बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चुनावी Ground Zero : दाङ–२

विकास भएको ठान्दैनन् दाङ–२ का मतदाता

बुधबार, १३ फागुन २०८२, ०७ : ५५
बुधबार, १३ फागुन २०८२

सारांश

  • दाङ क्षेत्र नम्बर २ का मतदाताले निर्वाचित गरेका नेताहरूले विकास नगरेको गुनासो गरेका छन्।
  • मतदाताहरूले रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य जस्ता मुद्दाहरू सम्बोधन नभएको बताएका छन्।
  • स्थानीय बासिन्दाहरूले रोजगारीको अभाव र युवाहरू विदेश पलायन हुनुपरेकोमा चिन्ता व्यक्त गरेका छन्।

दाङ । दाङ क्षेत्र नम्बर २ का मतदाताले यसअघिका चुनावमा ठुला–ठुला राजनीतिक हस्तीलाई जिताएका छन् । यस क्षेत्रबाट निर्वाचित भएका जनप्रतिनिधि कोही मन्त्री–मुख्यमन्त्री भए ।

तत्कालीन नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा, रेखा शर्मा पालैपालो यस निर्वाचन क्षेत्रबाट निर्वाचित भए । पूर्वसभामुख महरा, पूर्वमन्त्री शर्मामात्र होइन, यसै निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश सभातर्फ निर्वाचित भएर एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री भए ।

नेकपा एमालेका महासचिवसमेत रहेका पोखरेल अहिले यसै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा उम्मेदवार बनेका छन् ।

प्रभावशाली नेताहरूलाई जिताएका मतदाता भने विकासको अनुभूति गर्न नपाएको गुनासो गर्छन् । घोराही उपमहानगर क्षेत्रभित्र सडक निर्माण लगायत अन्य पूर्वाधारका क्षेत्रमा काम नभएको होइन । यद्यपि, रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य लगायत आफ्नो दैनिक जीवनसँग जोडिएका मुद्दा सम्बोधन हुन नसकेको मतदाताको गुनासो छ ।   

बंगलाचुली गाउँपालिका–६ निवासी चेतबहादुर केसी विकास केलाई भन्ने भनेर प्रतिप्रश्न गर्छन् । उनले भने, ‘यस क्षेत्रबाट निर्वाचित भएर जानेले विकास त गरेँ भनेको सुन्छु । मैले विकास भएको चाल पाएको छैन । हामीले थाहा नपाउने गरी विकास गरिदिएका भए उनीहरू नै जानुन् ।’

जनताको जीवनस्तर माथि उठाउनका लागि मुख्यतया रोजगारी आवश्यक रहेको केसीको तर्क छ । ‘युवाहरू विदेश गए भन्छन् । दिनदिनै विदेश जानेको संख्या बढेकै छ,’ उनले भने, ‘गाउँमा हामीजस्ता बुढाबुढीमात्र छन् । युवाहरूलाई रोजगारी छैन । यहाँ बसेर के गर्ने ?’

Chet bahadur KC
चेतबहादुर केसी

आफ्नै गाउँ–ठाउँमा रोजगारी दिन नसके पनि क्षमता, सिप अनुसार देशभित्रै कतै युवालाई रोजगारी दिन सकेमा चाडपर्व, बिदाको समयमा गाउँघरमा उनीहरूको आउ–जाउ बढ्ने केसी बताउँछन् । उनले भने, ‘त्यसो हुँदा अहिले बनेका बाटोघाटोमा कुद्ने गाडीले पनि यात्री पाउँछन् । होटल तथा पसल खोलेकाहरूले ग्राहक पाउँछन् । अनि पो देश नै चलायमान जस्तो हुन्छ ।’

घोराही–१६ का खुसमान चौधरी पनि अपेक्षा अनुसार काम हुन नसकेको बताउँछन् । ‘भोट माग्न आउँदा यो गर्दिन्छु, ऊ गर्दिन्छु भन्दै आउँछन् तर जितेर गएपछि हाम्रो जीवनस्तर उकास्ने काम गरेको देखिँदैन,’ उनले भने, ‘अहिले घर–घरमा आएर नमस्कार गर्नेहरू चुनाव जितेर माथि पुगेपछि हामीले नमस्कार गर्दा पनि फर्काउँदैनन् ।’

खुसमानले पुराना दलप्रति त अब विश्वास नै नरहेको बताए । ‘अब परिवर्तन हुनुपर्छ,’ उनले भने ।

Khusman chaudhari
खुसमान चौधरी

‘कस्तो परिवर्तन ?’ प्रश्न गरिसक्न नभ्याउँदै उनले जबाफ दिए, ‘हाम्रा बाउ–बाजेले लंगौटी लगाउँथे, अब हामी पनि त्यही लगाएर हिँड्ने त ? त्यो होइन । हामीले समय सुहाउँदो लुगा लगाइरहेका छौँ । परिवर्तन भनेको पनि त्यस्तै हो । अब हामीलाई परिवर्तन चाहिएको छ ।’

घोराही–१७ का गोपीलाल चौधरी पुराना दलका नेताहरूले विकास गरेको भनेर भोट मागिरहेको बताउँछन् । यद्यपि उनी विकास भएको ठान्दैनन् । ‘खै के विकास भयो ?’ उनले भने, ‘जनताको जीवनस्तर सहज नहुँदासम्म के कुरालाई विकास भन्ने ?’

Gopilal chaudhari
गोपीलाल चौधरी

काम गरेर खान्छु भन्ने जनशक्तिलाई रोजगारीको व्यवस्था हुनुपर्ने उनले बताए । ‘हामीले हरेक चुनावमा भोट दिएकै हो नि,’ उनले भने, ‘हाम्रो भोट पाएर ठुला मान्छे हुन्छन् । हामी वर्षौंदेखि यस्तै गरिबीमा छौँ । हाम्रो अवस्थामा सुधार आएन ।’

घोराही–६ का दलबहादुर डाँगी देशमा रोजगारीको अवसर सिर्जना हुन नसकेको बताउँछन् । ‘यहीँ आफ्नो पाखुरा बजारेर खान्छु भन्नेहरूलाई सरकारले रोजगारी दिन सकेको छैन,’ उनले भने, ‘यहाँ काम गरेर टिक्ने अवस्था नभएकै कारण मेरो छोरा विदेशमा रोजगारीका लागि गएको छ ।’

dal bahadur dangi
दलबहादुर डाँगी

शिक्षा, स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा खासै काम हुन नसकेको उनले सुनाए । उपमहानगर क्षेत्रमा घर भएर पनि आफूहरूको टोलमा खानेपानीको धारा जडान हुन नसकेको उनको गुनासो छ ।

सोही वडाकी रजिता चौधरी बुढा पनि रोजगारी सिर्जना नभएसम्म विकास भयो भनेर मान्न नसकिने बताउँछिन् । ‘जनताको आय आर्जन बढाउन नसकेसम्म विकास भयो भनेर कसरी मान्ने ?’ उनले भनिन्, ‘विकास भइसकेको ठाउँका मान्छे सामान्य रोजगारीका लागि विदेश जानु पर्छ र ? हरेक घरबाट कोही न कोही रोजगारीका लागि विदेश गएका छन् ।’

rajita chaudhari
रजिता चौधरी बुढा

घोराही–१६ का नारायण रावत भने दाङमा भएका विकासको श्रेय कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्कालाई दिन्छन् । ‘यहाँ खुमबहादुर खड्काले जति विकास अरु कुनै नेताले गरेका छैनन्,’ उनले भने, ‘जसले जति दाबी गरे पनि हामीले देखेको र भोगेको कुरा त्यही नै हो ।’

Narayan rawat
नारायण रावत

कृष्णबहादुर महरा र रेखा शर्माको कार्यकालमा खासै विकासका काम नभएको रावतको दाबी छ । अहिले केही विकासे योजना सञ्चालनमा रहेको तर ती योजनाको सवालमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका दिपक गिरीले जस लिने होड गरिरहेकाले वास्तवमा कसका कारण ती काम भइरहेका छन् भन्ने बुझ्न नसकिएको उनले बताए ।

सुशासन, रोजगारीका अवसर सिर्जना नै अबका मुख्य एजेन्डा रहेको रावतले बताए । उनले भने, ‘यी एजेन्डा पनि पहिलादेखि उठ्दै आएको हो, तर खासै काम भएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य

आचार्य रातोपाटीका वरिष्ठ उपसम्पादक हुन् ।

लेखकबाट थप