मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

मानसिक यातना सहन नसकेपछि जेसिकाले त्यागिन् ताज

आयोजकमाथि दुर्व्यवहार र ब्ल्याकमेलिङको गम्भीर आरोप
मङ्गलबार, १२ फागुन २०८२, १३ : ०८
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • मिस ग्रान्ड नेपाल २०२५ की विजेता जेसिका सिंह ठकुरीले आयोजकबाट मानसिक यातना र दुर्व्यवहार खेपेपछि उपाधिबाट राजीनामा दिएकी छिन्।
  • उनले टिकट बेच्न दबाब र 'टप टेन' मा नपार्ने धम्की आएको र व्यावसायिक सहयोग नपाएको गुनासो गरिन्।
  • थाइल्यान्डमा समेत उनलाई मानसिक तनाव दिइएको र आयोजकले व्यक्तिगत सीमा क्रस गर्न खोजेको आरोप छ।

काठमाडौँ । मिस विभा २०२५ की विजेता जेसिका सिंह ठकुरीले आयोजकबाट निरन्तर मानसिक यातना र दुर्व्यवहार खेप्नुपरेको भन्दै आफ्नो उपाधिबाट राजीनामा दिएकी छिन्। लामो समयदेखि आयोजक संस्थाबाट आफूलाई धम्की र मानसिक तनाव दिइएको भन्दै उनले सामाजिक सञ्जालमार्फत एउटा भिडियो सन्देश जारी गर्दै ताज त्यागेको घोषणा गरेकी हुन्। यो

 निर्णय लिनु आफ्ना लागि सहज नभए पनि आत्मसम्मान र अन्य महिलाको सुरक्षाका लागि आफूले आवाज उठाएको उनले स्पष्ट पारेकी छिन्। आफ्नो सपनाको रूपमा रहेको यो उपाधि जित्न आफूले दिनरात मिहिनेत गरेको र आफ्नो सुखशान्ति सबै त्यागेको जेसिकाले बताएकी छिन्। 

तर, राष्ट्रिय प्रतियोगिताको सुरुवातदेखि नै आफूलाई आयोजकबाट निरन्तर दबाब आएको उनले खुलासा गरिन्। प्रतियोगिताका दौरान टिकट बेच्न र किन्न दबाब दिइएको र यदि टिकट म्यानेज गर्न नसके ‘टप टेन’ भित्रै नपार्ने स्पष्ट धम्की आयोजकबाट आएको उनले दाबी गरेकी छिन्। आफ्नो क्षमता र प्रस्तुतिमा ध्यान दिनुको सट्टा आफूले तनाव र डरको बिचमा प्रतिस्पर्धा गर्नुपरेको उनको भनाइ छ।

जितपछि पनि उनले आयोजकबाट कुनै व्यावसायिक सहयोग पाइनन्। पहिलो आधिकारिक फोटोसुटमा समेत आयोजकले कुनै टिम र संरचनाको व्यवस्था नगर्दा आफू एक्लै परेको उनले दुखेसो पोखेकी छिन्। 

थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा जानुअघि आयोजकले कपडा, स्टाइलिङ र आवश्यक सबै कुराको व्यवस्थापन गर्ने आश्वासन दिएको थियो। तर, अन्तिम समयमा आएर आयोजकले सबै कुरा आफैँ व्यवस्था गर्न भनेपछि आफू छाँगाबाट खसेको जेसिकाले बताएकी छिन्। नेपालका धेरै ब्रान्ड र डिजाइनरहरूसँग आयोजकको खराब सम्बन्ध रहेका कारण कसैले पनि आफूलाई सहयोग गर्न नमानेको र सबै ढोका बन्द भएको उनले खुलासा गरिन्।

कुनै तयारीबिना र भावनात्मक रूपमा विक्षिप्त भएर थाइल्यान्ड पुगेकी उनलाई त्यहाँका स्थानीय डिजाइनर र अपरिचित व्यक्तिहरूले सहयोग गरेर अन्तर्राष्ट्रिय मञ्चमा उभिन हिम्मत दिएका थिए। तर त्यहाँ पनि आयोजकको तनाव कम भएन। प्रिलिमिनरी (प्रारम्भिक) प्रतियोगिताको ठीक एक दिनअघि उनलाई रातारात नेपाल फर्काइदिने धम्की दिइयो। जीवनकै सबैभन्दा ठुलो र महत्त्वपूर्ण क्षणमा आयोजकले दिएको यस्तो धम्कीले आफूलाई विक्षिप्त बनाएको र नेपालमा रहेकी आफ्नी आमासमेत हरेक दिन चिन्तामा परेको जेसिकाले बताएकी छिन्।

थाइल्यान्डमा हुँदा आयोजकले आफ्नो व्यक्तिगत सीमा क्रस गर्न खोजेको र आफूले त्यसलाई ठाडै अस्वीकार गरेको उनले बताएकी छिन्। आफ्नो मूल्य र मान्यता आफूलाई थाहा भएको भन्दै उनले कुनै पनि अवसरका लागि आफ्नो आत्मसम्मानमा सम्झौता नगर्ने स्पष्ट पारिन्। नेपाल फर्किएपछि पनि आयोजकबाट कुनै फलोअप, व्यावसायिक म्यानेजमेन्ट र आर्थिक सहयोग नपाएको उनले बताएकी छिन्।

सुरुवातमा सबै कुरा सहेर मौन बसेकी जेसिकाले जब आयोजकले यस वर्षका नयाँ प्रतिस्पर्धीहरूसामु आफ्नो चरित्रहत्या गर्न थाल्यो र अन्य महिलाहरूमाथि पनि दुर्व्यवहार गरिरहेको थाहा पाइन्, त्यसपछि भने आफू चुप बस्न नसकेको बताएकी छिन्। मौन बस्दा गलत मान्छेलाई मात्र फाइदा पुग्ने भन्दै उनले आफू कमजोर भएर नभई आफ्नो मूल्य बुझेर राजीनामा दिएको घोषणा गरेकी छिन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप