बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अफगानिस्तानमा पाकिस्तानको भीषण हवाई आक्रमण : महिला र बालबालिकासहित दर्जनौँको मृत्यु

आइतबार, १० फागुन २०८२, १४ : ५३
आइतबार, १० फागुन २०८२

सारांश

  • पाकिस्तानले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित दर्जनौँ नागरिकको मृत्यु भएको तालिबानले जनाएको छ।
  • पाकिस्तानले आत्मघाती बम विष्फोटको बदला लिँदै चरमपन्थी शिविरहरूमा आक्रमण गरेको जनाएको छ भने तालिबानले यसको निन्दा गरेको छ।
  • दुई देशबीचको बढ्दो सैन्य तनावले दक्षिण एसियाको सुरक्षा अवस्थालाई चुनौती दिएको छ, र यो अक्टोबरको युद्धविरामको अन्त्यको संकेत हो।

काबुल । पाकिस्तानले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा रातभर शृङ्खलाबद्ध हवाई आक्रमण गरेको छ, जसमा महिला र बालबालिकासहित दर्जनौँ नागरिकको मृत्यु भएको तालिबान सरकारले दाबी गरेको छ। पाकिस्तानले अफगानिस्तान–पाकिस्तान सीमा नजिक रहेका सातवटा कथित चरमपन्थी शिविर र लुक्ने ठाउँहरूलाई लक्षित गरी यो आक्रमण गरिएको बताएको हो। 

पाकिस्तानमा हालै भएका आत्मघाती बम विष्फोटका घटनाहरूको बदला स्वरूप यो सैन्य कारबाही गरिएको इस्लामावादको तर्क छ। तालिबानको रक्षा मन्त्रालयका अनुसार पाकिस्तानी लडाकु विमानहरूले नान्गाहार र पक्तिका प्रान्तका नागरिक बस्ती र एउटा धार्मिक विद्यालयलाई निशाना बनाएका छन्। 

नान्गाहारका अधिकारीहरूले बीबीसीलाई बताएअनुसार शाहबुद्दीन नामक एक व्यक्तिको घरमा भएको बमबारीमा उनको परिवारका महिला र बालबालिकासहित करिब २० जनाको ज्यान गएको छ। तालिबानले यस आक्रमणलाई अफगानिस्तानको क्षेत्रीय अखण्डताको घोर उल्लङ्घन र अन्तर्राष्ट्रिय कानुनको विपरीत कार्य भन्दै कडा शब्दमा निन्दा गरेको छ।

यता पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले भने आफूले प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) र इस्लामिक स्टेट–खोरासान (आईएस–के) का अखडाहरूमा ‘गुप्तचरमा आधारित छनौटपूर्ण आक्रमण’ गरेको दाबी गरेको छ। पाकिस्तानले काबुलले आश्रय दिएका आतङ्ककारी समूहहरूले यसै महिनाको सुरुमा राजधानी इस्लामावादस्थित शिया मस्जिद र खैबर पख्तुनख्वा प्रान्तमा गराएको आत्मघाती विष्फोटका कारण यो कदम चाल्न बाध्य भएको बताएको छ। पाकिस्तानले ती आक्रमणहरू अफगानिस्तानमा रहेका नेतृत्वको निर्देशनमा भएको ‘ठोस प्रमाण’ आफूसँग रहेको जिकिर समेत गरेको छ।

तालिबानले भने पाकिस्तानी सेनाको यो कार्यलाई आफ्नो सुरक्षा र गुप्तचर निकायको असफलता लुकाउने प्रयासको रूपमा टिप्पणी गरेको छ। तालिबानको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत उपयुक्त समयमा यसको ‘उचित र नापिएको जवाफ’ दिने चेतावनी दिएको छ। 

नागरिक र धार्मिक संस्थामाथिको आक्रमणले छिमेकी मुलुकहरूबिचको सम्बन्धलाई थप तिक्त बनाउने देखिएको छ। यो ताजा आक्रमण गत अक्टोबरमा दुई देशबिच भएको कमजोर युद्धविरामको अन्त्य भएको सङ्केतका रूपमा हेरिएको छ। 

सन् २०२१ मा तालिबान सत्तामा आएपछि सीमा क्षेत्रमा पटक–पटक हिंसात्मक झडप हुँदै आएका छन्। केही दिन अघि मात्रै साउदी अरबको मध्यस्थतामा अफगानिस्तानले नियन्त्रणमा लिएका तीनजना पाकिस्तानी सैनिकलाई रिहा गरेको थियो। 

करिब १ हजार ६ सय माइल लामो पहाडी सीमा जोडिएका यी दुई मुलुकबिचको बढ्दो सैन्य तनावले दक्षिण एसियाकै सुरक्षा अवस्थालाई चुनौतीपूर्ण बनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप