१० खेलाडीमा खुम्चिएको चेल्सीविरुद्ध बर्नलीले खोस्यो अङ्क
सारांश
- चेल्सीले बर्नलीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।
- खेलको इन्जुरी समयमा जियान फ्लेमिङले गोल गर्दै बर्नलीलाई हारबाट जोगाए।
- चेल्सीका वेस्ली फोफाना रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भयो।
लण्डन । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले रेलिगेसन जोनमा रहेको बर्नलीसँग १–१ गोलको अप्रत्याशित बराबरी खेल्दै अङ्क बाँडेको छ।
खेलको अन्तिम समयमा सम्हालिन नसक्दा घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले स्पष्ट ३ अङ्क जोड्ने अवसर गुमायो। खेलको इन्जुरी समयमा जियान फ्लेमिङले गोल गर्दै बर्नलीको सङ्कट टारेका हुन्।
खेलको चौथो मिनेटमै जोआओ पेड्रोले पेड्रो नेटोको क्रसमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा पूर्ण नियन्त्रण बनाएको चेल्सीका लागि कोल पाल्मरले गोल गर्ने केही अवसर पाए पनि बर्नलीका गोलकिपर मार्टिन डुब्राभ्का तगारो बने।
दोस्रो हाफमा पनि चेल्सीले दबाब कायमै राखेको थियो, तर ७२ औँ मिनेटमा वेस्ली फोफानाले जेम्स वार्ड–प्राउजमाथि फल गरेपछि दोस्रो पहेँलो कार्ड खाँदै मैदान बाहिरिए। १० खेलाडीमा सीमित भएपछि चेल्सी रक्षात्मक बन्यो भने बर्नलीले आक्रामक खेल पस्कियो।
खेलको ९३ औँ मिनेटमा वार्ड–प्राउजको कर्नरमा अनमार्क रहेका जियान फ्लेमिङले सानदार हेडर गोल गर्दै खेल बराबरीमा ल्याए। यो सिजन घरेलु मैदानमा अग्रता लिएर पनि १७ अङ्क गुमाएको चेल्सीका समर्थकले खेल सकिएपछि आफ्नै टोलीविरुद्ध हुटिङ गरेका थिए।
यो बराबरीका बाबजुद चेल्सी तालिकाको चौथो स्थानमा उक्लिएको छ भने बर्नली रेलिगेसन क्षेत्रबाट माथि उठ्न अझै सङ्घर्षरत छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण