बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नामिबियालाई हराउँदै पाकिस्तान सुपर ८ मा

बुधबार, ०६ फागुन २०८२, १८ : ३३
बुधबार, ०६ फागुन २०८२

नयाँ दिल्ली । टी–२० विश्वकप अन्तर्गत समूह ए अन्तर्गत पाकिस्तानले नामिबियालाई हराउँदै सुपर ८ मा स्थान पक्का गरेको छ । बुधबार पाकिस्तानले प्रस्तुत गरेको सामु २ सय रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले १७।३ ओभरमा ९७ रन मात्र बनाउन सक्यो । 

टोलीका लागि ओपनर लरेन स्टेन क्याम्पले सर्वाधिक २३ रन बनाए । उनले २२ बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरे । अलेक्सान्डर बुसिङ भोलस्नेकले २० बलमा २० रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

नामिबियालाई सस्तोमा समेट्न उसमान तारिकले घातक बलिङ गरे । उनले ३.३ ओभरमा १ मेडनसहित मात्र १६ रन खर्चेर ४ विकेट लिए । सहदाब खानले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । सलमान मिर्जा र मोहम्मद नवाजले १–१ विकेट लिए ।

यसअघि, कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९९ रन बनाएको थियो । टोलीका लागि ओपनर शाहिबजादा फरहान नायक बने । उनले मात्र ५८ बलमा १०० रनको सानदार पारी खेले । यस क्रममा उनले ११ चौका र ४ छक्का प्रहार गरे । 

त्यस्तै, कप्तान सलमान आघाले २३ बलमा ३८ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे । शादाब खान २२ बलमा ३६ रन बनाउँदै नटआउट रहे । उनले १ चौका र ३ छक्का हिर्काए । नामिबियाका लागि ज्याक ब्रासेलले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । जेराल्ड इरास्मसको नाममा एक विकेट रह्यो । 

पाकिस्तानका लागि यो ‘गर या मर’ को खेल थियो। यदि नामिबियाले खेल जितेको भए पाकिस्तान प्रतियोगिताबाट बाहिरिने थियो र अमेरिकाको टोलीले सुपर–८ मा प्रवेश गर्ने थियो। तर, जितसँगै पाकिस्तानले ३ जित र १ हार बेहोरेर ६ अंक बटुल्दै सुपर ८ मा स्थान पक्का गर्‍यो । टोलीले यसअघि नेदरल्यान्ड्स र अमेरिकालाई हराए पनि भारतविरुद्ध हारको सामना गर्नुपरेको थियो। 

अर्कोतर्फ, नामिबियाले आफ्ना चारै खेल हार्न पुगेको छ । टोली यसअघि नेदरल्यान्ड्स, भारत र अमेरिकासँग पराजित भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप