर बाहिर रहेर धेरै कुरा सिकेँ, अब एमालेलाई एकीकृत बनाएर अगाडि बढ्ने प्रण गर्छु ।’ आफूलाई एमालेमा संगठित गराएकोमा देवले अध्यक्ष केपी ओलीलाई धन्यवाद दिँदै भनेका थिए, ‘मलाई नेता होइन, कार्यकर्ता बनाइदिनुस् ।’

तर १५ दिन अगाडि एमाले छाड्दा उनले ‘भदौ २३ गते भएको जेनजी विद्रोहलाई यसै रूपमा नबुझी पार्टीलाई सच्याउने दिशामा लाग्नुको सट्टा यसलाई विदेशी षडयन्त्र देख्ने पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी सञ्चालन गरेको’ आरोप लगाएका थिए । 

विशेष महाधिवेशनबाट पारित भएको नीति, विचार योजना प्रस्ताव तथा प्रतिवद्धताहरूलाई आत्मसात गर्दै आफू कांग्रेसमा प्रवेश गरेको देवले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप