‘कर्मकाण्ड र ज्योतिष क्षेत्रमा काम गर्नेले शास्त्रसम्मत कर्म गर्नुपर्छ’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले कर्मकाण्ड र ज्योतिष क्षेत्रमा काम गर्नेले शास्त्रसम्मत कर्म गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आयोजना गरेको छमहिने ज्योतिष र कर्मकाण्ड प्रशिक्षणका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा उनले कर्मकाण्ड र ज्योतिष पेसामा आबद्धहरूमा प्रलोभन बढी हुने गरेको र शास्त्रीय विधि पूरा नगर्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै शास्त्रसम्मत कर्म गर्नुपर्नेमा जोड दिए ।
“हाम्रो संस्कृति, परम्परा र शास्त्रहरूको महत्त्व धेरै छ, तिनलाई समय र परिस्थितिअनुरूप परिमार्जन र परिस्कृत गर्दै परिवेश अनुकूल बनाउनुपर्छ, तर लोप हुन दिनु हुँदैन, मौलिक संस्कृतिको संरक्षण र संवद्र्धनमा आज दीक्षित भएकाको भूमिका महत्त्वपूर्ण हुन्छ, विदेशमा बसेका नेपालीलाई पनि कर्मकाण्ड र ज्योतिषको आवश्यकता निकै हुने गरेको छ, नागरिकता त्यागेर विदेश गएकाहरूले पनि यी कुरा त्याग्न सकेका छैनन्, जहाँ पुगे पनि मौलिक संस्कृतिको अभ्यास गरिरहेका छन्,” सचिव निरौलाले भने ।
समितिले सञ्चालन गरेको छमहिने ‘ज्योतिष तथा कर्मकाण्ड प्रशिक्षण’ पूरा गरी ५४ जना प्रशिक्षार्थीले प्रमाणपत्र पाए । ज्योतिषमा ३६ र कर्मकाण्डमा १८ गरी ५४ जना दीक्षित भएका समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले बताए ।
समितिले ज्योतिष र कर्मकाण्ड दुबै महत्त्वपूर्ण एवम् अत्यावश्यकीय क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ २०६२ सालदेखि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । समितिका सदस्य प्रा डा देवमणि भट्टराई, पूर्वअध्यक्ष प्रा श्रीकृष्ण अधिकारीलगायतले छमहिने प्रशिक्षणबाट सिकेका विषयलाई असल अभ्यास गर्न र नजानेका विषय अग्रज एवं गुरुहरूबाट सिक्नुपर्नेमा जोड दिए ।
समितिका कार्यकारी निर्देशक पन्थीले कोषको कमजोर भौतिक एवम् नीतिगत पूर्वाधारबारे मन्त्रालयका सचिव निरौलाको ध्यानाकर्षण गराए । यसमा मन्त्रालयले सहयोग, सहजीकरण एवम् समन्वय गर्नुपर्ने उनको भनाइ थियो । समितिको कार्यालय व्यवस्थापन, हल, कोठा र माइक अभावदेखि कर्मचारी (लेखा), आन्तरिक कार्यविधि तथा नीतिहरू निर्माणमा मन्त्रालयको साथ सहयोगका लागि पनि कार्यकारी निर्देशक पन्थीले अनुरोध गरे ।
कार्यक्रममा प्रशिक्षक एवम् नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सहप्राडा पुरुषोत्तम भट्टराईले स्रोतसाधन सीमित भए पनि निरन्तर प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै आएको बताए । पछिल्लो समय भने ‘अनलाइन’ कक्षाको माग बढ्दै गएको पनि उनले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण