बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बालेनको चुनाव प्रचार शैली

किन लगाउँदैनन् घण्टीको लोगो, किन राख्दैनन् पेजमा चुनावी प्रचार ?

मङ्गलबार, ०५ फागुन २०८२, २० : ००
मङ्गलबार, ०५ फागुन २०८२

सारांश

  • निर्वाचन प्रचारको औपचारिक सुरुवात भएपनि बालेन शाहले सामाजिक सञ्जालमा पार्टी र चुनाव चिन्हको प्रचार नगरेको पाइयो।
  • बालेनले फेसबुकमा चुनावी प्रचार नगर्नुको कारणबारे विरोधीको ट्याग र काठमाडौंको मेयर चुनावको अनुभवलाई उल्लेख गरेका छन्।
  • बालेनले निर्वाचनमा फेसबुकबाट भोट नमाग्ने नीति लिएको र विभिन्न भ्रमणका तस्विरहरू सामाजिक सञ्जालमा पोस्ट गरेको देखिन्छ।

विराटनगर । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले ४ गतेदेखि औपचारिक रूपमा चुनावी प्रचारप्रसार सुरु गरेका छन् । तर सामाजिक सञ्जालमा भने उम्मेदवारी दर्ता भएको दिन माघ ६ गतेदेखि नै प्रचारको बाढी छ । 

सामाजिक सञ्जाल फेसबुकमा धेरै फलोअर्स भएका राजनीतिकर्मीहरूले आफूले मन पराएका पार्टी र चुनाव चिह्न पनि प्रचार गरिरहेका छन्, तर ३५ लाखभन्दा बढी फलोअर्स भएर पनि आफ्नो फेसबुक पेजमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले भने आफ्नो पार्टी र चुनाव चिह्नको कुनै प्रचार गरेका छैनन् । यति मात्रै होइन, उनले आफ्नो पेजबाट आफैंलाई मतदान गर्न पनि भनेका छैनन् । 

बालेननिकट स्रोतका अनुसार ‘फेसबुके’ भनेर विरोधीले ट्याग लगाउने भयका कारण उनले आफ्नो पेजमा चुनावी प्रचार नगरेका हुन् । ‘यस पटक फेसबुकबाट प्रचार नगरी चुनाव जित्ने हो,’ उनले भने, ‘काठमाडौंको मेयर जित्दा फेसबुकले जितायो भने, अहिले जित्दा पनि फेसबुकले जितायो भन्लान् । यस पटक आफ्नो पेजबाट भोट नै नमाग्ने हाम्रो नीति हो ।’ 

उनले बालेनले अहिलेसम्म गाडीमा झण्डा पनि नराखेका र ‘घण्टी’ चिह्नको ट्याग पनि नलाएको बताए । ‘हामी घण्टीको लोगो पनि लगाउँदैनौं, गाडीमा झण्डा पनि राख्दैनौं,’ उनले भने । बालेनले आफ्नो फेसबुक पेजमा गएको पुस १३ गतेदेखि २९ वटा पोस्ट गरेका छन् । पुस १३ गते रास्वपा र बालेनबिच पार्टी प्रवेशको सहमति भएको थियो र रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई अगाडि सारेको थियो । सोही दिन बिहान बालेनले आफ्नो फेसबुक पेजमा रवि लामिछाने र आफूबिच भएको सहमतिको ड्राफ्टमा हस्ताक्षर गर्दै गरेको फोटो पोस्ट गर्दै ‘शुभप्रभात’ लेखेर घण्टीको चिह्न साझा गरेका थिए, त्यसयता उनले रास्वपा र घण्टी पोस्ट गरेका छैनन् । 

पुस १४ गते उनले रवि र कुलमान बिचमा बसेको फोटो सेयर गर्दै ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ लेखेका थिए । पुस १५ गते उनले सुदन गुरुङसँगको फोटो सेयर गर्दै उनले देश बनाउने प्रयास गरेको भन्दै सुदनको प्रशंसा गरेका थिए । 

त्यसपछि पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तीको शुभकामना दिएका छन् भने अर्कोमा आफ्नै फोटो पोस्ट गर्दै ‘शुभकामना सबैलाई हामी आउँदै छौं’ मात्रै लेखेर चुनावी दौडमा आउने संकेत गरेका थिए । उनले माघे संक्रान्तिको पनि शुभकामना दिएका थिए । 

माघ २ गते भूकम्प सुरक्षा दिवसको शुभकामना दिँदै उनले केही राजनीतिक सन्देश दिएका थिए । त्यस क्रममा उनले लेखेका थिए– ‘अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको छ ।’

त्यस्तै उनले ल्होसारका अवसरमा माघ ५ गते शुभकामना दिएका थिए भने ६ गते झापा–५ मा चुनाव लड्न जाने निधो गर्दै बिहानै लेखेका थिए– ‘झापा–५’ । तर उनले अन्य पार्टीका उम्मेदवारले झैँ पार्टी र चुनाव चिह्नबारे उल्लेख गरेका छैनन् । 

झापा–५ मा उम्मेदवारी दर्ता गराएपछि दुई दिन झापामै बसेर ताप्लेजुङबाट चुनावी दौडमा होमिएका बालेनले आफ्नो फेसबुकमा भने त्यसको कुनै छनक दिएका छैनन् । माघ ९ गते ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन गरेको प्रमाणस्वरुप फोटो राख्दै ‘जय पाथीभरा, जय मुक्कुमलुङ’ लेखेका थिए । 

त्यसपछि सुदूरपश्चिमको पहाडी जिल्लाको भ्रमणमा निस्किएका उनले माघ १४ गते हिउँसहितको बाटोको फोटो राखेर ‘सुदुर अब दुर नाई, भिक्कै झिक्कै माया तम्लाई’ लेखेका थिए । त्यसको भोलिपल्ट माघ १५ गते बालेनले बाजुरा जान लागेको भन्दै बडिमालिका माताले सबैलाई आशीर्वाद देऊन् भन्ने आशयसहित लेखेका छन् । त्यस्तै माघ १६ गते सहिद दिवसको अवसरमा पटक–पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको भन्दै सदिहका सपना पूरा गर्न आफूहरू आएको सन्देश जानेगरी स्टाटस लेखेका छन् । 

सोही दिन उनले कर्णाली पुगेको फोटो राखेका छन् । माघ १८ गते आफ्नो चुनावी अभियानमा खटिरहेका दिनेश सिटौलाको निधनको विषयलाई लिएर दिनेशको फोटोसहित श्रद्धाञ्जलि दिएका बालेनले चुनावी अभियानबारे केही बोलेका छैनन् । 

माघ २१ गते सप्तकोशी पुगेका उनले खुवालुङको बयान गर्दै बोटिङ गर्दै गरेको फोटो राखेका छन् । त्यस भ्रमणका क्रममा उनले उदयपुरको उदयपुर सिमेन्ट उद्योग क्षेत्रमा पुगेर फोटो हालेका छन् । माघ २२ गते भने उनले आफ्ना समर्थकलाई सम्बोधन गर्दै दुई लाइन स्टाटस लेखेका छन्, ‘माया मात्रै रैछ देशभरि, यसरी नै देशलाई माया गर्नु, देश बन्छ ।’

बालेनले माघ २४ गते झापा गोल्डकपमा देखिएको दर्शकको क्रेजको फोटो राख्दै स्टाटस लेखेका छन् भने माघ २५ गते नेपाली टोलीले विश्वकप क्रिकेट खेल्न लागेकोमा शुभकामना दिँदै सन् २०१४ को विश्वकप क्रिकेट प्रतियिोगितामा नेपालले अफगानिस्तान र हङकङलाई हराएको भन्दै त्यसबेलाका क्रिकेटर ज्ञानेन्द्र मल्लको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरे । त्यति मात्रै होइन, उनले ज्ञानेन्द्र मल्ल समानुपातिक उम्मेदवार रहेको भन्दै ‘क्रिकेटदेखि सदनसम्म’ भन्ने शीर्षक नै दिएका छन् । 

फागुन १ गते उनले गोरखाको गोरखा दरबारसहित आफ्नो फोटो पोस्ट गर्दै ‘एउटा देश, एउटा नेपाल, आज गोर्खा दरबार’ लेखेका छन् । फागुन ३ गते शिवरात्रिको अवसरमा पशुपति नाथ मन्दिरको फोटो राख्दै बालेननले, ‘हरहर महादेव, धर्मो रक्षति रक्षितः’ भन्ने स्टाटस लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप