बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चुनावी चर्चा

रास्वपाका १६ महिला उम्मेदवार चुनावी मैदानमा, सोविताको मात्रै किन बढी चर्चा ?

बुधबार, १३ फागुन २०८२, १६ : २२
बुधबार, १३ फागुन २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट १६ जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्, तर सोविता गौतमको चर्चा बढी छ।
  • चितवन-३ मा सोविता गौतम र रेनु दाहालबीचको प्रतिस्पर्धाले चर्चा पाएको छ, जसका कारण सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरू भइरहेका छन्।
  • विश्लेषकका अनुसार, सोविता र रेनुको प्रतिस्पर्धा नेतृत्वको टकराब र पुरुषप्रधान समाजका कारण महिला उम्मेदवार ओझेलमा परेका हुन्।

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट १६ जना महिला उम्मेदवार मैदानमा उत्रिएका छन् । तर, चितवन–३ बाट उम्मेदवार बनेकी सोविता गौतम यस्तो पात्र बनेकी छिन्, जसलाई हरेक दिन चर्चाको विषय बनाइएको छ । 

अहिले उनको नाम बढी चर्चामा आउनुको खास कारण भरतपुर महानगरपालिकाको सफल मेयरको परिचय बनाएकी रेनु दाहालसँग चितवन-३ मा प्रतिस्पर्धा रहनु दखिन्छ । रेनु पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी समेत हुन् । विगतमा प्रचण्डको छोरीको ट्याग लागेता पनि उनले अहिले आफ्नो छुट्टै पहिचान बनाएकी छिन् । 

उनी भरतपुर महानगरपालिकामा ९ वर्ष प्रमुख पदमा बसेर भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र पूर्वाधार विकासमा राम्रो काम गरेर नगरवासीको मन जित्न सफल भएकी उम्मेदवार हुन् । प्रचण्ड राष्ट्रिय राजनीतिका प्रभावशाली नेता तथा पटक–पटक प्रधानमन्त्री भएका व्यक्ति भएका हुनाले ‘ब्याक सपोर्ट’ भएपनि आधुनिक भरतपुरको प्रमुख योजनाकार रेनु भएकोमा दुई मत देखिँदैन । सोविता र रेनुको उम्मेदवारीलाई लिएर आम नागरिकले नकारात्मक धारणा बनाएको पनि पाइँदैन । तर चुनावको मिति नजिकिँदै जाँदा सौहार्दपूर्ण राजनीति प्रतिस्पर्धामा दरार ल्याउने खालका अभिव्यक्ति, क्रियाकलाप सामाजिक सञ्जालमा प्रशस्त भेटिएका छन् ।

  • सोविता र रेनुको प्रतिस्पर्धा

चुनाव आफ्नो पक्षमा बनाउने उद्देश्यका साथ खासगरी रास्वपा समर्थकहरूले सामाजिक सञ्जालमार्फत रेनुलाई लक्षित गरेर अनपढ, कानुन नबुझेकी, प्रतिनिधि सभा सदस्य बन्न नसक्ने भन्नेजस्ता निम्तस्तरका अभिव्यक्ति दिइरहेका छन् । प्रतिनिधिसभा कानुन बनाउने थलो भएकाले सोविता  योग्य व्यक्ति भएको उनीहरुको जिकिर देखिन्छ । सोविता आफैले पनि जनप्रतिनिधिको काम विकास निर्माण गर्ने नभई कानुन बनाउने भएको अभिव्यक्ति दिँदै आएकी छिन् । चुनावी प्रचारको क्रममा मतदाताको घरदैलो कार्यक्रममा व्यस्त रहेकी उनले भनेकी छिन्, ‘प्रतिनिसभा र स्थानीय पालिकाले गर्ने काम फरक–फरक छन् । प्रतिनिधिसभा सदस्यको काम विकास निर्माण गर्ने होइन । कानुन बनाउने हो । राम्रो कानुन बनाएपछि विकास आफै हुन्छ । यो कुरा बुझाउन जरुरी छ ।’

उनी २०७९ सालको निर्वाचनमा काठमाडौँ–२ बाट नेकपा एमालेका बलिया प्रतिस्पर्धी मणिराम फुयाल, पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई हराएर चर्चामा आएकी थिइन् । सोविता प्रखर वक्ताका रूपमा परिचित छिन् । उनले त्रिभुवन विश्वविद्यालयको नेसनल ल कलेजबाट कानुन विषयमा स्नातक गरेकी छन् । 

उनले अधिवक्ताका रूपमा र पत्रकारिता क्षेत्रमा समेत काम गरिसकेकी छन् । भर्खर ३० वर्ष पार गरेकी सोविता दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी हुन् । युवा पुस्तामा उनी सम्भावना बोकेकी महिला हुन् । तर यसपटक साविक क्षेत्रबाट चुनाव नलडी चितवन–३ मा गएकोमा भने उनी आलोचित छिन् । तर उनले आफ्नो घर यसै क्षेत्रमा भएकाले उम्मेदवारी दिएको जिकिर गर्दै आएकी छिन् । 

गत हप्ता सविताको पक्षमा माहौल बनाउन चितवन गएका सभापति रवि लामिछानेले पनि यो क्षेत्रमा सोवितालाई ल्याउनुको खास कारण भएको बताएका थिए । त्यस्तो खास कारण भने रविले  खुलाएनन् ।  सोविता चितवन–३ मा जानुको कारण जेसुकै होस् उनले आफूलाई अब्बल साबित गर्न प्रतिस्पर्धीमाथि जुन खालको अभिव्यक्ति दिएकी छिन्, त्यो गलत भएको विश्लेषक इन्द्र अधिकारी बताउँछिन् ।

‘एउटाले जिते राष्ट्रले जित्ने, अर्कोले जिते महानगरले मात्र जित्ने भन्ने भाष्य गलत र नियोजित छ । रेनु कामले प्रमाणित गरेको व्यक्ति हुन् । त्यसो भन्दैमा सोविता कमजोर छिन् भन्न खोजेको होइन । उनी आफ्नो क्षेत्रमा अब्बल छिन् । रेनु कार्यकारी भूमिकामा ९ वर्ष काम गरेर खारिएकी महिला हुन्’, उनी भन्छिन् ।

चितवन–३ को बढी चर्चा हुनुमा नेतृत्वको टकराब भएको अधिकारीको बुझाइ छ । दुवै जना पार्टी संस्थापन पक्षका बलिया व्यक्तित्व भएकाले पनि उनीहरूले जित–हारलाई प्रतिष्ठाको विषय बनाएको हुन सक्ने उनको विश्लेषण छ । ‘एउटा व्यक्तित्वको टकराब हो ।  अर्को दुवै जना संस्थापन पक्षका हुन् । सोविता रविको हरेक राम्रा/नराम्रा पक्षको समर्थन गर्दै आएकी छिन् । रेनु प्रचण्डको छोरी भएको र भावी नेतृत्वका लागि ग्रुमिङ गरिरहेको भन्ने पनि सुनिन्छ’, अधिकारी भन्छिन्, ‘रेनु हार्दा प्रचण्डलाई धक्का लाग्ने देखिन्छ । सोविता पनि भावी नेतृत्वका लागि सक्षम व्यक्ति हुन् । उनी हार्दा रविलाई धक्का लाग्ने देखिन्छ । यी सबै हिसाबले नेतृत्वको टकराबको भएको बुझेको छु । तर आफूलाई अब्बल देखाउने अर्कोलाई नीच देखाउने काम जसरी भइरहेको छ, त्यो एकदम गलत छ ।’

चुनावी प्रतिस्पर्धाको क्रममा आ–आफ्ना पार्टीको एजेन्डा, विचार, सिद्धान्तबारे आम मतदातालाई बुझाएर मन जित्नुपर्नेमा प्रतिस्पर्धीलाई होच्याउने, अवमूल्यन गर्ने जस्ता अराजनीतिक संस्कार पछिल्लो समय बढ्दै गएकोमा उनी चिन्ता व्यक्त गर्छिन् ।

‘रवि भनेकै रास्वपा, रास्वपा भनेकै रवि भन्ने छ । सोविताले पछिल्लो समय रविको हरेक गलत कामको बचाउ गर्दैन आइन् । रास्वपाभित्र रवि पक्षबाट खुलेपछि पार्टी नै उम्मेदवारको पक्षमा लाग्छन् । पछिल्लो समय उनको पक्षमा जसरी बढाइ चढाइ गरिएको छ, त्यो गलत छ’, उनी भन्छिन् ।

  • अन्य महिला उम्मेदवारको खासै छैन चर्चा

रास्वपाकै महिला उम्मेदवारहरूको चर्चा गर्दा सोविताभन्दा पनि अब्बल धेरै छन् । झापा–२ बाट उम्मेदवार बनेकी इन्दिरा राना मगर विश्वले नै चिनिएकी महिला हुन् । विघटित प्रतिनिधिसभामा उपसभामुख रहेकी उनी निवर्तमान सभामुख देवराज घिमिरेसँग प्रतिस्पर्धा गरिरहेकी छिन् ।

collage

राजनीतिमा आउनुअघि राना मगर गैरसरकारी संस्था बन्दी सहायता नेपालकी अध्यक्षका रूपमा परिचित थिइन् । तीन दशकदेखि जेल सजाय भोगिरहेका महिलाहरूका बाल बालिकालाई शिक्षा, स्वास्थ्य र अधिकार प्राप्तिका लागि सक्रिय भूमिका खेलेकी थिइन् । सामाजिक सेवाको कदर स्वरूप विश्व प्रसिद्ध ‘वर्ल्ड चिल्ड्रेन्स पुरस्कार’ प्राप्त गरेकी थिइन् ।

काठमाडौँ–१ बाट उम्मेदवार रहेकी रञ्जु दर्शना चिरपरिचित अनुहार हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवार रहेकी उनले परम्परागत दलका प्रभावशाली उम्मेदवारलाई धक्का दिनेगरी मत प्राप्त गरेकी थिइन् । दर्शना नेपालमा वैकल्पिक राजनीतिको सूत्रधार मानिने विवेकशील नेपालीबाट राजनीतिमा आएकी महिला हुन् । निर्वाचनअघि रास्वपा प्रवेश गरेकी थिइन् । तर स्थानीय तहको निर्वाचनमा दर्शनाको जति चर्चा चुलिएको थियो अहिले ओझेलमा परेकी छिन् । गर्भवती भएका कारण रास्वपाले उनलाई समानुपातिक बन्दसूचीमा राखेको थियो । प्रारम्भिक निर्वाचनमा अब्बल मत ल्याएकी थिइन् । तर पार्टीभित्र विवाद भएपछि बन्दसूचीबाट नाम फिर्ता लिएर दर्शनाले प्रत्यक्षबाट उठिन् ।  मंगलबार उनले बच्चा जन्माएकी  थिइन् । अहिले उनको अनुपस्थितिमै नेता कार्यकर्ताले घरदैलो सञ्चालन गरिरहेका छन् । 

यी बाहेक अघिल्लो संसदमा प्रभावकारी भूमिका निर्वाह गरेकी डा. तोसिमा कार्की, निशा डाँगी, विनीता कठायत सोविताको तुलनामा ओझेलमा परेका छन् । २०७९ सालको निर्वाचनमा ललितपुर–३ बाट विजयी भएकी कार्की अहिले पनि सोही क्षेत्रबाट उम्मेदवारी दिएकी छिन् । अघिल्लो पटक एमालेका अमृत खड्का, पूर्वमन्त्री तथा माओवादी केन्द्रका पम्फा भुसाललाई पछि पारेर विजयी भएकी थिइन् । 

यसैगरी रास्वपाबाट उम्मेदवार बनेका हुम्ला–१ की टासी ल्हाजोम शेर्पा, कैलाली–१ की कोमल ज्ञवाली, कास्की–३ की बिना गुरुङ, महोत्तरी–४ की गौरी कुमारी यादव, मोरङ–५ की आशा झा, मोरङ–६ की रुविना आचार्य, सप्तरी–१ की पुष्पा कुमारी चौधरी, सर्लाही–१ की नितिमा भण्डारी कार्की र सुनसरी–१ की गोमा तामाङ पनि उम्मेदवार छन् । तर यी उम्मेदवारहरूले रास्वपा वृत्त, सामाजिक सञ्जाल र सञ्चार माध्यममा खासै चर्चा भएको देखिँदैन ।

  • आशिकाको सवाल

सामाजिक अभियन्ता तथा कलाकार आशिका तामाङ धादिङ–१ मा रास्वपाबाट उम्मेदवार बनेपछि धेरैको उनीतर्फ ध्यान गएको छ । ३४ वर्षसम्म कम्युनिस्टहरूले एकछत्र जितेको यो क्षेत्रमा उनले चिरपरिचित तिनै पुराना अनुहारसँग प्रतिस्पर्धा गरेकी छिन् । धादिङ–१ मा पूर्वमन्त्री तथा नेकपाका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे उठेका छन् । पाण्डेले २०४८, २०५१ र २०५६ को निर्वाचन जितेका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीका शालिकराम जम्मकट्टेल विजयी भएका थिए । २०७० सालमा फेरि पाण्डेले नै बाजी मारे । २०७४ मा वाम गठबन्धन भएका कारण पाण्डे र जम्मकट्टेल दुवै प्रदेश सभामा उम्मेदवारी दिए । एमालेबाट भूमि त्रिपाठीले जिते । २०७९ सालमा एकीकृत समाजवादीबाट पाण्डेले नै चुनाव जिते । यो पटक एमालेबाट त्रिपाठी नै चुनावी मैदानमा उत्रिएका छन् भने कांग्रेसले कृष्ण रिजालाई उम्मेदवार बनाएको छ । 

आक्रामक अभिव्यक्ति तथा विवादित गतिविधिका कारण चर्चामा आइरहने आशिका यसपालि कम्युनिस्टको गढ भत्काउने दाउमा छिन् । राजनीतिमा आउनुअघि सामाजिक उनले सञ्जाल फेसबुकबाट समर्थनहरूको विचार बुझेकी थिइन् । सुरुमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने विचार गरेकी तामाङले अन्ततः रास्वपा नै रोजिन् । ‘ग्रीन एण्ड क्लिन आशिका फाउन्डेसन’को अध्यक्ष रहेर सामाजिक सेवामा सक्रिय रहेकी उनले जेनजी आन्दोलनका क्रममा घाइतेहरूको उपचार, कोभिड संक्रमणका निम्न वर्गका सेवामा सक्रिय भूमिका खेलेकी थिइन् । खासगरी उनी भ्रष्टाचार, बेथितिको विषयमा लगातार आवाज उठाउँदै आएकी छिन् । 

केही अपवाद बाहेक चितवन–३ को मात्र चर्चा हुनुमा दुई बलिया प्रतिस्पर्धी महिला उम्मेदवार हुनु रहेको विश्लेषक इन्द्रा अधिकारी बताउँछिन् । अर्को पुरुषप्रधान समाज भएकाले पनि महिला उम्मेदवार ओझेलमा पर्ने गरेको उनको विष्लेषण छ ।

‘रास्वपाको कुरा गर्दा सबै उम्मेदवार अब्बल छन् । तर सविताको मात्र चर्चा हुनुमा अर्का बलिया उम्मेदवार महिला नै छिन् । महिला–महिलाबिच कडा प्रतिस्पर्धा हुने देखिएकाले सोविताको बढि चर्चा भयो कि जस्तो लाग्छ’, उनले भनिन्, ‘अन्य महिला उम्मेदवार पुरुषसँग प्रतिस्पर्धा गरेका छन् । हाम्रो समाजमा अझै पनि महिलाले राजनीति गर्न सक्दैन भन्ने सोच गहिरोसँग गढेको छ । त्यसैले पुरुषसँग प्रतिस्पर्धा नै गर्न सक्दैन भन्ने मनोविज्ञान नहटेसम्म यस्ता समस्या कायमै रहन्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप