बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चुनावी Ground Zero : दाङ–२

‘गरी खाने’ वर्गका मतदाताको प्रश्न– कसैलाई पनि भोट नदिए हुन्न र ?

मङ्गलबार, १२ फागुन २०८२, १३ : १८
मङ्गलबार, १२ फागुन २०८२
00:00 / NaN:NaN
Audio By AI

दाङ । राजनीतिमा कुनै पनि प्रमुख राजनीतिक दलप्रति कठोर नदेखिएको जिल्ला हो दाङ । यस जिल्लाबाट नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले संसद्मा प्रतिनिधित्व गरिसकेका छन् ।

प्रतिनिधि सभा अन्तर्गत तीन वटा निर्वाचन क्षेत्र रहेको दाङ एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला हो । उनी क्षेत्र नम्बर २ बाट उम्मेदवार छन् ।

कुनै समय नेपाली कांग्रेसका प्रभावशाली नेतामध्येका एक स्व. खुमबहादुर खड्काको पनि गृहजिल्ला हो दाङ ।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा, रेखा शर्माजस्ता प्रभावशाली नेता दाङबाटै निर्वाचित भएका थिए । यति प्रभावशाली नेताहरूसँग सम्बन्धित दाङमा ‘गरी खाने’ वर्गका मतदाता भने सन्तुष्ट देखिएका छैनन् ।

खासगरी मतदाताहरू प्रतिनिधि सभाको आसन्न निर्वाचनलाई आफ्नो वितृष्णा प्रकट गर्ने माध्यमका रूपमा पनि प्रयोग गर्न चाहन्छन् । घोराहीका सडक किनारतिर सानोतिनो व्यापार–व्यवसाय गरेका सामान्य मतदातासँग रातोपाटीले प्रश्न गरेको थियो– ‘चुनाव आउँदैछ, कत्तिको उत्साहित हुनुहुन्छ त ?’

Janaki Budha magar

घोराहीको मुख्य बजारतिर साइकलमा डुल्दै चटपटे तथा चियाको व्यापार गर्दै आएकी जानकी बुढामगरले चुनावप्रति वास्ता नै नराखेको जबाफ दिइन् । घोराही उपमहानगरपालिका–१७ निवासी उनी भोट दिएर देश र जनताको जीवनस्तर सुधार हुन्छ भन्ने विश्वास गर्दिनन् ।

उदाहरण दिँदै जानकीले भनिन्, ‘सामान्य मानिसलाई गुजारा चलाउन साह्रो गाह्रो छ । महँगी उस्तै छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा पाउन धेरै पैसा खर्च गर्नुपर्छ । सरकारी स्कुल, सरकारी अस्पतालको गुणस्तर राम्रो हुँदैन । जुनसुकै पार्टी, जतिसुकै ठुला नेतालाई जिताए पनि हाम्रो अवस्था यही होइन र ?’

‘नयाँ’ तथा ‘परिवर्तन’ भन्ने अहिलेको जल्दोबल्दो नाराप्रति पनि उनलाई विश्वास छैन । ‘माओवादी पनि पहिला नयाँ भनेरै आएको हो । जनताले विश्वास पनि गरे,’ उनले भनिन्, ‘जसको पहुँच र पावर छ, उसलाई त केही होला । हामीजस्तालाई कसले सुनिदिन्छ र ?’

प्रतिनिधि सभाको आसन्न निर्वाचनमा कसैलाई पनि मत नदिने जानकीको योजना छ । ‘कसैलाई पनि मत नदिए हुन्न र ?’ उनले रातोपाटीलाई नै प्रतिप्रश्न गरिन् ।

मताधिकार र यसको महत्त्वबारे सम्झाउँदासमेत उनले राजनीति र नेता भन्ने शब्दप्रति आफ्नो कुनै झुकाव नरहेको प्रस्ट पारिन् । ‘वर्षौँसम्म जनताले भोट हालेर जिताएका होइनन् र ?’ उनले भनिन्, ‘जनताका लागि उनीहरूले राम्रो काम गरिदिएको भए यसरी भोट माग्दै आउनै पर्दैनथ्यो नि, हामी आफैँ खोजीखोजी भोट हाल्न जान्थ्यौँ होला ।’

बच्चालाई पढाउन र बिरामी हुँदा स्वास्थोपचारमात्र नभएर दैनिक उपभोग्य वस्तुको मूल्य तीव्र बढेका कारण सामान्य वर्गका नागरिकलाई दिनभरि मेहनत गरेर पनि पेट पाल्न गाह्रो भएको जानकी बताउँछिन् । ‘मेरो श्रीमान् यहीँको एउटा फ्याक्ट्रीमा काम गर्नुहुन्छ । म दिनभरि बजारमा डुलेर चिया, चटपटेको व्यापार गर्छु । तै पनि गुजारा चलाउन मुस्किल छ ।’

घोराहीकै ट्राफिक चोक नजिकै ठेलामा फलफूल व्यापार गर्दै आएकी चनु थापाको गुनासो पनि उस्तै छ । १२ वर्षअघि उनी आयस्रोतको खोजीमा रोल्पास्थित घर छाडेर घोराही झरेकी हुन् । फलफूल बेचेर दैनिक तीन–चार सय रुपैयाँ आम्दानी हुने उनको भनाइ छ ।

Chanu Thapa

‘आफ्नो गाउँ छाडेर हिँड्न कसलाई मन हुन्छ र ?’ चनुले भनिन्, ‘कमाउन भनेर छोरा विदेशतिर गएको छ । म यहाँ आएर व्यापार गरिरहेकी छु । सुरुमा मैले छोराका लागि भनेर दुःख गरेँ । अहिले छोराले उसकै छोराका लागि भनेर दुःख गर्न विदेश जानु परेको छ ।’

दैनिक गुजारा चलाउनकै लागि रोल्पाबाट आफू विस्थापित भएर घोराही आएको र छोरा विदेश जानु परेको उनले बताइन् । उनले भनिन्, ‘यी नेताले देशमै केही गरिखाने वातावरण बनाइदिएका भए मेरो छोरा किन विदेश जानु पर्थ्यो होला र ?’

आफूले विगतका चुनावमा पनि भोट नदिएको बताउने चनुले अहिले पनि भोट दिने जाँगर नचलेको प्रस्ट पारिन् ।

घोराही–१५ की अमृता विकलाई पनि भोट दिन चासो छैन । सडक पेटीमा फलफूलको व्यापार गर्ने उनी जनताको भोटले नेता बन्ने तर नेतालाई भोट दिने जनता जस्ताको तस्तै अवस्थामा रहने तर्क गर्छिन् ।

Amrita BK

‘हामीले भोट दिएपछि उनीहरू सांसद, मन्त्री बन्छन्,’ अमृताले भनिन्, ‘हामी त यही सडक पेटी खोज्दै भोलि आउनु पर्छ । एकछिन यसो फलफूल फिँजाएर व्यापार गर्न खोज्दा पनि कहिले नगरपालिकाका मान्छे आएर लखेट्छन् । यहाँ बस् भनेर कतै ठाउँ पनि दिँदैनन् । हामीले कसरी गुजारा चलाउने र ?’

जहाँ उम्मेदवारहरू विकासका विभिन्न योजना सञ्चालन गरेको, जनताको जीवनस्तर उकास्न काम गर्दै आएको दाबी गरिरहेका छन्, त्यहीँ ‘गरी खाने’ वर्गका मतदाता भने जनप्रतिनिधिका बोली र व्यवहारमा भिन्नता रहेको दाबी गर्दछन् । चुनावका समयमा आएर विभिन्न आश्वासन दिने तर जितेर गइसकेपछि कुनै काम नगर्ने परिपाटीकै कारण आफूहरूलाई मतदानप्रति चासो नरहेको उनीहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य

आचार्य रातोपाटीका वरिष्ठ उपसम्पादक हुन् ।

लेखकबाट थप