शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

लोकरिझ्याइँले समाजलाई रूपान्तरणतर्फ होइन, विघटनतर्फ लगिरहेको छ : अशेष घिमिरे

मङ्गलबार, १२ फागुन २०८२, १२ : २९
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • निर्वाचन नजिकिँदै गर्दा 'पुरानो नेताको अनुहार फेर्ने' भाष्य वैकल्पिक राजनीतिका रूपमा आइरहेको छ।
  • अशेष घिमिरेले युवाको परिभाषा र परिवर्तनको बहसलाई समसामयिक रूपमा प्रस्तुत गरेका छन्।
  • घिमिरेले भ्रष्टाचारको मूल कारण असमानता र नाफामुखी व्यवस्था भएको बताउँदै समाजवादी राज्य प्रणालीको आवश्यकता औंल्याए।

फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा ‘पुरानो नेताको अनुहार फेर्ने’ भाष्यहरू जोडदार रूपमा वैकल्पिक राजनीतिका रूपमा आइरहेका छन्। आफ्ना दाबीहरूमा थिचिएर कति उम्मेदवारहरू सार्वजनिक वृत्तमा आलोचित हुँदै गर्दा झापा– १ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अशेष घिमिरे भने उनीहरूभन्दा शान्त र शालीन ढङ्गले आफ्नो चुनावी प्रचारमा लागेका देखिन्छन्।

उनी लोकरिझ्याइँले समाजलाई रूपान्तरणतर्फ होइन कि विघटनतर्फ लैजाने तर्क गर्छन्। समाजवादी वैचारिक चिन्तनबाट ओतप्रोत युवा उम्मेदवार घिमिरेसँग चुनावी सेरोफेरोमा रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश:

  • परिवर्तनका लागि युवा नै चाहिन्छ भन्ने भाष्यलाई तपाईंले कसरी हेर्नुभएको छ?

राजनीतिक परिवर्तन उमेरको सवाल मात्र होइन, सामाजिक चेतना, अझ हामी मार्क्सवादीका लागि यो वर्गीय चेतना र दृष्टिकोणको सवाल हो। धेरै दलमा आज उम्मेदवारका रूपमा युवा अनुहार देखिन्छन्, तर पुँजीवादी उत्पादन सम्बन्धलाई चुनौती नदिने युवा परिवर्तनकारी हुँदैन। हाम्रा लागि युवा भनेको जागरुक, वर्ग-सचेत र जनपक्षीय राजनीतिमा लागेको शक्ति हो। यो केवल चिटिक्क परेको नयाँ अनुहार मात्र होइन।

  • राजनीतिमा नयाँ र पुरानोको बहसलाई तपाईं कसरी बुझ्नुहुन्छ?

राजनीतिमा ‘नयाँ’ र ‘पुरानो’ भन्ने बहस सतही छ। केवल नयाँ नाम, झन्डा वा अनुहारले कुनै परिवर्तन ल्याउँदैन। वास्तविक परिवर्तन भनेको उत्पादन सम्बन्ध, राज्यको वर्ग चरित्र अर्थात् धनीमानीका लागि स्वर्ग र गरिबका दुःख जस्ताको तस्तै हुने व्यवस्था र नीति–संरचना बदल्ने सङ्घर्ष हो।

गरिखानेको पक्षमा योजना निर्माण, बजेट तर्जुमा, साना तथा मझौला कृषि लगायतका सबैखाले उद्यमशील प्रयत्नहरूको सुरक्षा, सार्वजनिक क्षेत्रमा लगानी वृद्धि, रोजगारीको प्रवर्द्धन आजका आवश्यकता हुन्। गरिबीविरुद्ध हुने सबै कानुनको परिमार्जनजस्ता विषय हुन्।

ashesh ghimire (1)

  • परिवर्तन भनेको के हो त?

राजनीतिक परिवर्तन भनेको व्यक्तिको पावर र अनुहारको खेल होइन। परिवर्तनको मापदण्ड भनेको उत्पादन सम्बन्ध, आर्थिक संरचना र वर्गीय शक्ति सन्तुलनमा मौलिक परिवर्तन ल्याउनु हो। व्यक्ति फेरिए पनि सिस्टम उस्तै भए राजनीति उस्तै रहन्छ। आम मान्छेका दैनिक समस्यामा कुनै परिवर्तन आउँदैन।

त्यसैले हामीजस्ता युवाहरूको मूल जोड राजनीतिमा परिवर्तन ल्याउनका लागि यथास्थितिमा जकडिएको वर्गीय शक्ति सन्तुलनमा हेरफेर ल्याउनका लागि गरिने प्रयत्न हो। हामी त्यसैका लागि एकताबद्ध भएर लाग्नुपर्छ।

  • भ्रष्टाचारले देशलाई निकै गाँजेको छ, त्यसलाई निमिट्यान्न पार्न तपाईंसँग कस्तो दृष्टिकोण छ?

भ्रष्टाचार कुनै व्यक्ति मात्रको कारणले हुने होइन। असमानता र नाफामुखी व्यवस्था यसको मूल जरा हो। पुँजीवादी प्रणाली शक्ति र सम्पत्ति केन्द्रित हुँदा यो प्रणाली बाँच्न भ्रष्टाचार अनिवार्य बन्न पुग्छ। त्यसैले शोषणमा आधारित अर्थतन्त्रको प्रणालीलाई ज्युँका त्युँ राख्ने अनि दोषजति व्यक्तिविशेषमा थोपरेर यसको समाधान सम्भव छैन।

त्यसैले हाम्रो मूल ध्येय यो शोषणकारी व्यवस्थाको विकल्पमा समाजवादी राज्य प्रणाली लागु गर्नुमा हुनुपर्छ। पुँजीवादी प्रणालीले घुसखोर नेता, लोभी कर्मचारी र शोषणमा रमाउने नागरिक जन्माउँछ। तसर्थ समाजवादी राज्य प्रणाली निर्माणमा हामीले आफ्ना सबै यत्नहरू लगायौँ भने त्यसले भ्रष्टाचारमुक्त समाजको निर्माणमा सहयोग पुर्‍याउँछ। त्यसले हामीलाई भ्रष्टाचारको निराकरण व्यक्तिमा होइन, प्रणालीमा खोज्नुपर्छ भन्ने ज्ञान दिन्छ।

  • समाज र राजनीतिको रूपान्तरणका लागि युवाहरूले के गर्नुपर्ने देख्नुहुन्छ?

समाज रूपान्तरण केवल युवा वा एक व्यक्ति मात्रको दायित्व होइन। इतिहासले के देखाएको छ भने, परिवर्तन पुस्तागत सहकार्य र वर्गीय सङ्घर्षबाट मात्र सम्भव हुन्छ। गल्तीको आलोचना जायज हो, तर विभाजन र घृणा फैलाउने राजनीति हाम्रो बाटो होइन। हामीले जनतासँग वैचारिक छलफल, अन्तर्क्रिया गरेर रूपान्तरणको विधि पहिल्याउनुपर्छ।

ashesh ghimire (3)

मलाई लाग्छ, नेपाली कम्युनिस्ट पार्टीका देशैभरका नेता-कार्यकर्ताहरूले यसै कर्मलाई सङ्गठित रूपमा संस्थागत गर्नका लागि योजना कोरिरहेका छन्, आफ्ना कर्महरू गरिरहेका छन्। गाली, रिस, आवेग र अवसरवादी लोकरिझ्याइँले समाजलाई रूपान्तरणतर्फ होइन, विघटनतर्फ लगिरहेको छ।

  • तपाईंले आफ्नो क्षेत्रमा विकासको कामलाई कसरी प्राथमिकता दिने सोच्नुभएको छ?

विकास भनेको के हो? आजका दिन देशमा विकास भएको त भनिन्छ तर त्यो मानव-केन्द्रित विकास हो वा मुठ्ठीभरलाई लाभ पुर्‍याउने नाफाकेन्द्रित विकास? बहसको चुरो यही हो। हामी यो देशका सम्पूर्ण नागरिकलाई नेपाली नागरिककै रूपमा बुझ्न चाहन्छौँ। कोही विशिष्ट नागरिक र कोही कमतर नागरिक भन्ने हुँदैन। यो देशको चौहद्दीमा बसोबास गर्ने सबै नागरिक समान हुन् भने शिक्षा, स्वास्थ्य, आवास र अवसरमा विभेद किन?

हामीले अढाई सय वर्ष लामो शाहवंशीय पारिवारिक विरासत त भत्कायौँ तर नागरिकलाई समान अवसर र समान पहुँच उपलब्ध गराउन सकेनौँ। त्यसैले मैले मेरो क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई, यो क्षेत्रका वञ्चितहरूलाई, यो भूगोलका अपहेलितहरूलाई राज्यको मूलधारमा ल्याउन, उनीहरूलाई समान आत्मसम्मानको बोध गराउन भूमिका खेल्ने हो।

मेरो क्षेत्रका सबै नागरिकले समानता र आत्मसम्मानका साथ सेवा-सुविधाको उपभोग गर्न पाउने व्यवस्था स्थापनाका लागि सङ्घर्ष गर्ने हो, उहाँहरूसँग सहकार्य गर्ने हो। हामी यसमा सफल हुनेछौँ भन्नेमा मलाई पूर्ण विश्वास छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र ज्ञवाली
नरेन्द्र ज्ञवाली
लेखकबाट थप