शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै

बुधबार, १३ फागुन २०८२, ०४ : ५२
बुधबार, १३ फागुन २०८२

सारांश

  • मुस्ताङको साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छ्याउन सुरु गरिएको छ।
  • सडक अवरुद्ध भएपछि सवारी सञ्चालनका लागि हिउँ पन्छ्याउन थालिएको हो।
  • साङ्ता गाउँमा ३९ मतदाता छन् र मतदानका लागि गाउँ पुग्नुपर्नेछ।

मुस्ताङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ ।

हिमपातका कारण गत कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध उक्त सडकमा सवारी सञ्चालनका लागि हिउँ पन्छ्याउन सुरु गरिएको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले उल्लेख गरे ।

मुस्ताङ सदरमुकाम जोमसोमदेखि उत्तर/पश्चिमतर्फ समुन्द्री सतहको चार हजार ५०० मिटरको उचाइमा अवस्थित साङ्ता गाउँ मुस्ताङको सबै भन्दापछि पत्ता लागेको गाउँ हो । यहाँको साङ्ता गाउँमा ३९ जना मतदाता छन् । यही गाउँमा अवस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रको दुरी जोमसोमबाट करिब ४० किलोमिटर टाढा छ । भौगोलिक रूपले विकट स्थानमा रहेको मुस्ताङको साङ्ता गाउँका नागरिक अहिले गाउँभन्दा बाहिर छन् ।

मुस्ताङ र डोल्पाको सिमाना नजिक रहेको साङ्ता गाउँका नागरिकहरू मङ्सिर अगावै जाडो छल्न गाउँ छोडेर मुस्ताङको जोमसोम आसपासका गाउँहरूमा आफन्तहरूको घरमा बसेका छन् । केही भने हिउँदयामको छेकोमा जाडो छल्न पोखरा–काठमाडौँ झरेका छन् । गाउँमा केही पशुचौपाया हेर्ने गोठालाहरू बाहेक पूरै गाउँका घरहरूमा ताल्चा मारिएको छ । लाग्छ स्थानीय सबै गाउँ छोडेर गएपछि साङ्ता गाउँ पूरै गुमनाम जस्तै छ ।

यहाँस्थित साङ्ता गाउँमा जम्मा १३ घरधुरी मात्रै छन् । हिउँदयामको जाडो छल्न पारिलो स्थानमा लागेका यहाँका नागरिकहरू चैत/वैशाख महिनामा मात्रै गाउँ फर्कन्छन् । तर, यसपालिका फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान गर्न २१ फागुन अगावै गाउँ पुग्नुपर्ने बाध्यता छ ।

केही दिन अघि यहाँस्थित साङ्ता गाउँको हिमाली मतदान केन्द्रको अवलोकन गर्न पुगेको जिल्ला सुरक्षा समितिको टोली साङ्ता गाउँ जाने सडकको आधा बाटोमा पुगेर फर्किएको थियो । मुस्ताङका अधिकांश मतदान केन्द्रहरूको जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन गरेपछि यहाँका साङ्ता गाउँस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्र हिमपातले सडक अवरुद्ध हुँदा अनुगमन हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप