दोषीमाथि कारबाही नभए प्रहरी कार्यालयमै आत्मदाह गर्ने चेतावनी
सारांश
- पोखराका कलाकार महेश गोदारले जातीय विभेदको मुद्दामा कारबाही नभए आत्मदाह गर्ने चेतावनी दिएका छन्।
- फागुन ९ गते पोखरामा आयोजित विवाह भोजमा सन्तबहादुर विश्वकर्मामाथि जातीय विभेद भएको आरोप लागेको छ।
- गोदारले जातीय विभेदसम्बन्धी उजुरी दर्ता नगरेको र दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएका छन्।
पोखरा । समाजमा अझै पनि जातीय विभेदका अवशेष कायम रहेको भन्दै पोखराका कलाकार तथा राजनीतिकर्मी महेश गोदारले दोषीमाथि कारबाही नभए आफूले जिल्ला प्रहरी कार्यालयको गेटमै आत्मदाह गर्ने चेतावनीसहित भिडियो सार्वजनिक गरेका छन् ।
उनले जातीय विभेदसम्बन्धी उजुरी दर्ता गर्न प्रहरी प्रशासनले आलटाल गरेको र राजनीतिक तथा सामाजिक दबाबका कारण पीडितले न्याय पाउन कठिन भएको दाबी गरेका छन् ।
उजुरीअनुसार गएको फागुन ९ गते पोखरा महानगरपालिका–२६ स्थित नमस्ते पार्टी प्यालेस मा आयोजित काशीराम घिमिरेका छोराको विवाह भोजमा सहभागी सन्तबहादुर विश्वकर्मामाथि जातीय आधारमा अपमानजनक तथा छुवाछूतपूर्ण व्यवहार गरिएको आरोप छ।
जाहेरीमा उल्लेख भएअनुसार, खाना खान लाइनमा बस्न लाग्दा छिमेकी सावित्री बरालले “तपाईँ लाइनमा नबस्नुस्, तपाईंको लागि छुट्टै प्लेटको व्यवस्था गर्नू भनेर काशीराम सरले भन्नुभएको छ” भनी सार्वजनिक रूपमा रोक लगाएको र भान्सा नछुनू भन्ने अभिव्यक्ति दिएको पीडितको दाबी छ।
पीडित सन्तबहादुर विश्वकर्माले उक्त व्यवहारका कारण खाना नखाई फर्किनु परेको, रातभर सुत्न नसकेको र भोलिपल्ट काशीराम घिमिरेले घरमै आएर माफी मागे पनि आफूले कानुनअनुसार कारबाही हुनुपर्ने अडान लिएको बताइएको छ।
उजुरी दर्ता नभए आत्मदाह गर्ने चेतावनी
महेश गोदारले राजनीतिक तथा सामाजिक शक्तिको आडमा जाहेरी दर्ता हुन नदिने प्रयास भइरहेको आरोप लगाउँदै भनेका छन्–“यदि यो जातीय विभेदको मुद्दामा प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गर्यो वा दबाबमा दोषीलाई उन्मुक्ति दिन खोजियो भने म जिल्ला प्रहरी कार्यालय कास्की को गेटमै आत्मदाह गर्नेछु।”
उनले समाजमा व्याप्त छुवाछूत र भेदभावविरुद्ध आवश्यक परे आफ्नो जीवन नै दाउमा राखेर सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कानुनी कारबाही र क्षतिपूर्तिको माग
गोदारले जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ अनुसार दोषीलाई हदैसम्मको सजाय र पीडितलाई उचित क्षतिपूर्तिको माग गरेका छन्। नेपालको संविधानले समेत जातीय छुवाछूत र भेदभावलाई पूर्ण रूपमा निषेध गरेको स्मरण गराउँदै उनले प्रशासनले निष्पक्ष र प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।
साथै, घटनालाई दलित र गैर दलितबिचको लडाइँको रूपमा प्रस्तुत गर्ने केही सामाजिक प्रवृत्तिप्रति दुःख व्यक्त गर्दै गोदारले यसलाई सामाजिक अपराधका रूपमा हेर्नुपर्ने धारणा राखेका छन्।
महेश गोदार प्रगतिशील लोकतान्त्रिक पार्टी का केन्द्रीय समिति सदस्य तथा समानुपातिकतर्फका उम्मेदवारसमेत हुन्।
अब यो घटनामा प्रहरी प्रशासनले उजुरी दर्ता गरी निष्पक्ष अनुसन्धान अघि बढाउँछ कि बढाउँदैन भन्ने विषय पोखरामा चासोको विषय बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण