‘दाङ विकासको पर्खाइमा छ, म यहाँको मुहार फेर्न तयार छु’
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार किरण किशोर घिमिरे चुनावी मैदानमा छन्। घिमिरे लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय रहँदै आएका छन्
उनी दाङको समग्र विकास र जनमुखी एजेन्डासहित चुनावी प्रचारप्रसारमा होमिएका छन्। यसै सन्दर्भमा घिमिरेसँग उनको चुनावी एजेन्डा, विकासका योजना र प्रतिस्पर्धीहरूसँगको प्रतिस्पर्धाका विषयमा सुदर्शन आचार्यले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ:
तपाईंले आफ्ना मतदाताहरूसामु के-कस्ता एजेन्डा लिएर जानुभएको छ?
मेरो मुख्य एजेन्डा भनेको नेपाली कांग्रेसको प्रतिज्ञापत्र नै हो। यसका साथै मेरो क्षेत्रगत आधारमा दाङको २ नम्बर क्षेत्र, जुन सुक्खाग्रस्त क्षेत्र हो, त्यहाँका लागि सिँचाइको व्यवस्था गर्नु मेरो प्राथमिकतामा छ। दाङको उपत्यकामा करिब ५६ हजार हेक्टर जमिन छ। सिँचाइलाई प्राथमिकता दिँदै दाङलाई एउटा सुन्दर सहर बनाउन म चाहन्छु। त्यस्तै खानेपानी, बाटो, शिक्षा, स्वास्थ्य जस्ता विषयहरू मेरो प्राथमिकतामा छन्।
अर्को कुरा, दाङको भूमिपुत्र भनेका थारु जाति हुन्। उनीहरूको अर्ग्यानिक संस्कृति छ, जसलाई उनीहरूले आजसम्म बचाइराखेका छन्। म पनि आठ पुस्तादेखि दाङमै बसिरहेको छु र मेरो पनि कृषि पेसासँग जोडिएको परिवार हो। त्यसकारण थारु जातिसँग मेरो सामीप्यता छ। उनीहरूलाई माथि उठाउने र उनीहरूको अर्ग्यानिक संस्कृतिलाई प्रवर्द्धन गर्ने मेरो पहिलो प्राथमिकता हो।
साथै, दाङमा पर्यटनका थुप्रै सम्भावनाहरू छन्। स्वर्गद्वारी यो क्षेत्रकै सबैभन्दा पवित्र तीर्थस्थल हो। यहाँ भारतको उत्तर प्रदेशबाट धेरै सङ्ख्यामा तीर्थयात्रीहरू आउने गर्नुहुन्छ। उहाँहरूलाई भालुवाङ हुँदै छोटो बाटोबाट स्वर्गद्वारी पुर्याउने मार्ग बनाउन सकिन्छ। त्यस्तै, रत्ननाथ, गोरखनाथ र पाटेश्वरीलाई जोडेर एउटा धार्मिक पर्यटकीय सर्किट बनाउन सकियो भने यसले भारतीय पर्यटकलाई आकर्षित गर्न सक्छ।
यसबाहेक, दाङलाई अमेरिकाको सिलिकन भ्याली जस्तै सूचना प्रविधि (आईटी) को हब बनाउन सकिन्छ। दाङ पनि एउटा उपत्यका हो र यहाँका नयाँ विद्यार्थीहरू आईटीमा आकर्षित भइरहेका छन्। विदेशमा रहेका नेपाली र दङ्गालीहरूसँग समन्वय गरेर यसलाई आईटी हब बनाउन सकिन्छ। यसका लागि काठमाडौँमै बस्नुपर्छ भन्ने छैन। दाङमै उपलब्ध स्रोत र साधनको प्रयोग गरेर विदेशी लगानी भित्र्याउन सकिन्छ।
तपाईंले यति धेरै कुरा गर्नुभयो। तर, यो जिल्लाबाट सङ्घीय मन्त्री र मुख्यमन्त्रीसम्म भइसकेका व्यक्तिहरू हुनुहुन्छ। अहिलेसम्म दाङमा के-के विकास भयो त?
विकास नै नभएको त होइन। विकास भएको छ। तर, विकास नभएको भन्ने भाष्य निर्माण गर्यौँ भने हामी आफैँ दलदलमा फस्छौँ। २०४६ सालमा यहाँ पिच बाटो थिएन, हामी गोरेटो र कच्ची बाटोमा हिँड्थ्यौँ। पछि बाटोको कनेक्टिभिटी बढ्यो र २०५४/५५ सालतिरबाट पिच बाटो सुरु भयो।
दाङमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने निर्णय सुशील कोइरालाको पालामा भएको हो। त्यस्तै, फोरलेन बाटोको कुरा पनि उहाँकै पालामा अगाडि बढेको हो। त्यसपछि स्थानीय ठेकेदार र उम्मेदवार को-को हुनुहुन्थ्यो, त्यो कुरा पछि देखिएको छ। तर समग्रमा हेर्ने हो भने, विकासका ठुला कामहरू कांग्रेसकै नेतृत्वमा भएका छन्।
यसको दुई वटा कारण छन्। पहिलो, राज्य नियन्त्रित अर्थतन्त्रको कुरा। २०४६ सालपछि कांग्रेसले राज्य नियन्त्रित अर्थतन्त्रबाट मुक्त गराएर उदार अर्थतन्त्रको नीति ल्यायो। जसले गर्दा निजी क्षेत्रलाई विकासमा जोडिन सजिलो भयो। निजी क्षेत्रलाई प्रोत्साहन गर्ने पार्टी नेपाली कांग्रेस नै हो। दोस्रो कुरा, हामीकहाँ स्रोतको सङ्कट छ। अल्पविकसित देशमा लगानीको प्रतिफल चाँडो आउने आयोजनाहरूमा खर्च गर्नुपर्छ। ठुला कुराहरू मात्र गरेर विकास हुँदैन।
यसका साथै, प्रशासकीय र प्राविधिक क्षमता पनि महत्त्वपूर्ण छ। हामीले नेतृत्व लिँदा कसरी काम गर्ने भन्ने कुरा कर्मचारीतन्त्रसँगको समन्वयमा भर पर्छ। मैले २०३६ सालदेखि राजनीति सुरु गरेको हुँ। म सधैँ जनताको साथमै छु। म स-साना विकासका कुराहरू जस्तै; सिँचाइ र बाटोघाटोमा बढी केन्द्रित छु। मेरा प्रतिस्पर्धीहरू ठुला-ठुला योजनाका कुरा गर्नुहुन्छ, तर ती कार्यान्वयन हुन सकेका छैनन्।
यो चुनावमा तपाईंले मुख्य चुनौती के देख्नुहुन्छ?
चुनावमा चुनौती भनेको मुख्य रूपमा दुवै पार्टीले मलाई प्रतिस्पर्धी मान्नुभएको छ। म भर्खरै गाउँबाट आएको हुँ र मैले जनताको उत्साह देखेको छु। म जहाँ जान्छु, जनताको उत्साह र समर्थन पाउँछु। विकासप्रेमी र सरल व्यक्तिलाई जनताले मन पराउँछन्। मैले धेरै देश देखेको र भोगेको छु। मलाई लाग्छ, जनतासँग भिज्ने कुरामा म अन्य उम्मेदवारभन्दा सहज छु।
अघिल्लो चुनावमा यहाँका जनताले जसलाई जिताउनुभयो, उहाँहरूले जनताको अपेक्षाअनुसार काम गर्न सक्नुभएन। त्यसैले अहिले ‘एन्टी इन्कम्बेन्सी’ को माहोल छ। अघिल्लो पटक अत्यधिक बहुमत ल्याएकाहरूले पनि काम गर्न नसकेको गुनासो छ। त्यही कारण जनताले यसपटक परिवर्तन खोजेका छन्।
म कुनै पदमा नभए पनि जनताको बिचमा सधैँ रहँदै आएको छु। मैले विकासमा किरण किशोर, दुःखमा किरण किशोर र कोखदेखि शोकसम्म ‘किरण किशोर’ हुने पर्छ भनेर काम गर्दै आएको छु।
तपाईंका प्रतिस्पर्धीहरू जो हुनुहुन्छ, जस्तै; पूर्व मुख्यमन्त्री, पार्टीको महासचिव, उहाँहरूलाई तपाईंले कसरी मूल्याङ्कन गर्नुहुन्छ?
उहाँहरू सबै मेरा प्रतिस्पर्धी हुनुहुन्छ। मैले कसैलाई कमजोर आँकेको छैन। उहाँहरू पनि ठुलो पार्टीका उम्मेदवार हुनुहुन्छ। तर, उहाँहरूले आफ्नो कार्यकालमा के डेलिभरी (Delivery) दिनुभयो त? जनताले त्यो सोधिरहेका छन्।
नयाँ दल र उम्मेदवारहरू पनि आउनुभएको छ। उहाँहरूमाथि पनि प्रश्नहरू छन्। हामीले ठुला कुरा गर्नेभन्दा पनि डेलिभरी दिन सक्ने नेतृत्व छनोट गर्नुपर्छ। अहिलेको समाजमा उत्तेजना र आवेगले मात्र काम गर्दैन। समाजलाई विभाजन गर्ने कुराले राष्ट्र निर्माण हुन सक्दैन।
२०३६ सालमा बहुदल ल्याउन कांग्रेसले भूमिका खेल्यो। सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउने काम पनि कांग्रेसकै नेतृत्वमा भयो। अहिले पनि समाजमा रहेका कुण्ठा र आवेगलाई व्यवस्थापन गर्न कांग्रेसको नेतृत्व आवश्यक छ। नेपाली कांग्रेसभित्र अहिले रूपान्तरण र परिवर्तनको लहर आएको छ। आम जनता र बुद्धिजीवीले पनि यसलाई विश्वास गरेका छन्। त्यसैले, यस चुनावमा मैले राम्रो समर्थन पाउनेमा म विश्वस्त छु।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण