बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी Ground Zero : ललितपुर–२

ललितपुर–२ मा जित निकाल्ने विश्वासमा छन् एमालेका महर्जन

बुधबार, १३ फागुन २०८२, ०७ : ०२
बुधबार, १३ फागुन २०८२

सारांश

  • ललितपुर निर्वाचन क्षेत्र २ मा एमाले उम्मेदवार प्रेम महर्जन दोस्रो पटक जित निकाल्ने तयारीमा घरदैलो अभियानमा व्यस्त छन्।
  • मतदाताहरूले सम्पदा संरक्षण, ढल व्यवस्थापन, र खानेपानीको समस्या समाधानको माग राखेका छन् भने महर्जनले प्रतिबद्धता जनाएका छन्।
  • महर्जनले आफ्नो अघिल्लो कार्यकालका काम र एमालेको जनआधारलाई जितको आधार बताएका छन्।

काठमाडौँ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ पनि चुनावी रौनक छ । उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । नेकपा एमालेका उम्मेदवार प्रेम महर्जन यसपटक दोस्रो पटक जित निकाल्ने तयारीमा लागिपरेका छन् ।

निर्वाचन आयोगले फागुन ४ गतेबाट प्रतिनिधिसभा उम्मेदवारका लागि प्रचारप्रसार खुला गरेसँगै उनको हरेक दैनिकी घरदैलोमै बित्ने गरेको छ ।

मंगलबार बिहान ७ बजे ललितपुर महानगरपालिका वडा नम्बर ९ च्यासलको लाछींमा एमालेका कार्यकर्ताहरू भेला भएका थिए । घरदैलोअघि उनीलगायत कार्यकर्ताहरू चियानास्तामा थिए । कोही झन्डा र ब्यानर बनाइरहेका थिए ।

एमालेका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हरिकृष्ण व्यञ्जनकार, समिक बडाल लगायत नेताहरू समेत त्यहाँ थिए । पर्खाइ थियो, उम्मेदवार महर्जनको । उनी आइपुग्छन् र खादामाला भिरेर सूर्यलाई सुभसाइत मानेर निस्किन्छन् घरदैलोमा ।

ब्यानर, प्रचार सामग्री, पार्टीका गीत घन्काउँदै टोली अघि बढ्छ । सम्पदाले घेरिएको ललितपुर महानगरपालिका–९ मा बिहानै पूजाका लागि मानिसहरू निस्किएका थिए । यो क्षेत्रमा नेवार समुदायको बस्ती छ । महर्जन हात जोड्दै नेवारी भाषामा भन्छन्, ‘सूर्य चिन्हय् स्वस्तिक छाप तया दिसँ, भोट फ्वनेगु ।’

मतदाताहरूले तत्काल महर्जनलाई उनीहरूकै भाषामा भन्छन्, ‘विजयया भिंतुना, भोट छितः हे बीगु ।’

prem krishna maharjan (5)

 

महर्जनसँगै हिँडेका स्थानीय नेताकार्यकर्ता हरेक घर–घर र मतदाताहरूलाई उम्मेदवारको प्रतिबद्धतापत्रसहित नमुनामतपत्र बाड्दै हिँड्छन् । एक अगुवा कार्यकर्ता मतदातासँग भन्छन्, ‘महर्जनसँगै प्रेम दाईलाई यसपालिको मत माग्न आएका छौं । भोट दिएर जिताउनुहोला । अघिल्लो पटक सांसद भएर बाँकी काम पूरा गर्र्न पनि सूर्यमा भोट दिनुपर्छ ।’

उनको बोलीसँगै लोली मिलाउँदै मतदातालाई महर्जन भन्छन्, ‘फेरि तपाईँहरूको अमूल्य मत माग्न आएँ, मत दिएर जिताउने अपेक्षा छ ।’

घरदैलो अभियान अघि बढ्छ । केही अगाडि महर्जनलाई खादा र अबिर लगाइदिन एउटा परिवारै तयार बसेको भेटियो । उनीहरूले महर्जनलाई जितको शुभकामना दिँदै च्यासल क्षेत्रको सम्पदा संरक्षण, ढल व्यवस्थापन र खानेपानीको समस्या समाधानमा पहल गर्न अनुरोध गर्छन् ।हर्जनले ढुक्क हुन भन्दै मत माग्छन् ।

मतदाताका प्रश्न सुन्दै जवाफ दिँदै घरदैलो अघि बढिरहन्छ । टोली चामुण्डा मन्दिर पुग्छन् । त्यहाँ पनि मतदाताहरूले उनलाई खादामाला लगाउँदै स्वागत गर्छन् । फेरि पनि जितको शुभकामना दिन्छन् ।

prem krishna maharjan (2)

त्यसैबिच एक मतदाताले ललितपुर–२ को सम्पदा संरक्षण गर्नेलाई मत दिने बताउँछन् । ‘ललितपुर च्यासल, पाटन क्षेत्र विश्व सम्पदा सूचीमा परेको क्षेत्र हो । यसमा धेरै सम्पदा र संस्कृति छन् । यसको संरक्षण गरी पर्यटन विकास गर्नुपर्छ । त्यो गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारलाई भोट दिने हो,’ उनी निर्धक्क भन्छन् ।

मतदाताको कुरा सुनेपछि महर्जनले भन्छन्, ‘मेरो पहिलो प्रतिबद्धता नै तपाईंले भनेको विषय हो । त्यो विषयमा काम गर्ने प्रतिबद्धता छ । मलाई सूर्य चिह्नमा मत दिएर जिताउनुहोला ।’

घरदैलो बढिरहेको थियो । एक वृद्धसँग महर्जनले आशीर्वाद माग्छन्, ती वृद्ध मतदाताले जितको शुभकामना दिन्छन् ।

उम्मेदवारलाई ‘हस्’ मात्रै भनेपछि ती वृद्धलाई हामीले सोध्यौँ, ‘उम्मेदवारसँग कुनै गुनासो छैन ?’ उनले भने, ‘केही छैन, अघिल्लो निर्वाचनमा उहाँलाई नै मत दिएको हो । मैले अहिलेसम्म सूर्यमा मात्रै भोट दिएको छु । फेरि पनि उहाँलाई दिने हो । हाम्रोमा विकास उहाँले गर्नुभएको छ ।’

prem krishna maharjan (4)

ललितपुर–२ मा हामीसँग बोलेका धेरै मतदाताले सूर्यमै मत हाल्ने बताए । धेरै मौन पनि देखिए । घरदैलोमा सहभागी एमाले नेता हरिकृष्ण व्यञ्जनकारले यो क्षेत्र एमालेले निरन्तर जितकाले अहिले पनि जित्ने दाबी गरे ।

उम्मेदवार महर्जनले पनि आफ्नो अघिल्लो कार्यकालका महत्त्वपूर्ण काम र एमालेको बलियो जनआधार नै आफ्नो जितको मुख्य आधार रहेको दाबी गर्छन् । महर्जनले घरदैलोका क्रममा अहिलेसम्म जनताबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया पाइरहेको बताए । घरदैलोका क्रममा मतदाताले मुख्यगरी स्वरोजगार, हस्तकलाको प्रवद्र्धन र ऐतिहासिक सम्पदाहरूको संरक्षणको माग राखेका बताए ।

‘बढ्दो बेरोजगारी र व्यापारी व्यवसायीका समस्यालाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ । यसका लागि हस्तकला प्रवद्र्धनलाई जोड दिनुपर्छ,’ उनले भने । महर्जनले ललितपुर महानगरपालिकाभित्र मेलम्चीको पानी आएपछि खानेपानीको धेरै हदसम्म समाधान भएको उल्लेख गर्दै अब महालक्ष्मी नगरपालिका क्षेत्रमा रहेको खानेपानीको समस्या समाधान गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको त्यसको प्रतिबद्धता जनाएको बताए ।

‘जितेपछि महालक्ष्मी नगरपालिकामा जसरी पनि खानेपानीको व्यवस्था गर्छौँ । सांसद भएपछि जसरी पनि कार्यान्वयन गर्ने जनतालाई प्रतिबद्धता जनाएको छु । अघिल्लो २ वर्ष ९ महिनाको छोटो कार्यकालमा आफूले गरेका कामबाट जनता सन्तुष्ट देखिएका छन्, ‘उनले भने, ‘संसद्मा मैले सधैँ यहाँका जनताका समस्याहरू उठाएको छु, जसले गर्दा जनताले आफ्नो प्रतिनिधि भएको साँचो महसुस गरेका छन् ।’

महर्जनले आफ्नो पहलमा ट्राफिक जामको ठुलो समस्या समाधान गरेको दाबी गरे । लोकाकीर्ति महाविहार, हिरण्यवर्ण महाविहार लगायतका सांस्कृतिक सम्पदा संरक्षणमा बजेट विनियोजन गरेको उनले हामीसँग बताए ।

prem krishna maharjan (3)

पूर्वमन्त्री र नयाँ अनुहारहरूसँगको प्रतिस्पर्धा रहे पनि आफूले जित्ने दाबी गरेका उनले यो क्षेत्र एमालेको ऐतिहासिक र बलियो प्रभाव भएको क्षेत्र रहेको दाबी गरे । ‘यहाँको बलियो जनआधार र मौन मतदाताहरूले अन्ततः सूर्य चिह्नमै मतदान गर्नेमा पूर्ण विश्वस्त छु,’ महर्जनले भने ।

२०७९ को निर्वाचनमा यहाँबाट महर्जन विजयी भएका थिए । उनले १९ हजार ८३४ मत पाएका थिए भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका थिए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाएका थिए । नेपाली कांग्रेससहितको सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका कृष्णलाल महर्जन यहाँ चौथो भएका थिए । २०७४ सालमा निर्वाचित उनले गत निर्वाचनमा भने मात्र ९ हजार ५३९ मत पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप