प्रहरी हेडक्वार्टरले बनायो निर्वाचन विश्लेषण महाशाखा
सारांश
- प्रहरी प्रधान कार्यालयले निर्वाचनबारे रणनीति बनाउन विश्लेषण महाशाखा गठन गरेको छ, जसले चुनाव बिथोल्ने समूहको निगरानी गर्नेछ।
- दुर्गा प्रसाईं सहित विभिन्न समूह निर्वाचन बिथोल्न सक्रिय रहेको प्रहरीको विश्लेषण छ, र केहीलाई पक्राउ गरिएको छ।
- प्रहरीले निर्वाचन सुरक्षाका लागि एकीकृत सुरक्षा योजना लागू गरेको छ, जसमा रोहिङ्ग्या शरणार्थीहरूको गतिविधिमाथि पनि निगरानी राखिएको छ।
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनबारे रणनीति तय गर्न विश्लेषण महाशाखा बनाएको छ । चुनाव बिथोल्ने भूमिका खेल्ने समूहको निगरानी र उनीहरूको गतिविधि निस्तेज पार्ने रणनीति बनाउन विश्लेषण महाशाखा गठन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए ।
कार्य विभागको मातहत गठन गरिएको विश्लेषण महाशाखाको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दयानिधि ज्ञवालीले गरेका छन् । महाशाखाले निर्वाचन बिथोल्न सक्रिय समूहको गतिविधिमाथि निगरानी र विश्लेषण गर्ने छ ।
डीआईजी काफ्ले भन्छन्, ‘निर्वाचन बिथोल्ने समूहमाथि निगरानी र विश्लेषण गरेर निर्वाचन सुरक्षा रणनीति तयार गर्ने जिम्मेवारी विश्लेषण महाशाखालाई दिइएको छ ।’ एसएसपी नेतृत्वको टिमले त्यसबारे काम गरिरहेको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सहित ६ वटा समूह अहिले निर्वाचन बिथोल्न सक्रिय रहेको प्रहरीको विश्लेषण छ । प्रसाईं अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् ।
धमेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, मंगोल नेशनल अर्गनाइजेशन र पहिचानको आन्दोलनमा सक्रिय समूहले निर्वाचन विरोधी गतिविधि गरिरहेको प्रहरीको विश्लेषण छ । बहुमतका महासचिव धर्मेन्द्र बास्तोला, सो संगठनको काभ्रे जिल्ला सेक्रेटरी विष्णु प्रसाद तिम्सिना र वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य नरेन्द्र बहादुर विकलाई चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ ।
निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा विभिन्न समूहका ८ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।
प्रहरीले चुनाव विरोधीहरूले प्रयोग गर्ने आशङ्कामा रोहिङ्ग्या शरणार्थीको गतिविधि पनि निगरानी गरिरहेको छ । म्यानमारबाट बंगलादेश हुँदै नेपाल आएका मुस्लिम समुदायका रोहिङ्ग्या लामो समयदेखि कपन स्थित लसुनटारमा क्याम्प बनाएर बसिरहेका छन् ।
बुढानीलकण्ठ, कालिमाटी र बालाजुमा पनि रोहिङ्ग्या अस्थायी टहरा बनाएर बसिरहेका छन् । कतिपय रोहिंग्या कालिमाटी लगायतका ठाउँमा डेरा लिएर पनि बसेका छन् । नेपालमा ४ सय १९ जना रोहिङ्ग्या शरणार्थी छन् ।
प्रहरी हेडक्वार्टरले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेर केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत एकीकृत सुरक्षा योजना लागु गरेको छ । प्रहरीको केन्द्रीय निर्वाचन सेलको प्रमुख तोकिएका चतुर्वेदी प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागको प्रमुख हुन् । निर्वाचन सेलमा १५१ जना सदस्य छन् । निर्वाचनमा चारवटा सुरक्षा निकायका ३ लाख १५ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गर्ने गरी एकीकृत सुरक्षा योजना लागु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण